२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

काभ्रेमा भेटियो ‘ब्ल्याक प्यान्थर’

गोविन्द पोखरेल

काठमाडौँ — प्रायः चितुवा हलुका पहेंलोरातो रंगको पृष्ठभूमिमा औंठी आकारको गोलाकार कालो बुट्टा रंगका हुन्छन् । कहिले काहीँ कालो रंगको पनि भेटिन्छन् जसलाई 'ब्ल्याक प्यान्थर' भन्ने गरिन्छ । बिरलै मात्रामा भेटिने कालो रंगको चितुवा काभ्रेमा पहिलो पटक भेटिएको छ ।

काभ्रेमा भेटियो ‘ब्ल्याक प्यान्थर’

बुधबार बिहान काभ्रेको पाँचखाल नगरपालिका–९स्थित चारपिप्ले सामुदायिक वन नजिकै पर्ने पलानचोक भगवतीबाट खरेल थोक जाने पक्की मोटर बाटोमा मृत अवस्थामा ब्ल्याक प्यान्थर फेला परेको डिभिजन वन कार्यालय काभ्रेका प्रमुख देवीचन्द्र पोखरेलले बताए ।

मृत अवस्था फेला परेको उक्त चितुवालाई वन कार्यालयले भने ‘कालो ध्वाँसे चितुवा’ भनेको छ । उक्त भाले चितुवा करिब १० वर्षको उमेर रहेको सब डिभिजन वन कार्यालय महादेवस्थानका प्रमुख हरिशचन्द्र तिम्सिनाले बताए । घटनास्थलमा पुगेका तिम्सिनाका अनुसार ६ फिट लम्बाई र ३ फिट उचाइ भएको करिब ५० केजी तौल भएको उक्त चितुवालाई बुधबार नै पाँचखल नगरपालिकामा मुचुल्का उठाएर सदगत गरिएको छ ।

उक्त चितुवाको भीरबाट लडेर वा अर्को चितुवासँग लडाइँ गरेर मरेको भन्ने बारेमा खुल्न नसकेको उनले बताए । मृत अवस्थामा फेला परेको उक्त चितुवाको खुट्टा,मुख,नंघ्रा लगायत शरीरका अन्य विभिन्न स्थानहरुमा घाउ देखिएको स्थानीय कालिका युवा क्लबका अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए । विगतदेखि नै उक्त चितुवा त्यस क्षेत्रमा घुम्दै आएको र बाख्राहरु खाने गरेको स्थानीयले बताए । वन कार्यालय मंगलबार राति चितुवा मरेको हुन सक्ने अनुमान गरेको छ । चालू आर्थिक वर्षमा यस क्षेत्रमा यो प्रजातिको चितुवा भेटिएको पहिलो भएको उनले बताए ।

प्राणीशास्त्री एवं प्राध्यापक करन शाहका अनुसार नेपालमा २०/२२ वर्षअघि पोखरामा पनि यो रंगको चितुवा फेला परेको थियो । उनले यसलाई एक किसिमको अनुकुलता (एड्याप्टेसन) भनेका छन् । 'प्राकृतिक रुपमा घना जंगल भएको ठाउँ जहाँ प्रकाश कम भएको ठाउँहरुमा पाइन्छ,' प्राध्यापक शाहले भने,' घना जंगलमा प्रकाश पनि कम देखिने र आद्रताको मात्रा पनि धेरै हुँदा यो पाउने सम्भावना बढी हुन्छ । कालो शरीर हुँदा यो घना जंगलमा देखिदैँन र शत्रुबाट पनि सुरक्षित हुन्छ ।'

उनले यो घटनालाई समान्य रुपमा लिनुपर्ने बताए । उनले भने,'बिरालो प्रजातिको प्यान्थारा जातीमा ५ देखि ११ प्रतिशत जीवहरु कालो हुने सम्भावना हुन्छ । मेलानिन भन्ने रसायनको मात्रा बढी हुँदा छाला र रौं कालो देखिन्छ । यो त्यही कारणले भएको हो ।' यो जीवलाई कालो भएपनि बच्चाहरु सामान्य किसिमका अन्य चितुवाहरु जस्तो रंगको पनि हुन सक्ने उनले बताए ।

त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागका प्रमुख एवं चितुवामा विद्यावारिधि गरेका प्राध्यापक तेजबहादुर थापाले तस्बिरमा देखिएको पाटाहरु हेर्दा कालो चितुवा हुन सक्ने बताए । उनले भने,‘चितुवाको ब्ल्याक भ्यारिएन्ट त हुन्छ नै । फोटो हेर्दा चितुवा नै जस्तो देखिन्छ । यसको साइज पनि ध्वाँसे चितुवा भन्दा लियोपार्डको हाइटमा देखियो । यो चितुवा नै है ।’

प्राध्यापक थापाका अनुसार चितुवाको यो रंगलाई मेलानिस्टिक भनिन्छ । ‘यो मेलानिस्टिक कलर हो । कहिले काही एल्बेनिज्म हुँदा सेतो पनि देखिन्छ । म्युटेसन वा कुनै अनुवांशिय कारणले यसको रंग कालो देखिएको हुन सक्छ,’ प्राध्यापक थापाले भने ।

प्रकाशित : फाल्गुन ५, २०७७ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?