‘टुँडिखेल मार्च’ मा कसले के भने ?

तस्बिर : अंगद ढकाल

काठमाडौँ — बृहत् नागरिक आन्दोलनले प्रतिनिधिसभा विघटनको विरोधमा श्रृंखलाबद्ध विरोधका विभिन्न कार्यक्रम गर्दै आएकोमा शुक्रबार टुँडिखेल मार्चको आयोजना गरेको छ । कार्यक्रममा युवा अधिकारकर्मी जेबी विश्वकर्माले ‘बृहत् नागरिक आन्दोलन घोषणापत्र २०७७’ वाचन गरेका थिए ।

‘टुँडिखेल मार्च’ मा कसले के भने ?

‘टुँडिखेल जनताको हो’ , ‘लोकतन्त्र जिन्दावाद’ लगायतका नारासहित टुँडिखेल मार्च रत्नपार्क हुँदै भद्रकाली र सहिदगेट भएर महाँकाल मन्दिर परिसरमा कोणसभामा परिणत भएको थियो । कवि सपना सञ्जीवनी, राजु स्याङ्तान, कलाकार संगीता उराँवले कविता वाचन गरेका थिए ।

आन्दोलनका अभियन्तामध्येका लेखक खगेन्द्र संग्रौलाले यो आन्दोलनमा जति नागरिक सहभागी देखिए, त्यो भन्दा बढी प्रहरीहरुले सहभागिता देखिएको भन्दै आन्दोलन सफल भएको जिकिर गरे । उनले भने, ‘जब तानाशाही डराउँछ आफूसँग भएका सबै शक्तिको प्रयोग गर्दछ । टुँडिखेल नागरिकहरुको हो । नेपालीहरुको हो । टुँडिखेलमा जंगीअड्डा पन्छिनुपर्छ । हामीलाई आज टुँडिखेलमा पस्न दिइएन । उता कुकुरहरु स्वच्छन्द रुपमा विचरण गरिरहेका छन् यता नागरिकहरुलाई भने यो राज्यले कुकुरको जति पनि इज्जत दिएन । टुँडिखेल नागरिकको हो भनेर उद्घोष गरेका छौं । यो एक दिन हाम्रो हुनेछ । आज टुँडिखेल ढोका खोलिएन । सधैं बन्द भयो भने ढोका फोडिनेछ ।’

लेखक तथा अभियन्ता रीता साह भन्छिन्, ‘टुँडिखेल शासकहरुले कब्जा गरेका छन् । यो हाम्रो हो । तर हामीलाई छेकबार लगाइएको छ ।’


उनले अझै पनि मधेसी समुदायलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको दु:खेसो पोखिन् । ‘हामीमाथि लादिएको पितृसत्तात्मक लंका भत्काउनेछौं । हामी चुप लाग्नेछैनौं ।’

आन्दोलनका अगुवा पत्रकार नारायण वाग्लेले ७० वर्षपछि सही साइतमा सही ठाउँमा आफ्नो हक जताउन आएकालाई बन्देज लगाएर नेपाली लोकतन्त्रको स्तर आज उदांगो भएको बताए । उनले भने, ‘हामी संस्कृतिमा धनी भनिएको छ डोजर चलाएको छ, सम्पदामा धनी भनिएको छ पोखरीमा सिमेन्ट हालेको छ, जात्रामा धनी भनिएको छ गुठी मास्ने कानुन ल्याएको छ । खरिबोटलाई साक्षी राखेर प्रजातन्त्र घोषणा भएको आज ठीक ७० वर्ष भयो खरीबोट मासियो प्रजातन्त्र भासियो । अब ‘नो सलामी नो गुलामी’ ।’

आन्दोलनमा ऐक्यबद्धता जनाउन आएकी लेखक सरिता तिवारीले आन्दोलनमा उपस्थित सुरक्षाकर्मीहरुसँग टाउकोमा हेलमेट, हातमा लाठी र बन्दुक भए पनि नागरिकसँग आवाज र मुठ्ठी भएको बताउँदै यही आवाजले ओलीतन्त्रलाई समाप्त गरिछाड्ने बताइन् ।

खोकना बचाउ अभियानका अभियन्ता नेपाल डंगोलले सिंगो राष्ट्रसँग असन्तुष्टि रहेको बताए । 'आदिवासी नेवा भएर बाँच्दा खेरि हामीलाई चाहिँ कानुन खै त ? फास्ट ट्रयाकका नाममा खोकनाको जग्गा लुटिएको छ । हाम्रो जग्गा सहमति बिना अधिग्रहण गर्ने? हामी कुन दर्जाका नागरिक हौं ?', उनले प्रश्न गरे ।

नेपाल तामाङ धेदुङका अध्यक्ष मोहन गोलेले पुर्खाले बगाएको रगत पसिनाको साँवा ब्याज भुक्तानी गर्ने आन्दोलनको अब सुरुआत हुने अभिव्यक्ति दिए । यो खालको विभेद र अधिकार खोस्ने रवैया राज्य अपनाउँछ भने जनतासँग खेल्नु भनेको आगोसँग खेल्नु हो । राजाको जस्तो हविगत नहोस् चेतावनी दिन चाहन्छु,’ उनले आक्रोशित हुँदै भने ।

प्रकाशित : फाल्गुन ७, २०७७ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?