शैलुङ विवाद : सीमा यकिन गर्न नापीलाई पत्र

टीकाप्रसाद भट्ट

रामेछाप — शैलुङ क्षेत्रलाई लिएर रामेछाप र दोलखाबीचको सीमा विवाद बारम्बार बल्झिएपछि दुवै जिल्लाका जिल्ला समन्वय समितिले उक्त क्षेत्रको सिमाना यकिन गरिदिन नापी विभागलाई आग्रह गरेका छन् ।

शैलुङ विवाद : सीमा यकिन गर्न नापीलाई पत्र

सोमबार जिसस दोलखाका प्रमुख डबलबहादुर पाण्डे र जिसस रामेछापकी उपप्रमुख दीपा पाख्रिनले संयुक्त रूपमा शैलुङ क्षेत्रको सिमानाबारे टुंगो लगाइदिन नापी विभागलाई पत्राचार गरेका हुन् ।

दुवै जिल्लाको पत्र बुझ्दै नापी विभागका निर्देशक टंक दाहालले सीमा समस्याप्रति विभाग संवेदनशील रहेको र चाँडै उक्त विषयलाई टुंगोमा पुर्‍याउन पहल गर्ने बताए । विगतमा हवाई दृश्यका आधारमा तयार भएको टोपोग्राफिक नक्साभन्दा दायाँबायाँ गर्ने ठाउँ नापी विभागलाई नभएको बताउँदै उनले उक्त नक्साबमोजिम सिमांकनका लागि समस्या नहुने बताए ।

दोलखा र रामेछाप जिल्लाको बीचमा रहेको पर्यटकीय क्षेत्र शैलुङलाई रामेछापको दोरम्बा र दोलखातर्फको शैलुङ तथा मेलुङ गाउँपालिकाले आआफ्नो दाबी गर्दै आएका छन् । रामेछापतर्फ पर्ने दोरम्बा गाउँपालिकाले शैलुङका अधिकांश भूमि नापी नक्सामा आफ्नो रहेको दाबी गर्दै आएको छ भने दोलखाको शैलुङले पानीढलो सीमा कायम गरी उक्त क्षेत्र आफ्नो भएको दाबी छोडेको छैन । केही क्षेत्र मेलुङ गाउँपालिकामा समेत पर्ने दाबी उक्त पालिकाको छ ।

शैलुङ कसको भन्ने विवाद निरूपण नगर्दा त्यस क्षेत्रको पूर्वाधार निर्माण गर्ने कार्य प्रभावित भएको पूर्वसांसद देवशंकर पौडेलले बताए । आधिकारिकताको टुंगो लागेपछि आआफ्नो योजनाअनुसार लगानी गरेर पर्यटक आकर्षित गर्ने योजना बनाउन सकिने उनको भनाइ छ ।

सीमा विवाद हुँदा शैलुङमा कुन पालिकाले लगानी गर्ने भन्ने विषय अन्योलमा रहेको र लगानी गर्दा पनि अर्को पक्षले क्षति पुर्‍याउने कार्य गरेकाले समस्याको तत्काल निरूपण गर्नुपर्ने जिसस रामेछापका प्रमुख प्रेमबहादुर खड्काले बताए । उनका अनुसार नापी नक्साबमोजिम सिमांकनलाई आधार बनाएर जाँदा दुवै पक्ष सहमत हुनैपर्ने अवस्था आउने र विवाद टुंगिने हुँदा नापी विभागले टोली पठाउन आग्रह गरिएको हो ।

विभागका निर्देशक दाहालले स्थानीय सरकार गठनपश्चात् शैलुङ मात्र नभई देशका धेरै स्थानमा सीमा विवाद उत्पन्न भएको र त्यसलाई निरूपण गर्न नापी विभागले रणनीति नै तयार गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘हाम्रो परम्परागत नापी जग्गा कित्तामा आधारित रहेकाले जनशक्ति त्यसतर्फ मात्र परिचालन हुँदै आएको छ,’ उनले भने, ‘दुई जिल्ला र देशको सीमाका लागि टोपो नक्सालाई आधार मानेर काम गर्नुपर्ने हुन्छ ।’

प्राकृतिक दृष्टिले महत्त्वपूर्ण शैलुङलाई आफ्नो बनाएर आयआर्जन गर्ने लक्ष्य दुवै पालिकाको छ । ३ हजार १ सय ४७ मिटर अग्लो उच्च पहाडी थुम्काबाट मनोरम हिमाली शृंखला अवलोकन गर्न सकिन्छ । हिउँ खेल्न, लालीगुराँस र चिमालको फूलसँग लुकामारी गर्न, चौंरी, घोडा र भेडाको बथानसँग रमाउन लागि आन्तरिक पर्यटक शैलुङ पुग्ने गरेका छन् ।

प्रकाशित : फाल्गुन ३, २०७७ २१:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?