कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

बिहारमा नेपाली बालिकाको हत्या : थानाध्यक्षविरुद्ध वारेन्ट

कमल पन्थी

बर्दिया — भारतको बिहार राज्यको पश्चिम चम्पारणस्थित कुण्डवा चैनपुरमा नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या गरेर प्रमाण मेटाउन र शव जलाउन सहयोग गरेको आरोपमा स्थानीय थानाध्यक्षविरुद्ध वारेन्ट जारी भएको छ ।

बिहारमा नेपाली बालिकाको हत्या : थानाध्यक्षविरुद्ध वारेन्ट

त्यहाँका एसपी नवीनचन्द्र झाले तत्कालीन थानाध्यक्ष सञ्जीव रञ्जनलाई गिरफ्तार गर्न आदेश दिएका हुन् ।

बर्दियास्थित बारबर्दिया–३ की सुमित्रा विकको हत्यापछि प्रमाण मेटाएको आरोपमा उक्त आदेश दिएको कुण्डवा चैनपुरका थानाध्यक्ष मिथिलेशकुमार यादवले कान्तिपुरलाई टेलिफोनमा बताए । यादवका अनुसार रञ्जनले गिरफ्तारी नदिए उनीलगायत घटनाका आरोपी सबैको सम्पत्ति जफत गर्ने एसपी झाले निर्देशन दिएका छन् । हाल रञ्जन फरार छन् ।

रञ्जनको भिडिओ भाइरल भएपछि बलात्कार र हत्याको खुलासा भएको थियो । उनले अर्का आरोपी विनयसँग शवको प्रमाण मेटाउन कुराकानी गरेका थिए । भिडियोका आधारमा प्रमाण जुटाएर कारबाही प्रक्रिया अघि बढेको छ । घटनापछि बिहारको राजधानी पटना र मजफ्फरपुरबाट एफएसएल टिमलगायत एसपीसमेतले छानबिन सुरु गरेका छन् ।

गत माघ ८ गते १२ वर्षीया सुमित्राको हत्या गरेर शव जलाइएको थियो । परिवारले उनलाई ११ जनाले करणी गरेको र त्यसपछि हत्या गरी जलाएको दाबी गरेका छन् । मृतक बालिकाका भिनाजु नवलसिंह विक घटनालगत्तै बिहार पुगेका थिए । सुमित्राका बुबा (ससुरा) खड्ग बहादुरलगायत परिवारसँग एसपी झाले भेटेको नवलसिंहले बताए । ‘एसपीले चाँडै आरोपीलाई पक्राउ गरी न्याय दिने बताए,’ उनले भने, ‘धम्की र त्रास भएपछि परिवारलाई प्रहरीले सुरक्षा दिइरहेको छ ।’ उनीहरूलाई केही भारतीय नागरिकले घटनास्थलबाट अन्यत्र बस्ने व्यवस्था गरेका छन् ।

घटनामा संलग्न आरोपी घरबेटी सीताराम साह र उनका छोरा विनय पक्राउ परिसकेका छन् । अन्य ९ जना फरार छन् । २१ जनवरीमा भएको घटनाको निवेदन फेब्रुअरी २ मा दर्ता भएको थियो । कुण्डवा चैनपुर प्रहरी चौकीमा संख्या २१/२१ फेब्रुअरी २ तारिखमा भारतीय दण्ड सजाय १४९/३४२/४५०/३७६ (डीबी), १२०(बी)३०२/२०१ अनुसार मुद्दा दर्ता गरिएको छ ।

अन्य अभियुक्तलाई पक्राउ गर्न अनुमण्डल प्रहरी पदाधिकारी सिकहरनाको नेतृत्वमा एसआईटी गठन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सात वर्षदेखि सुमित्राका बाबु खड्गबहादुर बिहारमा चौकीदारको काम गर्दै आएका छन् ।

प्रकाशित : फाल्गुन ५, २०७७ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?