२४ घण्टामा ९७ जना कोरोना संक्रमित, थप ३ को मृत्यु- समाचार - कान्तिपुर समाचार

२४ घण्टामा ९७ जना कोरोना संक्रमित, थप ३ को मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ९७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ९७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार २६३ पुगेको छ । नेपालमा १ हजार ५८३ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप १ सय १४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ६९ हजार ६ सय १९ रहेको छ ।

२४ घण्टामा मृत्यु हुनेको संख्या ३ रहेको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६१ रहेको छ ।

अहिलेसम्म देशभर २१ लाख ३४ हजार २ सय ६१ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ६८ जना रहेका छन् ।

प्रकाशित : फाल्गुन ७, २०७७ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्

शिक्षक माग गर्दै विद्यालयमा तालाबन्दी

राजकुमार कार्की

सिन्धुली — लामो समयदेखि अंग्रेजी विषय पढाइ नभएको भन्दै सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ नयाँखर्कस्थित माध्यमिक विद्यालय नयाँखर्कका ९ र १० कक्षाका विद्यार्थीले शुक्रबारबाट विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।

व्यवस्थापन समिति तथा विद्यालय प्रशासन समक्ष तत्काल अंग्रेजी शिक्षकको व्यवस्था गर्न माग राख्दै विद्यालयको मुलगेटमा तालाबन्दी गरेको स्थानीय विवश थापाले जानकारी दिए ।

मुलगेटमा तालाबन्दी भएपछि शुक्रबार सबै कक्षाको पढाई प्रभावित भएको छ । अंग्रेजी विषयको पढाईनै नभई परीक्षा सञ्चालन हुने गरेको विद्यार्थीहरुको भनाई छ । अंग्रेजी शिक्षक कृष्ण थापा लामो समयदेखि विद्यालयमा अनुपस्थित रहेको तथा विद्यालयमा हुँदा समेत नपढाएको विद्यार्थीको आरोप छ ।

विद्यालयका प्रधानाध्यापक मनोज शाहका अनुसार विषयगत शिक्षकलाई उपस्थित गराइ विद्यार्थीहरुको समस्या समाधान गरि पढाइ सुरु गर्न पहल भइरहेको छ ।

प्रकाशित : फाल्गुन ७, २०७७ १९:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×