१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अलपत्रका भरोसा

जसले सीमाबाट सयौंलाई उद्धार गरेर बसमा उनीहरुको जिल्ला पुर्‍याइदिए, हजारौंलाई खाना खुवाए अनि गाउँगाउँमा पुगेर लत्ताकपडा, खाद्यान्न र औषधोपचारमा सहयोग गरे ।
डीआर पन्त

डडेलधुरा — हजारौं नेपाली सीमापारि अलपत्र थिए । भारतका विभिन्न सहरबाट भोकभोकै सिमानामा आइपुगेका उनीहरूले कहिले मुलुक छिर्न पाउने टुंगो थिएन । नाका सिल गरिएको थियो ।

अलपत्रका भरोसा

बालबालिका, वृद्धवृद्धा र महिलाको अवस्था दयनीय बन्दै गएको थियो । कोरोना संक्रमणको जोखिम बढ्दै थियो । तर अभिभावकका रूपमा रहेका राज्यका संयन्त्रहरूआफ्नो जिम्मेवारी निर्वाह गर्न सकिरहेका थिएनन् । कोरोना महामारीको त्रासका बेला तेजबहादुर भण्डारीले सिमानाको यस्तो हविगत चुपचाप हेरिरहन सकेनन् । आफ्ना दिवंगत बुबा खडक भण्डारीले सधैं भन्ने गरेको उक्ति सम्झिए । खडक भन्थे, ‘संकटको समयमा मान्छेको सही पहिचान हुन्छ ।’ यही प्रेरणाले तेजबहादुर सीमामा अलपत्र परेकाहरूको उद्धारगर्न तम्सिए ।

डडेलधुराका ३२ वर्षीय तेजबहादुरले दुइटा बस भाडामा लिए । खर्च आफ्नै थियो । बसभाडा चर्को भए पनि विचलित भएनन् । सीमापारि अलपत्र नेपालीलाई ओसार्न सुरु गरे । उनीहरूलाई डडेलधुरा, बैतडी, बझाङ, अछाम, डोटी, बाजुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लामात्र होइन, कर्णालीका कालीकोट र हुम्लासम्म भाडा नलिईकनै पुर्‍याइदिए ।

सीमापारि अलपत्र परेका सर्वसाधारणलाई यसरी आफ्नै खर्चमा बसमा ओसार्दा यातायात व्यवसायीहरू चिढिए । उनीहरूले धनगढीबाट डडेलधुरासम्म पुग्दा २ हजार रुपैयाँसम्म बसभाडा लिन्थे । त्यसैले तेजबहादुरलाई सित्तैमा मानिस नओसार्न दबाब दिए । ‘समाज, आफन्त र देश चाहिने समयमा पनि कालोबजारी गरेर कमाउन खोज्नेको संख्या बढी छ । सहयोग गर्न कोही अघि सर्दैनन्, कोही तम्सिए रोक्न खोज्छन्,’ तेजबहादुरले भने ।

तेजबहादुरले गत वर्ष चैतमा पछिल्ला १५ दिनसम्म लगातार मान्छे ओसारे । एक युवाले आफ्नै लगानीमा अलपत्र परेकाहरूको उद्धार गरिरहेको खबर स्थानीय सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि स्थानीय तहहरूले उनकै सिको गरे र आ–आफ्नो क्षेत्रका मानिसलाई सीमापारिबाट छानीछानी ओसार्न थाले । स्थानीय तहले खटाएका कतिपय यातायातका साधनले चर्को भाडा असुल्थे जसका कारणकतिपय बेखर्ची नेपाली घर आउन पाएनन् । सम्पर्कमा आएका बेखर्चीलाई तेजबहादुरले नै गन्तव्यसम्म पुर्‍याए ।

धनगढीबाट पहाडी जिल्ला पुग्दासम्म उनले धेरै ठाउँमा प्रहरीबाट गाडीको परमिट माग्ने, चर्को भाडा लिएर लकडाउनमा मान्छे ओसारेको भन्दै पैसा उठाउने जस्ता उल्झन सामना गर्नुपर्‍यो । आफ्ना बाजे बहादुर भण्डारी र बुबा खडक भण्डारीको नाम जोडेर उनले स्थापना गरेको ‘बहादुर–खडक स्मृति प्रतिष्ठान’ का माध्यमबाट उद्धार गर्न थालेपछि तेजबहादुरलाई केही सहज भयो ।

