देउवाले भने, ‘जुलुस निकाल्न हामीसँग पैसा छैन’

लालप्रसाद शर्मा

पोखरा — कांग्रेस सभापति शेरबहादुर देउवाले आफूहरुले ठूलो जुलुस ल्याउन नसक्ने र त्यसका लागि पैसा पनि नभएको बताएका छन् । 

देउवाले भने, ‘जुलुस निकाल्न हामीसँग पैसा छैन’

नेपाल राष्ट्रिय मगर संघको गण्डकी प्रदेशको प्रथम सम्मेलन बिहीबार उद्घाटन गर्दै देउवाले संसद् विघटन संवैधानिक, असंवैधानिक भए पनि जुलुस निकाल्न सक्ने अवस्था नभएको बताएका हुन् । उनको भनाइ थियो, ‘जुलुस निकाल्न हामीसँग पैसा पनि छैन । ठाउँठाउँमा जबर्जस्ती बोलाउन पनि सकिँदैन’ देउवाले भने, ‘कि त प्रचण्डको जुलुस ठूलो होला कि त ओलीको हुन्छ । हाम्रो त हुँदैन । जुलुसकै आधारमा गर्ने हो भने अदालत किन चाहियो ।’

कांग्रेसमा क्रियाशील सदस्यलाई अनिवार्य बोलाए पनि जुलुसमा नआउने उनले बताए । ‘क्रियाशील लिनेबेला मारामार हुन्छ । चुनावमा क्रियाशील सबैलाई चाहिन्छ तर मिटिङमा कहिल्यै आउँदैनन्’, उनले भने, ‘जुलुसमा झन् के आउँथे ।’ अहिलेको बेला अदालतलाई निर्णय गर्न दिने तर यसो गर उसो गर नभनौं र भन्न पनि पाइँदैन भन्दै उनले अदालतले संसद् पुन:स्थापना गरे पनि स्वीकार्ने र चुनाव भने पनि चुनावमा जाने प्रस्ट पारे । ‘अदालतको निर्णय मान्छौं । अदालतलाई नमाने कसलाई मान्ने’ उनले भने ।

प्रधानमन्त्री केपी ओलीले हठात् संसद् विघटन गरेर देशमा धेरै ठूलो ध्रुवीकरण गरेको देउवाको भनाइ थियो । देउवाले संसद् विघटन संवैधानिक, असंवैधानिक र अर्कोतिर अदालतमा रहेको मुद्दामा केन्द्रित रहेर संसद् पुन:स्थापना या चुनाव हुनुपर्ने भन्ने चार कुरामा देशभरी पक्ष विपक्ष देखिएको बताए ।

कांग्रेस पार्टीको बैठकमा पनि यस विषयमा छलफल भइरहेको उनले बताए । ‘पार्टीभित्र कोही संसद् पुन:स्थापना भन्नुहुन्छ त कोही चुनाव हुँदा फाइदा हुन्छ भनेर बाँडिएका छन्’, उनले भने, ‘तर म भन्छु, अदालतलाई यसो गर उसो गर भन्न मिल्दैन । बरु राम्रो वकिल राख्न पाइन्छ । वकिल राखेर बहस गराउने हो ।’

प्रकाशित : फाल्गुन ६, २०७७ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?