१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

जेलबाटै लागूऔषध कारोबारको सेटिङ

अन्तर्राष्ट्रिय बजारमा गिरोहले आइस ड्रग प्रतिग्राम ८० देखि १ सय अमेरिकी डलरसम्म हालेर किन्छन् । यो लागूऔषध बर्मा, लाओस, थाइल्यान्डलगायत देशबाट भारत हुँदै नेपाल भित्रिने गरेको छ ।
मातृका दाहाल

काठमाडौँ — केन्द्रीय कारागारमा रहेका एक भारतीय नागरिकले जेलबाटै प्रतिबन्धित लागूऔषध एम्फेटामाइन (आइस ड्रग) कारोबारको सेटिङ मिलाउने गरेको खुलेको छ । पुर्पक्षका क्रममा रहेका भारतीय नागरिक शेखशमशेर आलमले गोरखाको अजिरकोट–२ घर भई काठमाडौं बस्दै आएका ३८ वर्षीय चिजकुमार गुरुङमार्फत नेपालबाट युरोपमा आइस ड्रग पठाउने गरेको तथ्य खुलेको हो ।

जेलबाटै लागूऔषध कारोबारको सेटिङ

गैरकानुनी बाटो हुँदै अफगानिस्तान, इरान, इराकलगायत एसियाका द्वन्द्वग्रस्त मुलुक जान भरपुर प्रयास गरेर पनि असफल भएका चिजकुमारलाई रेणु सारूमगरले आलमसँग भेट गराइदिएकी थिइन् । ठगी अभियोगमा काठमाडौं जिल्ला अदालतको आदेशमा आलम मंसिर २८ देखि पुर्पक्षका क्रममा केन्द्रीय कारागारमा छन् । ठगी अभियोगमै ३ लाख धरौटी बुझाउन नसकेपछि रेणु पनि केन्द्रीय कारागारमै छिन् ।

रेणुले विदेश पठाइदिने भन्दै चिजकुमारसँग रकम असुलेकी थिइन् । आफूले दिएको पैसा फिर्ता दिन वा विदेश पठाउन चिजकुमारले उनलाई दबाब दिइरहेका थिए । चिजकुमारबाट लिएको रकम रेणुले भारतीय नागरिक आलमलाई दिएको बताएकी छन् । पैसा फिर्ता गर्नुको सट्टा रेणु र आलमले चिजकुमारलाई आइस ड्रग कारोबारबाट पैसा कमाउने जुक्ति सुझाए र त्यसमा आफू लाग्ने योजना सुनाए । आलमले अन्तर्राष्ट्रिय कारोबारीसँग सेटिङ मिलाउने, रेणु र चिजकुमारले एक ठाउँबाट अर्को ठाउँमा ओसारपसारमा सघाउने, पार्सल गर्ने वा गन्तव्य मुलुकबाट आएका गिरोहसम्म आइस ड्रग पुर्‍याइदिनेसम्मका योजना बुनिए । यसमा तीनै जनाको सहमति बन्यो तर यही बीचमा रेणु र आलम ठगी कसुरमा पक्राउ परे र अदालतको आदेशमा जेलसम्म पुगे ।

चिजकुमारले भने आलमकै योजनामा काम गर्न थाले । यसको सुइँको पाएपछि प्रहरीले अनुसन्धान गर्ने क्रममा चिजकुमार गएको माघ २५ गते २ सय २२ ग्राम आइस ड्रगसहित टोखाबाट पक्राउ परे । आइस ड्रग महँगो प्रतिबन्धित लागूऔषध हो । लागूऔषध नियन्त्रण ब्युरोका एसएसपी दिलीपकुमार चौधरीका अनुसार अन्तर्राष्ट्रिय बजारमा गिरोहले आइस ड्रग प्रतिग्राम ८० देखि १ सय अमेरिकी डलरसम्म हालेर किन्छन् । यो लागूऔषध बर्मा, लाओस, थाइल्यान्डलगायत देशबाट भारत हुँदै नेपाल भित्रिने गरेको छ । जेलमा रहेका आलमले तेस्रो मुलुकबाट भारत हुँदै नेपालसम्म यो लागूऔषध ल्याएर चिजकुमार र रेणुलाई भरियाका रूपमा प्रयोग गरी हवाईमार्गबाट विदेश पठाउने गरेको आशंका प्रहरीको छ ।

‘आइस ड्रग विश्वमै महँगो लागूपदार्थ मानिन्छ, अझ नेपाललगायत आयस्रोत कम भएका देश यसको बजार हुँदै होइनन्, केही धनाढ्यले तस्करमार्फत झिकाएर सेवन गरेको हुन सक्छ,’ एसएसपी चौधरीले कान्तिपुरसँग भने, ‘काठमाडौंबाट पक्राउ परेका चिजकुमार पनि भरिया हुन सक्छन्, त्यसको योजना र मुख्य कारोबार आलममार्फत नै हुन सक्छ, यस विषयमा अनुसन्धान सुरु गरेका छौं ।’ चिजकुमारबाट रकम असुलेर तिर्न नसकेपछि दबाबमा परेका आलम र रेणु दुवैले लागूऔषध कारोबारको पोल खोलिदिएको पनि हुन सक्छ तर प्रहरी अधिकारी यो विषयमा बोल्न चाहेनन् । आइस ड्रग थकान हुन नदिन, मानिसलाई उत्तेजित पार्न, डर, त्रास भगाउन अनि उत्साहित बनाउन धूवाँका रूपमा सेवन गर्ने गरेको पाइन्छ । अझ युद्धमा लडाइँ गर्दा विद्रोही पक्षले गुरिल्ला तथा छापामारलाई सरकारी फौजसँग भिड्न पठाउनुअघि आइस ड्रगलगायतका लागूपदार्थ सेवन गराउने गरेको बताइन्छ ।

यो सेवन गरेपछि फौजलाई लडाइँ लड्न उत्साह जाग्ने, आकाशमा उडेजस्तो अनुभूति हुने, थकान नलाग्नेलगायत गुण देखा पर्ने लागूऔषध कारोबारविरुद्धको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीको भनाइ छ । एसएसपी चौधरीले विदेशमा पठाउनेबाहेक नाइट क्लबमा पनि यसको खपत हुन सक्ने आशंकामा अनुसन्धान थालिएको बताए । ‘दोहोरी साँझ, नाइट क्लब, रेस्टुराँलगायतमा लगातार नाचगान गर्नेलाई यो सेवन गराउन पनि सक्छन्, यस विषयमा सूक्ष्म अनुसन्धान थालेका छौं,’ उनले भने, ‘यद्यपि बरामद आइसको धेरै हिस्सा युरोपलगायत मुलुकमा पठाउने गरी योजना हुँदाहुँदै नियन्त्रणमा लिन सफल भयौं ।’ प्रहरीले चिजकुमारको कोठाबाट डिजिटल तराजुसमेत बरामद गरेका कारण उनी पेसेवर कारोबारी भएको प्रहरीको दाबी छ । यसअघि प्रहरीले आव २०७५/०७६ मा १ केजी ३ सय २४ ग्राम, गत आवमा ६ केजी ४ सय ८३ ग्राम र चालु आव २०७७/०७८ पुससम्म ५ सय ३१ ग्राम आइसड्रग बरामद गरेको थियो । अधिकांश यो लागूपदार्थ भारतका विभिन्न नाका हुँदै नेपाल भित्रिएको थियो ।

प्रकाशित : फाल्गुन ३, २०७७ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?