कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जयसिंह चुमी : जसलाई लखन थापासँगै फाँसी दिइएको थियो 

हरिराम उप्रेती

गोरखा — जनस्तरबाट राणा शासनविरुद्ध पहिलो विद्रोह गर्ने लखन थापाको किल्लामा आइतबार उनकै १४४ औँ स्मृति दिवस मनाइयो । सहिद लखन गाउँपालिका–७ काहुले भङ्गारमा १९३३ फागुन २ गते लखन थापासँगै जयसिंह चुमी मगरलाई पनि फाँसी दिइएको थियो । उनै सहिद लखन थापाको सम्झनामा गाउँपालिकाको नामकरण भएको छ ।

जयसिंह चुमी : जसलाई लखन थापासँगै फाँसी दिइएको थियो 

आइतबार सहिद लखन गाउँपालिकाले गाउँपालिकामा सार्वजनिक बिदा दिएको थियो । गाउँपालिकाले जारी गरेको बिदाको सूचनामा जयसिंह चुमीलाई लखन थापाको सहयोद्धा भनी उल्लेख गरिएको छ ।

लखनसँगै मृत्युवरण गरेका चुमी भने गुमनामजस्तै छन् । लखन थापाको सहयोद्धा चुमीलाई सहिद घोषणा गर्नुपर्ने स्थानीयस्तरबाट माग हुँदै आएको छ । ‘सहिद लखनको जुन योगदान छ, चुमीको त्यही योगदान हो,’ स्थानीय रुलबहादुर आलेले भने, ‘चुमीलाई सहिद घोषणा गर्न पटकपटक नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका छौँ, लखनसँगै सहादत प्राप्त गर्ने चुमीलाई पनि स्थापित गर्नुपर्ने हाम्रो माग हो ।’ राणा शासन, पञ्चायत, संसदीय प्रजातन्त्र, २०६२/०६३ को आन्दोलन हुँदै मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश भएपछि २०७२ असोज ३ को तत्कालीन मन्त्रिपरिषद् वैठकले थापालाई नेपालकै पहिलो सहिद घोषणा गर्‍यो । २०५६ सालको मन्त्रिपरिषद् बैठकले थापालाई सहिद मात्र घोषणा गरेको थियो । लखन थापालाई पहिलो सहिद घोषणा गर्दा पनि चुमी मगरलाई सहिद घोषणाको माग गरिएको आलेले बताए ।

तत्कालीन गोरख गणमा कार्यरत लखन र चुमी १९२७ मा एक महिने बिदामा आएपछि पल्टनमा नफर्की युद्घ सुरु गरेको इतिहास छ । उनीहरुले काहुले भंगारमा किल्लाले घेरी दरबार बनाए । दरबार सम्हाल्ने जिम्मा उनै चुमीले पाए । राणा शासनविरुद्ध विद्रोह गरेको भन्दै फागुन २ गते एकैदिन किल्ला परिसरमा लखन र चुमीलाई मृत्युदण्ड दिइएको थियो । उनै चुमीका चौथो पुस्ता रत्नसिहं लखन थापालाई जस्तै सम्मान जयसिंलाई पनि दिनुपर्ने माग राख्छन् । ‘चुमीको काजक्रिया पनि भएको छैन, सहिद घोषणा भए चोख्याउने उपाय गर्थ्यौँ,’ उनले भने । प्रथम सहिदको संग्रहालय, थापाको विद्रोही किल्ला/दरबार रहेको ठाउँको पुरातात्विक उत्खनन प्रचार प्रसार गरी काहुले भंगारको पर्यटकीय स्थलको रुपमा परिचित गराउनुपर्ने स्थानीय बताउँछन् ।

नेपालकै राजनितिमा विद्रोही चेतना ल्याउने पहिलो योद्घा लखन थापाको इतिहासको खोजी पनि गरिएको छ । गाउँ कार्यपालिका वैठकबाट निर्णय गराएर फागुन २ गते सहिद लखन गाउँपालिकामा सार्वजनिक बिदा दिन थालिएको गाउँपालिका अध्यक्ष रमेश थापाले बताए । काहुले भंगारलाई पर्यटकीयस्थलको रुपमा परिचित गराउन संरचना निर्माणमा पनि जोड दिएको उनको भनाइ छ ।

स्मृति दिवसको अवसरमा आइतबार किल्ला परिसरमा पुनर्निर्माण गरिएको पोखरीको उ्दघाटन गरिएको छ । विद्रोही किल्लाभित्र खानेपानी व्यवस्थापन तथा किल्ला परिसरमा रहेको मन्दिरमा जल व्यवस्थापनका लागि तत्कालीन अवस्थामा पोखरी निर्माण भएको थियो । ‘किल्ला परिसरमै घुमाउने घर र आसपासका जग्गा अधिग्रहण गरी अन्य खेलकुद मैदानलगायतका अन्य संरचनाको पनि निर्माण गर्दैछौँ,’ उनले भने ।

प्रकाशित : फाल्गुन ३, २०७७ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?