१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भर्चुअल फड्को

इन्टरनेटको पहुँच बढ्दै जाँदा युवापुस्ता यसै पनि भर्चुअल दुनियाँमा अभ्यस्त हुँदै थियो । कोरोना महामारीले भर्चुअल विधिबाटै लेखपढ गर्नेदेखि सभा, समारोह, अन्तर्क्रिया र कार्यालय सञ्चालनसम्मको बानी बसाइदियो । 
सुदीप कैनी

काठमाडौँ — सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालयका क्याम्पसहरूले अनलाइनबाट विद्यार्थी भर्ना लिइरहेका छन् । लोक सेवा आयोगले अनलाइन दरखास्त लिन्छ । नेपाली सेनाले अधिकृत भर्ना छनोटमा यसपालि अनलाइनबाट पनि आवेदन मागेको छ ।

भर्चुअल फड्को

सवारी लाइसेन्सको अनलाइन दरखास्त भर्न आह्वान गरिएको छ । शिक्षक संस्था, सरकारी, गैरसरकारी निकायदेखि बैंक तथा वित्तीय क्षेत्रमा भर्चुअल क्रियाकलाप ह्वात्तै बढेको छ ।

कोभिड–१९ को महामारीसँगै हरेक क्षेत्रमा भर्चुअल कामकाज र गतिविधि लोकप्रिय बन्दै गएका छन् । इन्टरनेटको पहुँच बढ्दै जाँदा युवा पुस्ता भर्चुअल दुनियाँमा अभ्यस्त हुँदै थिए । कोरोना महामारीले झनै भर्चुअल विधिबाट सूचना प्राप्त गर्नदेखि सभा, समारोह, अन्तर्क्रिया गर्न, पढ्न/लेख्न र अफिस सञ्चालन गर्न उत्साह थप्दै लगेको छ । कोरोनाले शिक्षण संस्था ठप्प हुँदा भर्चुअल कक्षा र परीक्षा सञ्चालनको लहर नै चल्यो । सरकारले पनि विद्यालयदेखि विश्वविद्यालयसम्म अनलाइन कक्षालाई मान्यता दियो । शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालयले भर्चुअल निर्देशिका नै जारी गरेर शिक्षण अघि बढाए ।

कक्षा, परीक्षा, छलफल, गोष्ठी, सभा, बैठक वा कार्यालय सञ्चालनका लागि कुनै ठाउँमा भौतिक रूपमै उपस्थित हुनुपर्दैन । घर अथवा आफू बसेकै स्थलबाट सेवा–सुविधा लिन/दिन सकिन्छ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले कोभिडले समाजलाई भर्चुअल माध्यमतर्फ मोडिदिएको बताए । ‘हामीले कार्यालयबाट काम गर्ने, ढड्डा अभिलेख राख्ने र फेस टु फेस सेवा दिने अभ्यास गर्दै आएका थियौं,’ उनले भने, ‘कोरोनापछि यी काममा आईटीको प्रयोग बढेको छ ।’ विश्वविद्यालयले आईटीको प्रयोगबाटै शैक्षिक सत्र जोगाएको उनले प्रस्ट्याए । ‘कर्णालीको दुर्गममा अनलाइन पढाउँछौं, भर्चुअल परीक्षा लिन्छौं भन्दा खिसिट्युरी गरियो,’ उनले थपे, ‘आज हामी इ–एजुकेसन र इ–विश्वविद्यालयको अवधारणा अघि सारिरहेका छौं ।’

लकडाउन र कोभिडपछिको सहज अवस्थामा पनि आईटीको प्रयोग र अनलाइन माध्यमलाई निरन्तरता दिइने उनले जनाए । ‘काठमाडौं वा अमेरिका बसेका प्राध्यापकले पनि कर्णालीमा कक्षा लिन सक्छन्, सातामा ४ दिन फेस टु फेस र २ दिन अनलाइन कक्षा पनि गर्न सकिन्छ,’ उनले भने । भर्चुअल विधिले शिक्षा क्षेत्रमा पुग्न सक्ने क्षति न्यूनीकरण गरेको शिक्षाविद्हरू बताउँछन् । उनले भने, ‘शिक्षा, स्वास्थ्य, कृषि, सुरक्षाजस्ता क्षेत्र जस्तासुकै संकटमा पनि रोकिँदैनन् । पठनपाठन मात्रै नभई प्रशासनिक काम र बैठक भर्चुअल माध्यमबाटै सुरु भएको छ ।

नेपाल खुला विश्वविद्यालयले आफ्ना अधिकांश गतिविधि भर्चुअल माध्यमबाटै गर्दै आएको छ । विश्वविद्यालय सभा नै भर्चुअल गरियो । अन्य विश्वविद्यालय, विद्यालय र शिक्षण संस्था पनि यही लयमा अघि बढेका छन् । ‘हाम्रो विश्वविद्यालय आजै शतप्रतिशत भर्चुअल त हुँदैन, मूलधार भनेको फेस टु फेस नै हो,’ मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति सिंहले थपें, ‘छिटो, छरितो र प्रभावकारी कार्यसम्पादनका लागि भर्चुअल मााध्यमलाई पनि उत्तिकै प्राथमिकता दिन्छौं ।’

देश–विदेशको रोजगार र शिक्षाको जानकारी लिन पनि भर्चुअल माध्यमको प्रयोग बढ्दै गएको छ । भर्चुअल माध्यमका व्यापार–व्यवसाय फस्टाउन थालेका छन् । अनलाइनबाटै जागिर, पढाइ, सामान किनबेचबारे सूचना दिन थालिएको छ । कतिपय संघसंस्थाले भर्चुअल मेलाको समेत आयोजना गरेर एकै ठाउँबाट जानकारी बाँडेका छन् । कुनै पनि सूचना जानकारीका लागि सेवाग्राही कार्यालय धाउनुपर्ने बाध्यता हट्दै गएको छ । भर्चुअल माध्यम विकल्पका रूपमा देखिएको छ ।

आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा सरकारले विद्युतीय शिक्षण सामग्री उत्पादन गरी अनलाइन शिक्षा प्रदान गर्ने व्यवस्था मिलाउने, सार्वजनिक माध्यमिक विद्यालय तथा क्याम्पसमा सूचना प्रविधि प्रयोगशाला र उच्च गतिको इन्टरनेट सुविधा पुर्‍याउने घोषणा गरेको थियो । बजेटमा भर्चुअल कक्षा सञ्चालन, अनलाइन शिक्षा तथा टेलिभिजन एवं रेडियोमार्फत पठनपाठन अघि बढाइने उल्लेख छ । राज्यको नीतिले पनि भर्चुअल पठनपाठनलाई प्राथमिकता दिएको छ ।

शिक्षाविज्ञ प्रमोद भट्ट भर्चुअल माध्यमको प्रयोग अधिक बढेको बताउँछन् । हरेक क्षेत्रमा इन्टरनेटको प्रयोग बढ्दै गएको उनले सुनाए । कोरोनाका बेला झनै नयाँ/नयाँ प्रयोग भएको उनले बताए । ‘शिक्षा क्षेत्रमा अनलाइन कक्षाको लहर नै चल्यो, घण्टौंसम्म भर्चुअल मिटिङमा व्यस्त हुने, घर नै कार्यालयजस्तो बन्यो,’ उनले भने । इन्टरनेटको पहुँचका हिसाबले शैक्षिक क्षेत्रमा भने देशभर भर्चुअल कक्षा प्रभावकारी हुन नसकेको उनले गुनासो गरे ।

कोरोना प्रभावका कारण देशभर कक्षा १२ को परीक्षासमेत अनलाइनकै सहायताबाट गरिएको थियो । परीक्षा केन्द्रसम्म अनलाइनबाट प्रश्नपत्र पठाइएको हो । अहिले पनि कतिपय विद्यालयले अनलाइनबाटै पठनपाठन र परीक्षा सञ्चालन गरिरहेका छन् । सहज अवस्थामा पनि भर्चुअल माध्यमलाई सँगसँगै लगिएको छ ।

पढाइ, लेखाइ भर्चुअल हुन थालेपछि कार्यालय र मिटिङ पनि सोही प्रकृतिका हुन थालेका छन् । शैक्षिक परामर्शदाताहरूले विद्यार्थी अभिभावकलाई अनलाइनबाटै सेवा दिइरहेका छन् । इक्यानले माघ पहिलो साता भर्चुअल शैक्षिक मेला सम्पन्न गरेको थियो । आईटी विज्ञ पदमराज पन्त कोरोनाकालमै सरकारी जागिर छाडेर इ–लर्निङ सेवा सञ्चालनमा व्यस्त छन् । सरकारको १० औं वर्षदेखिको प्रविधिमैत्री सेवा सञ्चालन गर्ने प्रयास कोभिडले एक वर्षमै पूरा गरिदिन लागेको उनको विश्वास छ । ‘सरकारको नीति पनि भर्चुअलतर्फ जाने थियो,’ उनले भने, ‘कोभिडले हामीलाई जबर्जस्त त्यसतर्फ धकेलिदिएको छ ।’ उनी ई–लर्निङ सेवामार्फत शिक्षण संस्था सञ्चालन कसरी गर्ने, भर्चुअल कार्यालय व्यवस्थापन र बैठक कसरी सञ्चालन गर्ने विषयमा सरकारी, गैरसरकारी निकायलाई परामर्श दिने काम गर्छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल नेपाल फ्रेमवर्क जारी गरेर भर्चुअलतर्फ अघि बढ्ने नीतिगत व्यवस्था गरेको छ । यसमा शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जा, पर्यटन, वित्त, पूर्वाधारलगायत ८ वटा क्षेत्रमा प्रविधिको प्रयोग वृद्धि गर्ने लक्ष्य राखिएको छ । अधिकतम सरकारी सेवा अनलाइन माध्यमबाट उपलब्ध गराउने प्रयास सरकारले गरिरहेको छ । कोरोनाले अनलाइन सेवाको खाँचो झनै पुष्टि गरेको पन्तले जनाए । फेस टु फेस कक्षासँगै अनलाइनलाई पनि निरन्तरता दिने र अफिसलाई प्रविधिमैत्री बनाउँदै भर्चुअल माध्यमबाट सञ्चालन गर्ने लहर नै चलेको आईटी विज्ञहरू बताउँछन् ।

सरकारले आफ्नो सेवा छिटोछरितो र प्रभावकारी बनाउन भन्दै माघ पहिलो साता परीक्षणका रूपमा नागरिक एप सार्वजनिक गरेको छ । सरकारबाट प्रदान गरिने विभिन्न सेवालाई सरल, पारदर्शी र प्रभावकारी बनाउन एपले सहयोग गर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताएका थिए । डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत नै उक्त एप ल्याइएको हो । नागरिक एपबाट सर्वसाधारणले प्यान कार्डसम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्न र सरकारलाई तिरेको करको विवरणसमेत मोबाइल सेटमार्फत जानकारी लिन सक्नेछन् । त्यस्तै नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रका विवरण प्राप्त गर्न सकिने बताइएको छ ।

प्रकाशित : फाल्गुन ७, २०७७ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?