कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आरतीमा फिरेको आँट

सम्बन्धविच्छेदको संघारमा श्रीमान्‌ले डेरामै एसिड छ्यापे । तीन महिनाको उपचारपछि जसोतसो तंग्रिएकी छन् । बाँकी जीवनमा दुःख र पीडा जति भए पनि उनमा निर्धक्क बाँच्ने मनोबल बढेको छ । उनी चाहन्छिन्– ‘श्रीमान्‌लाई जन्जिरले बाँधेर सहरभरि डुलाइयोस् ।’
सन्तोष सिंह

धनुषा — श्रीमान्‌बाट भएको एसिड (तेजाब) प्रहारले दाहिने आँखा गुमाइन् । अनुहारको दाहिने भाग, कान, घाँटी, छाती, पेट र हातखुट्टासमेत जलेको छ । कीर्तिपुर अस्पतालमा तीन महिनाको उपचारका क्रममा उनका हरेक दिन पीडादायी बिते, त्यो क्रम अझै सकिएको छैन ।

आरतीमा फिरेको आँट

तर बयानका लागि बुधबार जनकपुरस्थित सरकारी वकिलको कार्यालय आइपुगेकी आरती साह (२१ वर्ष) ले कानुन व्यवसायीमाझ दुःख र पीडा जति भए पनि आफूलाई निर्धक्क बाँच्नु रहेको सुनाइन् । शारीरिक, मानसिक, सामाजिकलगायत समस्यासँग जुझ्दै गरेकी आरतीको आत्मबल र जीवन जिउने आँट देखेर त्यहाँ उपस्थित कानुन व्यवसायी नै छक्क परे ।

‘जीवन जिउनुको अब एकमात्रै आस छ,’ एसिडले जलेको अनुहार देखाउँदै आरतीले भनिन्, ‘मेरो अनुहारमा एसिड छ्याप्ने श्रीमान्को हातमा हत्कडी र खुट्टामा जन्जिरले बाँधेको देख्न चाहन्छु । अदालतले उनलाई ठीक यसैगरी जनकपुरमा घुमाउने आदेश देओस् । यति गरेमात्र मेरो मनको घाउ ठीक हुन्छ ।’ उनी चाहन्छिन्, आफूमाथि एसिड छ्याप्ने श्रीमान्लाई हुने सजाय देखेर/सुनेर फेरि अर्को कसैले कुनै महिलामाथि एसिड छ्याप्ने हिम्मत नगरोस् । एसिड प्रहारपछि खेपेको शारीरिक र मानसिक पीडाले नै आफूलाई झन् आँटिलो बन्न सहयोग गरको उनको भनाइ छ ।

आरतीको ५ वर्षअघि धनुषा सबैला नगरपालिका–६ का २६ वर्षीय सञ्‍जीव साहसँग विवाह भएको थियो । तर श्रीमान्सँगको सम्बन्ध सुमधुर हुन सकेन । दुवै जनाबीच सम्बन्धविच्छेद गर्न जिल्ला प्रहरी हुँदै अदालत जाने सहमति भएको थियो । सम्बन्धविच्छेद हुने भएपछि आफ्नो सौन्दर्यता बिगार्न श्रीमान्ले एसिड छ्यापेको आरती बताउँछिन् ।

गत कात्तिक २९ अर्थात् लक्ष्मी पूजाको दिन बिहान सञ्‍जीवले जनकपुरधाम–७ स्थित डेरामा आरतीको अनुहारमा एसिड छ्यापेका थिए । एसिडबाट आरतीमात्र होइन, उनकी छोरी रियाको समेत हात र टाउकोको केही भाग जलेको थियो । करिब ३० प्रतिशत जलेको आरतीको अनुहारको दाहिने भागको छाला प्रत्यारोपण गरिएको छ । आरतीको उपचारमा सरकारले नै सहयोग गरिरहेको छ । यसमा सहजीकरण गरिरहेका छन् एसिडपीडितको उपचारमा सहयोग गर्दै आएका अभियन्ता उज्ज्वलविक्रम थापाले ।

