कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई ज्यान मार्ने धम्की

सुदीप कैनी

काठमाडौँ — परिचित/अपरिचित समूहले एक महिनायता ज्यान मार्ने धम्की दिन थालेको भन्दै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले सुरक्षाको माग गरेका छन् । मेडिकल कलेजलाई सम्बन्धन र स्नातकोत्तर तह (पीजी) को एकीकृत प्रवेश परीक्षालगायतका विषयमा उक्त समूहले धम्की दिने गरेको गिरीले कान्तिपुरलाई बताए ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई ज्यान मार्ने धम्की

प्रत्यक्ष–अप्रत्यक्ष रूपमा भौतिक आक्रमण गर्ने र ज्यान मार्नेसम्मको धम्की आएको उनको भनाइ छ । ‘टेलिफोनमा धम्की आइरहेका थिए, मैले खासै वास्ता गरेको थिइनँ, माघ ६ गते त घरको गेटमै बमजस्तो शंकास्पद वस्तु राखियो,’ उनले भने, ‘मेरो कार्यालयका सुरक्षाकर्मीलाई भेटेर तेरो डाक्टरलाई जतिबेला जे पनि गर्न सक्छौं भनिरहेका छन् ।’ बसुन्धरास्थित घरमा शंकास्पद वस्तु राखेपछि प्रहरीलाई खबर गरी उजुरी दिएको गिरीले बताए । ‘अहिले पनि त्यस्ता फोन आउँछन् तर नम्बर देखिँदैन,’ उनले भने ।

प्रहरीका अनुसार गेटमा बियरको बोतलमा पेट्रोल र सुतली राखिएको थियो भने आँगनमा पेट्रोल छर्किएका कपडा छरिएको थियो । महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी रोशन खड्काले गिरीलाई आएको धम्कीका विषयमा आन्तरिक छानबिन गरिरहेको जानकारी दिए ।

बम राखेको स्थलमा पर्चासमेत भेटिएको थियो । विजय थापा भनिने व्यक्तिले बम राखेको र धम्कीको जिम्मा लिएका छन् । पर्चामा झापाको बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंसँग २० करोड घूस मागेकाले गिरीलाई कारबाही गर्न लागिएको उल्लेख थियो । पर्चामा जिम्मा लिएकाले थापा नै घटनामा संलग्न रहेको हुन सक्ने गिरीले आशंका गरे । थापा खोजीमै रहेको प्रहरीले जनाएको छ ।

थापा चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीविरुद्ध विभिन्न समयमा अनशन बस्ने गरेका व्यक्ति हुन् । उनलाई सत्तारूढ नेकपानिकट युवा संघको संरक्षण र समर्थन रहँदै आएको थियो । उनीमाथि त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) का पूर्वडिन जगदीशप्रसाद अग्रवाललाई दुर्व्यवहार गरेको आरोपसमेत छ । डा. केसीका एक सहयोगीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार अभियानका विरोधीहरूले थापालाई प्रयोग गर्ने गरेको बताए । कान्तिपुरले प्रतिक्रिया लिन खोज्दा थापाको मोबाइल अफ थियो ।

डा. केसीले विज्ञप्ति जारी गर्दै आयोगका पदाधिकारीलाई धम्क्याउने तथा हिंसामा उत्रने आपराधिक गतिविधि अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आयोगलाई असफल बनाउन षड्यन्त्र भइरहेको उनले उल्लेख गरेका छन् । ‘सत्ता नजिकका मेडिकल माफियाहरूले आपराधिक व्यक्तिहरूलाई प्रयोग गरेर आयोगका पदाधिकारीको घर अगाडि बम राख्नेसम्मको कुकर्म गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘स्थापनाकालदेखि नै आयोगको काममा अनावश्यक भाँजो हाल्ने, हस्तक्षेप गर्ने काम भइरहेको छ ।’

उपाध्यक्ष गिरीले धम्कीबारे प्रहरी र जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई जानकारी गराए पनि अहिलेसम्म कारबाहीबारे कुनै जानकारी नपाएको बताए । चिकित्सा शिक्षामा देखिएका विकृति अन्त्यका लागि चिकित्सा शिक्षा ऐन जारी गरेर आयोग गठन गरिएको थियो । गठनदेखि नै उपाध्यक्ष गिरी विवादमा तानिएका छन् ।

२०७६ मंसिरमा प्रसाईंले उपाध्यक्ष गिरीले २० करोड घूस रकम मागेको आरोप लगाएका थिए । झापाको प्रस्तावित मेडिकल कलेजलाई सम्बन्धन दिलाउन गिरीले घूस मागेको प्रसाईंको दाबी थियो । उक्त आरोपको खण्डन गर्दै गिरीले मुद्दा दायर गरेपछि प्रसाईं फरार भए । पछि भक्तपुर जिल्ला प्रशासनमा उपस्थित भएसँगै नेकपा नेताको पहलमा मुद्दा मिलाइएको थियो । प्रसाईंले मेडिकल कलेजलाई सम्बन्धन दिलाउन आयोगमा अनुचित दबाब दिँदै आएको कर्मचारीहरू बताउँछन् ।

पछिल्लो पटक पीजीको साझा प्रवेश परीक्षालाई व्यवस्थित र पारदर्शी बनाउन खोज्दा आफूमाथि आक्रमणको प्रयास गरिएको डा. गिरीले गुनासो गरे । उनका अनुसार पर्चामा एक वर्षअघि बीएन्डसीका सञ्चालकले लगाएको झूटा आरोपको समेत विवरण उल्लेख गर्दै पीजी प्रवेश परीक्षामा बेथिति भएको आरोप लगाइएको छ । ‘तर हामीले ऐनको व्यवस्थाबमोजिम मात्रै काम गरेका छौं,’ उनले भने ।

प्रकाशित : फाल्गुन ६, २०७७ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?