कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

बिहारमा नेपाली किशोरीको बलात्कारपछि हत्या : उजुरी दर्ताको ९ दिनपछि मात्रै प्रहरी घटनास्थलमा

घटनाको ढाकछोप गर्न सघाएको भन्दै चौकी प्रमुख निलम्बित
कमल पन्थी

बर्दिया — भारतको बिहार राज्यको पश्चिम चम्मारण जिल्लाको चैनपुर कुण्डवामा एफआईआर दर्ता भएको नौ दिनपछि मात्रै प्रहरी घटनास्थल पुगेका छन् । बारबर्दिया—३ खुरखुरे फॉटाकी १२ वर्षीया सुमित्रा विकको  गत जनवरी २१ मा सामूहिक बलात्कार पछि हत्या गरी जलाइएको थियो । 

बिहारमा नेपाली किशोरीको बलात्कारपछि हत्या : उजुरी दर्ताको ९ दिनपछि मात्रै प्रहरी घटनास्थलमा

बलात्कारपछि हत्या गरिएको भन्दै फेब्रुअरी २ मा चैनपुर कुण्डवा थानामा एफआईआर दर्ता भएको थियो । आरोपी भनिएका सीताराम साहको घर पुगेर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

सुमित्राको हत्या गरिएको डेरा र जलाइएको ठाउ‘को डीएसपी शिवेन्द्रकुमार अनुभवीका साथ दर्जन बढी प्रहरी अधिकारीले अनुसन्धान गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । घटनास्थलदेखि ६ सय मिटर दूरीमा प्रहरी थाना रहेको छ ।

सुमित्राका दाजुले बहिनी मृत अवस्थामा फेला पारेका कारण छोरालाई प्रहरीले घटनास्थल पुऱ्याएर सॉझ डेरामा छाडेको आमा कृष्णीले बताइन् । छोरासँग घटनाबारे प्रहरीले सोधपुछ गरेको उनले सुनाइन् । भारतीय दण्ड सजाय १४९/३४२/४५०/३७६ (डि,बी),१२०(बी)३०२/२०१ अनुसार एफआईआर मुद्दा दर्ता गरिएको छ । घटनामा संलग्न घरबेटी सीताराम साह र उनका छोरा विनय पक्राउ परिसकेका छन् । बलात्कार,हत्या र सुमित्रालाई जलाएको घटनामा संलग्न भएका भनिएका ९ जना हालसम्म फेला परेका छैनन् ।

११ जना अभियुक्तमध्ये ४ जनामाथि बालिकामाथि दुष्कर्म र हत्याको अभियोग छ । विनय साह, दीपक साह, रमेश साह र देवेन्द्र साहविरुद्ध दुष्कर्म र हत्याको अभियोगमा मुद्दा दर्ता भएको थियो । घरबेटी सीतारामसहित ७ जनाविरुद्ध लास जलाएको अभियोग लागेको छ ।

मानवअधिकारकर्मी मोहना अन्सारीले घटनाका सम्बन्धमा भारतस्थित नेपाली राजदुतावासले पहल गर्नुपर्ने बताइन् । घटनाका बारेमा नेपाल सरकारले भारतसँग समन्वय गरेर पीडित परिवारलाई न्याय र दोषीमाथि कडा कारबाही गर्न पहल गर्नु पर्ने उनको भनाइ छ । जिल्लास्थित नागरिक समाज सञ्जाल, गैरसरकारी संघ संस्था यसबारे कुनै चासो नदिएको सुमित्राका भिनाजु नवलसिंह विकले गुनासो पोखे ।

घटना ढाकछोप गर्न सहयोग पुर्‍याएको अभियोगमा कुण्डुवा चौकीका थानाध्यक्ष सञ्जीवकुमार रञ्जनलाई निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाएको सुमित्राका भिनाजु नवलले बताए । अन्य अभियुक्तलाई पक्राउ गर्न अनुमण्डल प्रहरी पदाधिकारी सिकहरनाको नेतृत्वमा एसआईटी गठन गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । जिल्ला प्रशासन र प्रहरी कार्यालय,बर्दियामा पीडित परिवारले दोषीमाथि कडा कारबाही र न्याय दिलाउन पहल गरिदिन निवेदन दिएको प्रहरी नायब उपरीक्षक हेम शाहीले बताए ।

प्रकाशित : फाल्गुन १, २०७७ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?