कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

निर्वाचनको आन्तरिक तयारी पूरा : प्रमुख आयुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वैशाख १७ र २७ गते हुने निर्वाचनको लागि आन्तरिक तयारी पूरा भएको बताएका छन् । 

निर्वाचनको आन्तरिक तयारी पूरा : प्रमुख आयुक्त

शुक्रबार पाँचौ निर्वाचन दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आउँदो निर्वाचनको लागि आन्तरिक तयारी पूरा गरेको बताएका हुन् ।

फागुन २१ गते मतदाता नामावली प्रकाशन गरिने तथा देशभरि मतदान स्थल र मतदान केन्द्रहरुको निधो गरिने उनको भनाइ छ । निर्वाचन सामाग्रीहरुको आन्तरिक बन्दोबस्त भइसकेको भन्दै उनले बाह्य रुपमा उपलब्ध गराउनुपर्ने सामाग्रीहरुको खरिद योजना तयार गरिएको बताए । निर्वाचनमा सामाजिक सञ्जाललाई प्रभावकारी ढंगले प्रयोग गर्नका लागि सामाजिक सञ्जाल सम्बन्धी नीति तर्जुमा गर्ने प्रक्रियामा रहेको पनि थपलियाले बताए ।

उनले भने, ‘आउँदो निर्वाचनको सिलसिलामा पनि हामीले निर्वाचनको आन्तरिक तयारी लगभग पूरा गरेका छौँ । यही फागुन २१ गते सबै मतदाता नामावलीको नाम प्रकाशन गरिनेछ । देशभरि मतदानस्थल र मतदान केन्द्रहरुको निधो गरिनेछ । त्यसलगत्तै हाम्रा निर्वाचनका कार्यक्रमहरु अगाडि बढ्नेछन् । हामीले यो वर्ष निर्वाचनमा मिडिया क्षेत्रको भूमिका र विशेषत्ः सामाजिक सञ्जाललाई पनि प्रभावकारी ढंगले प्रयोग गर्नुपर्छ भन्ने ध्येयले सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति नै तर्जुमा गरेका छौँ । रणनीति तर्जुमा गर्ने प्रक्रियामा छौँ । निर्वाचनका सामग्रीको आन्तरिक बन्दोबस्त भइसकेको छ । बाह्य रुपमा उपलब्ध गराउनुपर्ने सामग्रीहरुको खरिद योजना तयार गरिएको छ भने विभिन्न किसिमका तालिम, कार्यक्रमका निम्ति आवश्यक सामाग्रीहरु तयार गरी अगाडि बढिराखेका छौँ ।’

निर्वाचन कुनै पनि किसिमको स्रोत, साधन, पहुँच र शक्तिबाट प्रभावित हुनुहुँदैन र निर्वाचन निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्ने कुरामा आयोग सधै अडिग रहेको पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । निर्वाचन खर्चिलो र भड्किलो बन्दै गएकोप्रति निर्वाचन आयोगको गम्भिर ध्यानाकर्षण भएको पनि बताए । आगामी निर्वाचनलाई मितव्ययी बनाउनका निम्ति आयोग सचेत रहेको उनले बताए ।

उनले भने, ‘निर्वाचन कुनै पनि किसिमको शक्ति, स्रोत, साधन र पहुँचबाट प्रभावित हुनु हुँदैन । निर्वाचन निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्दछ भन्नेकुरामा निर्वाचन आयोग सधैँ नै अडिग रहेको छ । यसअनुसार प्रत्येक निर्वाचनहरु अलि खर्चिलो र भड्किलो बन्दै गएको प्रति निर्वाचन आयोगको गम्भीर रुपले ध्यानाकर्षण भएको छ । त्यसकारण, हामी आउँदो निर्वाचनमा आचारसंहिताको माध्यमबाट निर्वाचनलाई कसरी मितव्ययी, कम खर्चिलो र प्रभावकारी ढंगले लान सकिन्छ भन्ने विषयमा सचेत छौँ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगको मूल ध्येय स्वतन्त्र, निष्पक्ष, पारदर्शी र मितव्ययी ढंगले निर्वाचन सम्पन्न गराउने रहेको उल्लेख गर्दै निर्वाचनसँग सम्बन्धित संघसंस्था, निकाय, व्यक्ति र विशेषगरी राजनीतिक दलहरुको भूमिका अपरिहार्य रहेको बताए । उनले आगामी निर्वाचनमा अत्यन्त उल्लासमय वातावरणमा जागरुक भई आफ्नो प्रतिनिधि छान्न आम मतदाता सरिक हुनेमा विश्वास समेत व्यक्त गरे ।

निर्वाचन आयोगले फागुन ७ गते निर्वाचन दिवस मनाउँदै आएको छ । नेपालमा सर्वप्रथम वि.सं. २०१५ साल फागुन ७ गते मतदाताहरुले आम निर्वाचनमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गरेको दिनलाई स्मरण गर्दै वि.सं. २०७३ सालमा निर्णय गरी फागुन ७ गतेको दिनलाई निर्वाचन दिवस मनाउन थालिएको हो ।

प्रकाशित : फाल्गुन ७, २०७७ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?