कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

भट्ट हत्याका दोषीलाई कारबाही गर्न महिला आयोगको माग

काठमाडौँ — राष्ट्रिय महिला आयोगले बैतडीकी भागरथी भट्टको हत्याको घटनामा सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई अपिल गरेको छ । आयोगकी सदस्य कृष्णकुमारी खतिवडा नेतृत्वमा घटनास्थल पुगेको टोलीले राज्यका तर्फबाट तत्काल अध्ययन अनुसन्धान सुरु भएको पाइएको बताइएको छ ।

भट्ट हत्याका दोषीलाई कारबाही गर्न महिला आयोगको माग

अनुसन्धानमा खटिएका अधिकारी संवेदनशील भएर काम गरिरहेको टोलीले बताएको छ । आयोगले पीडितको परिवारको संरक्षणमा भने ध्यान दिन अनुरोध गरेको छ ।

आयोगकी अध्यक्ष कमला पराजुलीले सो घटनाका अपराधी पत्ता नलाग्ने नहोस् भनेर आयोग क्रियाशील भएर लागेको बताइन् । घटना बाहिर आउनासाथ गृहमन्त्री रामबहादुर थापासँग गम्भीर छलफल भएको उनले बताइन् । घटनाबारे बुझ्नका लागि नै टोली पठाइएको उनको भनाइ छ । केन्द्रमा रहेको आयोग कसरी तलसम्म पुग्न सक्छ भनी छलफल भइरहेको उनले बताइन् ।

आयोगकी सदस्य खतिवडाले आफू घटनास्थल पुग्दा त्यहाँको प्रहरी दिन र राति नभनी निरन्तर अनुसन्धानमा लागिपरेको पाइएको जानकारी दिइन् । केन्द्रीय अनुसन्धान ब्युरोको टोली र बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको नेतृत्वमा अनुसन्धान अघि बढिरहेकाले छिट्टै पीडक कानुनको दायरामा आउने उनको विश्वास थियो ।

पीडितको बुबा भर्खरै बितेको र दाजु वैदेशिक रोजगारीमा भारत गएको र अहिले पनि आमा बिक्षिप्त भएको पाइएको टोलीले जनाएको छ । पीडित परिवारको सुरक्षा, संरक्षण र क्षतिपूर्ति दिनसमेत आयोगले सरकारसँग अपिल गरेको छ ।

प्रकाशित : माघ ३०, २०७७ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?