१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ओली सरकारले दमनकारी क्रियाकलाप गरिरहेको छ : प्रवक्ता श्रेष्ठ

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओली सरकारले ज्यादतिपूर्ण ढंगले दमनकारी क्रियाकलाप गरिरहेको बताएका छन् ।

ओली सरकारले दमनकारी क्रियाकलाप गरिरहेको छ : प्रवक्ता श्रेष्ठ

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित केन्द्रीय कमिटीको अनौपचारिक बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले प्रतिनिधिसभाको विघटनपछि कामचलाउ बनेको ओली सरकारले कानुन विपरीत ज्यादतिपूर्ण ढंगले दमनकारी क्रियाकलाप गरिरहेको बताएका हुन् । यस्तो कदम केही समयको लागि निर्लज्ज दमनकारी अभिव्यक्ति मात्रै हुने पनि प्रवक्ता श्रेष्ठले बताए । उनले भने, ‘प्रधानमन्त्री र सरकारले आफैले प्रतिनिधिसभा विघटन गरीसकेपछि स्वतः कामचलाउ सरकारमा परिणत भएको छ । त्यसको विपरीत गैरकानुनी ढंगले ज्यादतिपूर्ण, बलमिच्याइँपूर्ण, दमनकारी क्रियाकलाप गरिराखेको छ । यो केही समयको एउटा निर्लज्ज दमनकारी अभिव्यक्ति मात्रै हो, आचरण मात्रै हो ।’

प्रवक्ता श्रेष्ठले समाजवाद उन्मुख समावेशी लोकतन्त्र र त्यसलाई संस्थागत गरेको संविधानको रक्षा गर्न आफूहरु प्रतिबद्ध रहेको र कुनै पनि हालतमा रक्षा गरी छाड्ने पनि बताए । उनले भने, ‘हामी संविधान र लोकतन्त्रको रक्षा गर्दै यसप्रकारको दमनकारी क्रियाकलापलाई पूरै बन्द गर्दै र नेपालमा फेरी सामाजिक, आर्थिक रुपमान्तरणको एउटा प्रक्रिया अगाडि बढाउन दृढ छौं ।’

निर्वाचन आयोगले पार्टीको आधिकारिता दिन ढिलाई गरेको प्रति आफूहरु सन्तुष्ट नरहेको पनि प्रवक्ता श्रेष्ठले बताए । तरपनि ढिलोचाँडो संविधान र कानुन अनुसार फैसला गर्ने विश्वास आफूहरुले गरेको पनि बताए । उनले भने, ‘निर्वाचन आयोगले ढिलाई गरेको कुराप्रति हामी सन्तुष्ट छैनौं । तरपनि संवैधानिक अंगहरु सबैले संविधान र कानून अनुसार ढिलोचाँडो सही फैसाला गर्नेछन भन्ने अपेक्षा गर्दछौं ।’

शुक्रबार बसेको केन्द्रीय कमिटीको अनौपचारिक बैठकले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध पार्टीले गरेका आन्दोलनको समीक्षा समेत गरेको छ ।

प्रकाशित : फाल्गुन ७, २०७७ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?