तेजबहादुरले सामान्यतया मानिसलाई सिमानाबाट पहिलो दिन डडेलधुरासम्म पुर्‍याउँथे र अर्को दिन पहाडी जिल्लामा पालैपालो छाडिदिन्थे । डडेलधुरा सदरमुकाममा भक्त बीबी हेल्पिङ ह्यान्ड्स फर ह्युमानिटी नामक संस्था र बहादुर–खडक स्मृति प्रतिष्ठानको सहयोगमा भोजन र बसोबासको व्यवस्था हुन थाल्यो । यो काममा उनले कसैबाट एक पैसा पनि सहयोग लिएनन् । जति सके आफैं गरे । ‘एक्लो भएँ, गर्नुपर्ने जति सेवा गर्न सकिनँ,’ तेजबहादुर भन्छन् । महामारीको त्रास र मुलुकमा लकडाउन भएका बेला धेरैजसो व्यक्ति घरबाहिर समेत ननिस्कने समयमा तेजबहादुर उद्धारमा जुटेका थिए । तेजबहादुरले बहादुर–खडक स्मृति प्रतिष्ठान भोजनालय खोलेर दुई महिना लगातार निःशुल्क खाना पनि खुवाए । डडेलधुरा सदरमुकामको तुफानडाँडा चोकदेखि अलि तल दशरथ चन्द राजमार्गको छेउमा खोलेको भोजनालयमा हजारौंले पेट भर्न पाए ।

तेजबहादुरले सीमापारि अलपत्र परेकाको मात्र उद्धार गरेनन्, जिल्लाका ७२ वटै क्वारेन्टाइनमा पुगेर लत्ताकपडा र औषधोपचारमा समेत सहयोग गरे । पीसीआर परीक्षणका लागि धेरैलाई सघाए । कोरोना संक्रमणको त्रासले बिरामीलाई टाढैबाट हेर्न पनि डराउने अवस्थामा उनले धेरैलाई आफ्नै गाडीमा राखेर परीक्षणका लागि धनगढी अस्पतालसम्म पुर्‍याउँथे । महामारीका कारण दुई छाक खान समस्या भएका सयौं परिवारलाई उनले खाद्यान्न सहयोग गरे । आफ्नै खर्चमा गाउँ–गाउँ पुगेर राहत बाँड्ने उनी यस क्षेत्रमा एक्ला हुन् ।

सेवाको भावना बुबाकै प्रेरणाले मिलेको तेजबहादुर बताउँछन् । यसमा कृषि विकास बैंकमा प्रबन्धकका रूपमा कार्यरत आफ्नै दाजु चक्रवीरको प्रेरणा पनि छ । कुनै न कुनै रूपमा समाज सेवामा जोडिनुपर्छ भनेर तेजबहादुरले बुबाको निधनपछि बाजे र बुबाको नाममा प्रतिष्ठान खोलेका थिए ।

‘प्रतिष्ठान खोलेको केही महिनामै कोरोनाका कारण संकट आयो,’ उनले भने, ‘यस्तो संकटमा सहयोग नगर्ने हो भने के सेवा गर्नु भन्दै अघि सरें ।’ उनी निस्वार्थ भावनाले सेवा गर्नुपर्छ भन्ने विश्वास गर्छन् । सेवामा कति खर्च भयो ? समाजशास्त्रमा स्नातकोत्तर गरेका तेजबहादुरले हाँस्दै भने, ‘कसैबाट एक रुपैयाँ सहयोग नलिई सेवा गरेको हुँ । कुनै हिसाबकिताब राखिनँ ।’

डडेलधुराको दुर्गम अजयमेरु गाउँपालिका–१ का तेजबहादुर आर्थिक रूपमा धेरै सम्पन्न व्यक्ति होइनन् । उनले कमाएको भन्दा धेरै खर्च मानव सेवामा गरेका छन् । डडेलधुराको माउन्टेन बहुमुखी क्याम्पसका पूर्वप्रमुख सुरेशराज जोशी भन्छन्, ‘यस्तै युवाका कारण अहिले पनि मानवता जीवितछ भन्न सकिन्छ ।’

प्रकाशित : फाल्गुन ७, २०७७ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?