१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रकाशकीय : राष्ट्रसामु गम्भीर संकट आउँदा हामी सदैव जनताका पक्षमा उभिन्छौं 

प्रकाशकीय

कान्तिपुर पब्लिकेसन्स आजबाट अट्ठाइस वर्ष पूरा गरी उनन्तीसौं वर्षमा प्रवेश गरेको छ । कान्तिपुर पब्लिकेसन्सको अट्ठाइसौं वार्षिकोत्सवको उपलक्ष्यमा हृदयदेखि शुभेच्छा एवम् बधाई दिन चाहन्छु ।

प्रकाशकीय : राष्ट्रसामु गम्भीर संकट आउँदा हामी सदैव जनताका पक्षमा उभिन्छौं 

हामीले झन्डै तीन दशकको यात्रामा अनेक उकाली–ओराली र समस्या–संकटहरू देखे–भोगेका छौं र त्यसलाई कुशलतापूर्वक छिचोल्दै आएका पनि छौं । तर हामीले यसपटक भोगेको संकट हिजोको जस्तो सामान्य थिएन । कोभिडले सारा विश्वलाई नै हल्लाएको थियो, हाम्रो समाज र राष्ट्र पनि त्यसको चपेटामा नराम्रोसँग पर्‍यो । कान्तिपुरमात्र त्यसबाट अछुतो रहन सक्ने कुरा पनि थिएन । हाम्रा थुप्रै सहकर्मी, सहयोगी र शुभेच्छुकहरू कोभिडबाट प्रत्यक्ष पीडित हुनुभयो । केहीले त नजिकका आफन्तसमेत गुमाउनुभयो । उहाँहरू सबैलाई मेरो समवेदना अनि दिवंगत आफन्तजनप्रति हार्दिक श्रद्धाञ्जली ।

विगत एक वर्षको अवधि साँच्चै नै असामान्य थियो । कोभिड सिर्जित कठिनाइ, समस्या र महासंकटको सामना गर्न सजिलो थिएन । तर तपाईंहरू सबैको शुभेच्छा एवम् सहयोग पाएर हामीले यसलाई धेरै हदसम्म चिरेका छौं । हाम्रा सामुन्नेका सबै संकट र समस्याहरू अझै पनि पूर्ण रूपले पार लागिसकेका छैनन्, पूर्ववत् सहज परिस्थितिमा फर्कन अरू केही समय लाग्न सक्छ । तर अब हामी राम्रैसँग अगाडि बढ्न सक्छौं भन्ने आत्मविश्वास यसबीचको सफलताले दिएको छ । हामी कोभिडपछिको परिदृश्यलाई ख्यालमा राख्दै अझ परिस्कृत, परिमार्जित एवम् नयाँ परिवेशको आवश्यकताअनुरूप चुस्त–दुरुस्त हुँदै छौं । मलाई पूर्ण विश्वास छ, यसमा तपाईंहरू सबैको विगतमा झैं रचनात्मक साथ–सहयोग रहनेछ ।

तपाईंहरूलाई थाहै छ, कोभिडपछि मुलुकको आर्थिक क्षेत्रमा छाएको सुस्तताको असर सम्पूर्ण समाजभरि परेको छ । यो अवस्थाबाट हामी पनि केही अप्ठ्यारोमा छौं, तर यसैका कारण निष्पक्ष पत्रकारितालाई अगाडि बढाउने हाम्रो निष्ठामा कमी आएको छैन । आउन दिइने पनि छैन । यसबीचको प्रतिकूल अवस्थामा पनि हामीले विराटनगरमा अत्याधुनिक प्रेस जडान गरेका छौं । यो बढीभन्दा बढी पाठकका घरमा समयमै पत्रिका पुगोस् भन्ने ध्येयले गरिएको लगानी हो । यसबाहेक हामीले हाम्रा डिजिटल प्लेटफर्महरूलाई पनि थप परिस्कृत गरेका छौं । यो क्रम आउँदो वर्ष पनि जारी रहनेछ ।

यस वर्ष हामीकहाँ कोभिडमात्र आएन, सँगसँगै राजनीतिक संकट पनि जोडिएर आयो । यो अवस्थामा हामी स्पष्ट ढंगले लोकतन्त्र, कानुनी राज र संवैधानिक मूल्य–मान्यताका पक्षमा उभिएका छौं । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । हामी विश्वस्त छौं– सम्मानित न्यायालयले संविधानको प्रतिरक्षा गर्दै जननिर्वाचित निकायको बलात् विघटन गर्ने कदमलाई सच्याउनेछ । हामीले गरिरहेको कर्म फगत एउटा व्यवसायमात्र होइन, यो समाजप्रति उत्तरदायी कर्म हो, त्यसैले राष्ट्रका सामु गम्भीर संकट आउँदा हामी यताउता कतै नहेरी सदैव जनताका पक्षमा उभिन्छौं । यसपटक पनि हामीले त्यही धर्म निर्वाह गरेका हौं ।

अन्त्यमा, म फेरि हाम्रा सम्पूर्ण सहकर्मी साथीहरू, पाठकवृन्द, विक्रेता, वितरक, विज्ञापनदाता, विज्ञापन एजेन्सीलगायत सबै सहयोगी एवम् शुभेच्छुक महानुभावहरूलाई २८ औं वार्षिकोत्सवको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु । धन्यवाद ।

प्रकाशित : फाल्गुन ७, २०७७ ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?