२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

नेपालद्वारा त्रिपुराका मुख्यमन्त्रीको अभिव्यक्तिका सम्बन्धमा भारतको ध्यानाकर्षण

चाँडै प्रस्ट्याउने भारतको जवाफ
सुरेशराज न्यौपाने

नयाँदिल्ली — नेपालले भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लव देवले नेपालका सम्बन्धमा दिएको आपत्तिजनक अभिव्यक्तिका सम्बन्धमा भारत सरकारको ध्यानाकर्षण गराएको छ ।

नेपालद्वारा त्रिपुराका मुख्यमन्त्रीको अभिव्यक्तिका सम्बन्धमा भारतको ध्यानाकर्षण

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय विदेश मन्त्रालयका नेपाल र भुटान डेस्कका सहसचिव अरन्दिम बाग्छीलाई फोन गरेर भारतीय जनता पार्टी (भाजपा) का तत्कालीन अध्यक्ष अमित शाहले नेपाल र श्रीलंकामा पनि भाजपाको सरकार बनाउने योजना रहेको बताएको भन्ने देवको अभिव्यक्तिका सम्बन्धमा चासो व्यक्त गर्दै भारतको सरकारको ध्यानाकर्षण गराएको दूतावास स्रोतले जनाएको छ ।

मुख्यमन्त्री देवले गत शनिबार भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले नेपाल र श्रीलंकामा समेत भारतीय जनता पार्टी (भाजपा) को सरकार विस्तार गर्ने योजना बनाएको विवादास्पद अभिव्यक्ति दिएका थिए । देवले शनिबार राजधानी अगरतालाको एउटा पार्टी बैठकमा भाजपा अध्यक्ष रहेका बेला शाहले त्यस्तो योजना सुनाएको बताएका थिए । ‘राज्य सरकारको गेष्ट हाउसमा चलेको छलफलमा अजय जमवाल (भाजपाको उत्तरपूर्व क्षेत्र सचिव) आफ्नो पार्टीले भारतका धेरै राज्यहरुमा सरकार बनाउन सफल भएको बताएपछि त्यसको जवाफमा शाहले अब श्रीलंका र नेपालमात्र बाँकी रहेको हुँदा ती दुई देशमा पनि पार्टी विस्तार गरेर सरकार बनाउनका लागि जित्नुपर्छ भन्ने योजना सुनाउनुभयो’ देवलाई उद्धृत गर्दै त्रिपुराको अंग्रेजी अनलाइन इष्ट मोजोले लेखेको थियो ।

दूतावासका एक उच्च अधिकारीका अनुसार राजदूत आचार्यले देवको अभिव्यक्तिका बारेमा भारतीय पक्षलाई प्रस्ट पारिदिन समेत भनेका छन् । सहसचिव बाग्छीले त्रिपुराका मुख्यमन्त्रीको अभिव्यक्तिप्रति दुःख व्यक्त गर्दै चाँडै नै यस विषयमा प्रस्ट पारिने जवाफमा दिएको ती अधिकारीले कान्तिपुरलाई बताएका छन् । ‘भारतीय पक्षबाट त्यस्तो अभिव्यक्ति नआउनुपर्ने हो र यस विषयलाई नोट गरिएको र चाँडै नै यस विषयमा प्रस्ट पार्ने जवाफ आएको छ’ दूतावासका एक उच्च अधिकारीले भने । बिहीबारको पत्रकार सम्मेलनमा विदेश मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गर्ने सम्भावना रहेको समेत उनले बताए । यसैगरी देवको अभिव्यक्तिप्रति श्रीलंकाले पनि कूटनीतिक च्यानलमार्फत आपत्ति जनाएको स्रोतको दाबी छ ।

भारतको विपक्षी पार्टी भारतीय राष्ट्रिय कांग्रेसले पनि देवको भनाइप्रति आपत्ति जनाएको छ । कांग्रेसले यस किसिमका अभिव्यक्तिले नै भारतको छिमेकीहरुसँगको सम्बन्ध खराम्रो बन्न पुगेको समेत जनाएको छ । ‘यस्तै मानिसहरुको बेवकूफीपूर्ण बयानकै कारण आज भारतको छिमेकीहरुसँगको सम्बन्ध सबैभन्दा खराब अवस्थामा आइपुगेको छ’, कांग्रेसले सोमबार साँझ ट्विट गर्दै भनेको छ । साथै उसले यस किसिमका अभिव्यक्ति दिएर भाजपाले जनतालाई मूर्ख बनाउने काममात्र गरिरहेको भन्दै आलोचना गरेको छ ।

देवको अभिव्यक्तिलाई लिएर अन्य वाम पार्टीहरुले समेत आलोचना गरेका छन् । साथै उनीहरुले पार्टीले देवको अभिव्यक्तिका बारेमा प्रष्टीकरण दिनुपर्ने मागसमेत गरेका थिए । सिपिआई (मार्क्सवादी) का नेता तथा पूर्वसांसद जितेन्द्र चौधरीले त मुख्यमन्त्रीलााई संविधान, लोकतन्त्र लगायतको कुनै ज्ञान नै नभएको बताएका थिए । भाजपाले हालसम्म देवको अभिव्यक्तिका सम्बन्धमा कुनै प्रतिक्रिया जनाएको छैन ।

त्यसो त मुख्यमन्त्री देव विगतमा पनि विवादास्पद अभिव्यक्तिका लागि चिनिँदै आएका छन् । गत साउनमा उनले पन्जाबी र जाट समुदाय शारीरिक रुपमा बलियो भए पनि बंगालीको तुलनामा कम बुद्धिमानी हुने टिप्पणी गरेर विवादमा तानिएका थिए । उनको त्यो भनाइले बबाल मच्चिएपछि उनले सार्वजनिक रुपमै माफी मागेका थिए । सन् २०१८ मा देवले इन्टरनेट र स्याटलाइटको प्रयोग महाभारतकालमै हुने गरेको दाबी गरेका थिए । त्यसैगरी एक वर्षअघि उनले मुगलहरुले त्रिपुराको संस्कृतिमाथि बम खसालेर ध्वस्त पार्न चाहेको अभिव्यक्ति दिएपछि ठूलो विवाद भएको थियो ।

सन् २०१८ को मार्चमा भएको त्रिपुराको विधानसभा चुनावमा भाजपाले जित हासिल गरेर देवको नेतृत्वको सरकार बनाएको थियो । भाजपाको यो पहिलो जित थियो । देवकै नेतृत्वमा भाजपाले करिब पच्चीस वर्षदेखि सरकारको नेतृत्व गर्दै आएको भारतीय कम्युतिष्ट पार्टी (मार्क्सवादी) लाई आश्चर्यजनक रुपमा पराजित गरेको थियो । भाजपाको उक्त जितलाई पार्टीको उत्तरपूर्वी राज्यमा प्रभाव विस्तारका हिसाबले ठूलो सफलताका रुपमा विश्लेषण गरिएको थियो ।

प्रकाशित : फाल्गुन ४, २०७७ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?