१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

संविधान संरक्षण गर्ने राष्ट्रपतिकै कारण मुलुकमा ग्रहण लाग्यो : पूर्वराष्ट्रपति डा. यादव

सन्तोष सिंह

धनुषा — पूर्वराष्ट्रपति डा.रामवरण यादवले संविधान रक्षा गर्ने राष्ट्रपतिकै कारण मुलुकमा ग्रहण लागेको बताएका छन् ।

संविधान संरक्षण गर्ने राष्ट्रपतिकै कारण मुलुकमा ग्रहण लाग्यो : पूर्वराष्ट्रपति डा. यादव

'बहुमत प्राप्त पार्टीका प्रधानमन्त्रीलाई पार्टीको विवाद समाधान गर्न सल्लाह दिनु पर्ने राष्ट्रपतिले हतार गरी संसद् विघटन गरे', डा.यादवले भने,‘संसद् विघटन गर्नुअघि राष्ट्रपतिले विपक्षी दल र विज्ञसँग सल्लाह लिनुपर्थ्यो ।’ संविधान रक्षा गर्ने राष्ट्रपतिले ‘कुलिङ पिरियड’ लिएर अगाडि बढ्नु पर्ने समयमा प्रधानमन्त्रीको असंवैधानिक कदममा हस्ताक्षर गरेको यादवको भनाइ थियो ।

जनकपुरमा शुक्रबार ‘समाजवाद र बीपी कोइराला’ र ‘बीपी विचारसंग्रह’को लोकार्पण गर्दै पूर्वराष्ट्रपति यादवले मुलुकमा हुलमुलको अवस्थाले लोकतन्त्रमाथि ग्रहण लागेको बताए । डा.यादवले प्रधानमन्त्री केपी शर्मा ओली सत्ताको उन्मादमा संविधानको धारा नै उल्लेख नगरी संसद् विघटन, निर्वाचनको घोषणा गरी संवैधानिक निकाय र प्रशासन कब्जामा लिएको आरोप लगाए । प्रधानमन्त्रीको गल्तीमा राष्ट्रपति कार्यालयले साथ दिँदा संविधान र संघीयता खतरामा परेको छ', उनले भने ।

विपक्षी र विज्ञसँग सल्लाह लिएर संविधानको उपलब्धिको संरक्षण गर्नु पर्ने राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको गल्तीमा साथ दिएको यादवले आरोप लगाए । मुलुक र लोकतन्त्रमाथि आएको संकटले राति निन्द्रा लाग्न छोडेको उल्लेख गर्दै डा. यादवले मुलुकलाई आईसीयूबाट जेनरल वार्डमा सहकार्य र समन्वय गर्नुपर्ने बताए ।

पुस्तक लोकार्पण कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्राप्त उपलब्धिलाई समाप्त गरी चुनावको मिति तोकेर लोकतन्त्रको खिल्ली उडाएको आरोप लगाए ।

प्रकाशित : फाल्गुन ७, २०७७ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?