३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नेकपा ओली समूहको आयोजनामा बुटवलमा पूर्वजनमुक्ति सेनाको ‘राष्ट्रिय भेला’

अमृता अनमोल

बुटवल — जनयुद्ध दिवसका अवसरमा पूर्वजनमुक्ति सेनाले बुटवलमा ‘राष्ट्रिय भेला’ आयोजना गरेको छ । केपी शर्मा ओली नेतृत्वको नेकपाका नेताहरुको उपस्थितिमा पूर्वजनमुक्ति सेनाको भेला आयोजना भएको हो । भेलामा ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग तथा आपूर्तिमन्त्री लेखराज भट्ट, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल उपस्थित थिए ।

नेकपा ओली समूहको आयोजनामा बुटवलमा पूर्वजनमुक्ति सेनाको ‘राष्ट्रिय भेला’

भेलामा सहभागी पूर्वजनमुक्ति सेनाले जनयुद्धको बलमा व्यवस्था परिवर्तन भए पनि आफूहरुको अवस्था परिवर्तन नभएको गुनासो गरेका छन् । मुलुकमा गणतन्त्र ल्याउन ज्यानको बाजी लगाएर लडेका योद्धाहरु अहिले गणतन्त्रमै गास, बास र कपासका लागि भौँतारिरहेको उनीहरुले दुखेसो पोखे । उनीहरुले सम्मानित ढङ्गले बाँच्ने वातावरण बनाइदिन सरकारसँग माग पनि गरे ।

जनमुक्ति सेनालाई हेर्ने दृष्टिकोण अहिले पनि सकारात्मक नरहेको बताउँदै उनीहरुले पूर्वजनसेनाको इतिहासलाई जोगाउँदै हेर्ने दृष्टिकोण फेर्न र वर्तमानमा बाच्ने आधार तयार गरिदिन उनीहरुले सरोकारवालाहरुसम्ग आग्रह गरे । त्यसका लागि सरकारले घोषणा गरेको राहत प्याकेज तत्काल कार्यान्वयन गर्न उनीहरुको माग छ । गणतन्त्रका लागि लडेका सेनालाई अपमानजनक तरिकाले बिदा गरेको जनाउँदै उनीहरुले अब सरकारले गरेका सहमति कार्यान्वयन नहुँदासम्म कुनै दललाई समर्थन गर्न नसकिने बताए ।

पूर्व जनमुक्ति सेनाका पाँचौ डिभिजन भाइस कमाण्डर सन्तोष चौधरीले आफूहरु पटक–पटक लुटिएको र ठगिएको बताउँदै सरकारले गरेका सहमति तत्काल पूरा गर्नुपर्ने बताए । ‘हामी जनताको स्वार्थका लागि लड्यौँ । आज नेताहरु आफ्नो स्वार्थ र पदको लालचमा लडेका छन्,’ उनले भने, ‘लड्दा घाउ लिएका हामी कहिले घाउ दुखेर रोयौं । कहिले गासबास र कपास नपाएर रोयौं । हाम्रा लागि कोही बोलेन ।’

लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै भेलामा सहभागी भएका टेकबहादुर बोगटीले देशको परिवर्तनका लागि लडेका योद्धाहरु अहिले रोजगारीका लागि सडकमा भौँतारिरहेको बताए । उनले तत्काल युद्धको घाइते शरीर बोकेर हिँडिरहेका पूर्वजनमुक्ति सेनाको निःशुल्क उपचार, अयोग्य ठहरिएकालाई पनि राहतको व्यवस्था गर्न र सहिद परिवारको व्यवस्थापन गर्न आग्रह गरे । ‘जो व्यवस्था परिवर्तनका लागि शिक्षा दिक्ष, सुख, सुविधा सारा स्वार्थ छोडेर लाग्यौं,’ उनले भने, ‘व्यवस्था परिवर्तनपछि आयातित व्यक्ति नेता बने । रक्षक बने । हाम्रै पाटीमा हाम्रो सोधीखोजी गर्ने फुर्सद भएन । यसलाई सच्चाउनुपर्छ ।’

बुटवलमा शनिबार आयोजित पूर्वमाओवादी जनमुक्ति सेनाको राष्ट्रिय भेलाका सहभागी । तस्बिर : अमृता अनमोल/कान्तिपुर

कर्णाली प्रदेशका प्रेमराज उपाध्यायले जनयुद्धमा लड्नेहरुको नेतृत्व तहले सधै उपेक्षा गरेको बताए । नेताहरु गणतन्त्रको संरक्षण, व्यवस्था परिवर्तनमा लड्नेको सम्मान र सहयोगका लागि नभई आफ्नो स्वार्थका लागि सडकमा गएकाले उनीहरुको पक्षधर बन्न नसक्ने उनले दाबी गरे । ‘पटक पटक हाम्रा नेता सरकारमा जानुभयो । तर जनयुद्धमा लड्ने सहिद परिवार, बेपत्ता परिवार, घाइते परिवारको पीडा र छटपटीलाई बुझेर राहत प्याकेज ल्याउनुभएन,’ उनले भने, ‘त्यस्तालाई हामले होइन इतिहासले सराप्ने छ ।’ उनले जनयुत्तका योद्धा र प्रभावितलाई राहत नदिदासम्म शान्तिप्रक्रिया पूरा नहुने बताए ।

पूर्व जनमुक्ति सेनाका तर्फबाट कैलालीकी राजमती अधिकारीले राज्यले जनमुक्ति सेनाको परिवारलाई निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर्न माग गरिन् । ‘हाम्रो शिक्षादिक्षा, किशोर अवस्था, युवाअवस्था र उर्भर समय लडाइँमा बित्यो,’ उनले भनिन् ,‘अब राज्यले नहेरे हामलाई कसले हेर्ला ?’ नेताहरु पद र प्रतिष्ठाका लागि नभई गणतन्त्रको मर्म र घाइतेको घाउमा मलम लगाउन लड्नुपर्ने उनको सुझाव छ ।

जुम्लाका प्रेम राज गिरीले पटक–पटक सहमति गर्ने तर पालना नभएपछि धोका खाँदै आएकाले राहत प्याकेज दिने सरकारको निर्णय तुरुन्त कार्यान्वयन गर्न आग्रह गरे । ‘सबैभन्दा पहिले सरकारले घोषणा गरेका राहत प्याकेज दिनुस् । त्यसपछि साँच्चिकै देशको समृद्धि र विकास चाहने हो भने यो निर्णय कार्यान्वयन गरेर आउनुस् हामी सरकारलाई साथ दिन तयार छौँ,’ उनले भने ।

‘राष्ट्रिय भेला’मा लुम्बिनी कर्णाली र सुदुरपश्चिमका करिब ५ सय पूर्व जनमुक्ति सेना भेला भएका थिए । उनीहरुले जनमुक्ति सेना ३० हजारको हाराहारीमा भए पनि १९ हजार मात्रै क्यान्टोन्मेन्टमा बसेर अन्यले पार्टीलाई सहयोग गर्दै वाईसीएललगायतका संरचनामा बसेको बताए ।

प्रकाशित : फाल्गुन १, २०७७ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?