उपचारमा सहयोग, रेखदेख गरेका थापा नै आरतीको न्याय प्राप्तिका लागि पनि खटिरहेका छन् । छोरीको उपचारका क्रममा काठमाडौं बस्दा, आवतजावत र अन्य खर्चका लागि बुबा सुबोध साह सुनारले १ लाख ३२ हजार रुपैयाँ ऋण लिएका थिए । अहिले उक्त ऋण तिर्न सहयोग जुटाइरहेको पनि थापाले जनाए । उनका अनुसार आरतीको उपचार अझै २ वर्षसम्म चल्ने चिकित्सकले जनाएका छन् । गुमेको आँखामा ३ महिनापछि कृत्रिम आँखा राखिनेछ । आरतीलाई प्रदेश २ को मुख्य न्यायाधिवक्ताको कार्यालयमा आगामी साउनदेखि जागिर दिने प्रक्रियासमेत अघि बढाइएको छ ।

आरतीको जिल्ला अदालत धनुषामा फागुन १९ मा बकपत्रको मिति तोकिएको प्रदेश सरकारका तर्फबाट निःशुल्क कानुनी सहयोग गरिरहेकी प्रदेश कानुन सहायता अधिकृत रिंकुकुमारी यादवले बताइन् । उनका अनुसार त्यसपछि मात्रै यस मुद्दामा थप अनुसन्धान र न्याय निरूपणको प्रक्रिया अघि बढ्नेछ ।

यसअघि जिल्ला अदालतले श्रीमती र छोरीलाई एसिड छ्याप्ने सञ्जीवलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइसकेको छ । मंसिर २६ मा न्यायाधीश कृष्णकुरारी शिवाकोटीको इजलासले एसिड बेच्ने निखिल स्टोरका सञ्चालक नागेन्द्र साहलाई भने २ लाख रुपैयाँ धरौटी राखेर साधारण तारिखमा छोड्ने आदेश गरेको थियो । तर सरकारी वकिल कार्यालय धनुषाले नागेन्द्रलाई थुनामा राख्न माग गर्दै उच्च अदालत जनकपुरमा पुस ७ मा पुनरावेदन दियो । माघ २३ मा उच्चका न्यायाधीश लेखनाथ घिमिरे र रमेश ढकालको संयुक्त इजलासले पनि नागेन्द्रलाई ३ लाख रुपैयाँ मात्रै धरौटी तोकिदिएको थियो ।

सरकारी वकिल कार्यालय धनुषाका न्यायाधिवक्ता सीताराम अर्यालका अनुसार सञ्जीवविरुद्ध एसिड प्रहार गरी अंगभंग गरेको कसुरमा ५ वर्ष, शरीर कुरूप बनाएको कसुरमा ८ वर्ष र एकीकृत कसुरमा २ वर्ष ६ महिना गरी १५ वर्ष ६ महिना कैदसहितको अभियोग दर्ता गराइएको छ । कानुनअनुसार उपचार खर्च र क्षतिपूर्तिसमेत उपलब्ध गराउन माग गरिएको छ ।

एसिड छ्याप्ने घटना बढेपछि गत असोज १२ मा सरकारले तेजाब वा अन्य घातक रसायनिक पदार्थको उत्पादन, निकासी, पैठारी वा बिक्री वितरण गर्न चाहने व्यक्तिले अनुमतिपत्र लिनुपर्ने व्यवस्थासहितको तेजाब तथा अन्य घातक रसायनिक पदार्थ (नियमन) अध्यादेश २०७७ जारी गरेको छ । जसअनुसार एसिड आक्रमण गर्नेलाई अधिकतम २० वर्ष जेल र १० लाख रुपैयाँ जरिवाना हुने तथा पीडितलाई क्षतिपूर्ति दिनुपर्ने लगायत प्रावधानहरू राखिएको छ ।

प्रकाशित : फाल्गुन ७, २०७७ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?