३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

स्वदेशी उत्पादन

संक्रमण बढेसँगै मास्कको माग ह्वात्तै बढ्यो । कच्चा पदार्थ अभावका बाबजुद कठिन समयमा स्वदेशी उद्योगले सुरू गरेको मास्क उत्पादनले बजारको मागलाई केही हदसम्म सम्बोधन गर्‍यो ।
नुमा थाम्सुहाङ

काभ्रेको साँगामा २०७४ सालदेखि सञ्चालित मास्क उद्योग सात महिनादेखि बन्द छ । कोभिड–१९ महामारीको प्रभावका कारण सर्जिकल मास्क बनाउने कच्चा पदार्थ समयमा नपाएपछि सञ्चालक शुकदेव जोशी उद्योग बन्द गर्न बाध्य भए ।

स्वदेशी उत्पादन

उनले चीनबाट कच्चा पदार्थ आयात गरी मास्क बनाइरहेका थिए । कोभिड–१९ बढेसँगै नेपाली सर्जिकल मास्कको माग उच्च थियो । ‘त्यो समय सबैतिर गाह्रो थियो तर अहिले सजिलो भइसकेको छ,’ उनले भने, ‘यहाँ पनि मास्क बनाउने उद्योग धेरै खुलिसकेका छन् । अब नेपाली मास्क बनाउने उद्योगबीच प्रतिस्पर्धा हुन्छ ।’ बजारमा प्रतिस्पर्धामा उत्रिन समस्या रहेकाले फेरि मास्क उद्योग सञ्चालन गर्नेतिर इच्छा नभएको उनले सुनाए ।

त्यस्तै २०७६ चैत ११ देखि विराटनगर महानगरपालिका–३ स्थित न्यु तिरुपति मास्क उद्योगले दैनिक ५० हजार थान सर्जिकल मास्क उत्पादन गरिरहेको छ । सरकारले कोभिड–१९ संक्रमणबाट जोगिनका लागि लकडाउन सुरु गरेसँगै यो उद्योग सञ्चालनमा आएको हो । उद्योगका सञ्चालक सरोज खड्का एक सर्जिकल व्यवसायी पनि हुन् । ‘हामीले यहाँसम्म आउन धेरै मिहिनेत गर्‍यौं,’ उनले भने, ‘त्यतिबेला कच्चा पदार्थ जुटाएर कामलाई निरन्तरता दिन चुनौती थियो । अहिले जस्तो सहज थिएन ।’ उनको उद्योगले लकडाउन अवधिभर बाहिरबाट आवश्यक कच्चा पदार्थ ल्याई मास्क उत्पादन कार्यलाई निरन्तरता दिएको थियो । कोभिड–१९ महामारीका रूपमा फैलिएसँगै बजारमा मास्कको अभाव देखियो । ‘समस्यासँगै उद्योगलाई निरन्तरता दिनुपर्ने पनि थियो, यसमा लगानी धेरै लागिसकेको थियो,’ उनले भने, ‘अहिले हाम्रो मास्क देशका विभिन्न बजारमा पुग्छन् । यस्ता स्वदेशी उत्पादनलाई सरकारले पनि प्रोत्साहन गर्नुपर्छ ।’ अहिले एउटा मास्कको थोक मूल्य २ रुपैयाँ ५० पैसा छ । पहिलेकै दरमा मास्कको मूल्य आइसकेको उनले बताए ।

खड्काको उद्योगले लकडाउनको समयमा प्रतिदिन १ लाख ५० हजार थान मास्क उत्पादन गर्थ्यो । सीमानाका सहज भएसँगै चीन र अन्य मुलुकबाट भित्रिने मास्कले स्वदेशी बजारको माग घटेको उनले बताए । ‘मेरो उद्योगको क्षमता प्रतिदिन २ लाख थान उत्पादन गर्ने हो,’ उनले भने, ‘मैले यसको २५ प्रतिशतमात्र उत्पादन गरिरहेको छु । आयातित मास्कले यहाँ उत्पादन हुने मास्कको बजार घटायो ।’

कोभिड–१९ संक्रमण उच्च भएका अवधिमा मास्क र सेनिटाइजरको माग बढेको थियो । अत्यावश्यक सामानबाहेक भारत र चीनसँगको नाका बन्द भएकाले बाहिरबाट सामान आयात गर्न समस्या थियो । मास्क र सेनिटाइजरको बढ्दो मागले अभाव सिर्जना हुन थालेपछि यहाँकै उद्योगहरूले यसको उत्पादन सुरु गरे । उद्योग विभाग र औषधि व्यवस्था विभागबाट स्वीकृति लिई पुरानै औषधि उद्योग, साबुन र सौन्दर्य सामग्री उत्पादन गर्ने उद्योगहरूले सेनिटाइजर उत्पादनको काम सुरु गरे ।

मोरङको टंकीसिनुवारीस्थित हिमगिरि हाइजिन प्रालि, चितवनको भरतपुर–७ स्थित मितेरी जैविक प्याड उत्पादन केन्द्र र काठमाडौंको लाजिम्पाटस्थित लावन्या लक्जरी आयुर्वेदाले २०७६ चैत सुरुदेखि सेनिटाइजर बनाउने काम सुरु गरेका हुन् । हिमगिरि र मितेरी केन्द्रले २०७६ चैत ६ देखि सेनिटाइजर उत्पादन सुरु गरेको हो । लावन्याले २०७६ चैत ३ देखि उत्पादन थालेको थियो । हिमगिरि साबुन, मितेरी केन्द्र प्याड र लावन्या सौन्दर्य सामग्री बनाउने कम्पनी हुन् ।

हिमगिरिका सञ्चालक महेश जाजूले उद्योग विभागबाट स्वीकृति लिई ‘औरा’ नामक सेनिटाइजर उत्पादन गरेका हुन् । सेनेटरी प्याड बनाउने मितेरी केन्द्रले केन्द्रकै कर्मचारी र सदस्यमार्फत सेनिटाइजर बनाउने काम अगाडि बढाएको हो । लावन्या पनि सेनिटाइजरको मागलाई मध्यनजर गरेर यसको उत्पादनमा अग्रसर भएको हो । कोभिड–१९ को बीचमा लोमस फर्मास्युटिकल्सले औषधि व्यवस्था विभागबाट स्वीकृति लिएर सेनिटाइजर बनाउने काम सुरु गरेको थियो । कोभिड सुरु भएसँगै सेनिटाइजरको माग बढेकाले यसको उत्पादनलाई निरन्तरता दिएका लोमसका सञ्चालक प्रबलजंग पाण्डेले जानकारी दिए ।

प्रकाशित : फाल्गुन ७, २०७७ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?