कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

जग्गा महानगरकै नाममा कायम गर्न फैसला

वीरगन्ज महानगरपालिकाको स्वामित्वमा रहेको एक कट्ठा जग्गा बिक्री वा हक–हस्तान्तरणबिनै व्यक्तिका नाममा दर्ता गरिएको थियो
भूषण यादव

वीरगन्ज — किर्ते जालसाजी गरी व्यक्तिका नाममा दर्ता गरिएको जग्गा वीरगन्ज महानगरपालिकाकै नाममा दर्ता कायम गर्न पर्सा जिल्ला अदालतले फैसला गरेको छ । वीरगन्ज महानगरपालिकाको स्वामित्वमा रहेको आदर्शनगरस्थित एक कट्ठा जग्गा बिक्री वा हक–हस्तान्तरणबिनै व्यक्तिका नाममा दर्ता भएको पाइएपछि महानगरले २०७५ असार ३ मा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

जग्गा महानगरकै नाममा कायम गर्न फैसला

अदालतका स्रेस्तेदार कृष्णप्रसाद अधिकारीका अनुसार बुधबार न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले व्यक्तिका नाममा दर्ता भएको वीरगन्ज महानगरपालिका–१० को साबिक कित्ता नं ८१७ को (हाल नापीमा कायम भएको कित्ता नं १८ र ५३) जग्गा वीरगन्ज महानगरपालिका कार्यालयका नाममा दर्ता कायम गर्ने फैसला गरेको हो । उक्त जग्गाको हाल बजारमूल्य ८ करोड रुपैयाँ छ । जालसाजी गरी व्यक्तिका नाममा गइसकेको जग्गा खोजबिन गरी दर्ता गरिएको मुद्दामा अदालतले महानगरवासीका पक्षमा गरेको फैसला स्वागतयोग्य रहेको मेयर विजयकुमार सरावगीले बताए । कानुनी प्रक्रिया पूरा गरेर बाँकी जग्गा पनि महानगरकै स्वामित्वमा ल्याउने उनको भनाइ छ । स्थानीय तहमा जनप्रतिनिधि नहुँदा भूमाफियाले चलखेल गरी महानगर क्षेत्रभित्रका कम्तीमा २१ वटा प्लट व्यक्तिका नाममा दर्ता गराएका थिए ।

जालसाजीको जालो

वीरगन्ज महानगरपालिकाको आदर्शनगर क्षेत्रबाहेक अन्यत्र व्यवस्थित बसोबास छैन । २०२० सालमा आदर्शनगरमा सहरी योजना सुरु भएको थियो । त्यसबेला सरकारले वीरगन्ज नगरमा बस्ती विकासका लागि आदर्शनगर निर्माणका लागि राजपत्रमा सूचना प्रकाशित गरेको थियो । अधिग्रहणबाट प्राप्त जग्गा प्लटिङ गरी वितरण गर्ने जिम्मा सोही बेला पशुपति आदर्शनगर निर्माण समितिलाई दिइएको थियो । समितिले त्यसरी प्राप्त गरेको प्लट वितरण गरी बाँकी केही प्लट तत्कालीन वीरगन्ज नगर पञ्चायतलाई हस्तान्तरण गरेको थियो । बिक्री नभएका प्लटको स्वामित्व वीरगन्ज नगरपञ्चायत हुँदै वीरगन्ज उपहानगर र हाल वीरगन्ज महानगरपालिकाका नाममा कायम भएको हो ।

महानगरपालिकाका अनुसार जीपी कोइराला फाउन्डेसन कार्यालय भवन निर्माण भएको जग्गा पनि पशुपति आदर्शनगर निर्माण समितिअन्तर्गतकै हो । ०७४ चैत १० मा वीरगन्जको आदर्शनगर क्षेत्रमा महानगर स्वामित्वको कित्ता नं. ८१७ को एक कट्ठा जग्गामा माटो पुर्ने काम सुरु भएपछि जालसाजीको खुलासा भएको थियो । वीरगन्ज–३ छपकैया निवासी नजमा बेगमले माटो भर्न लगाएकी थिइन् । उनका श्रीमान् कांग्रेस नेता हुन् । महानगरले मालपोत कार्यालयमा बुझ्दा बेगमले उक्त जग्गा अरुणकुमार अग्रवालसँग ०७४ मंसिर ११ मा खरिद गरेकी थिइन् । अग्रवालले ०७४ मंसिर ८ गते हाल साबिक गराएको उक्त जग्गा महानगरपालिकाले बिक्री नै गरेको छैन । महानगरपालिकाले मालपोतलाई तिरो तिर्दै आएको छ ।

मालपोत कार्यालयको जग्गाधनीको लगतबाट समेत उक्त कित्ता नं. ८१७ को वास्तविक धनी वीरगन्ज महानगरपालिका नै रहेको प्रस्ट देखिन्छ । यसअघि पनि अरुण अग्रवालले ०६१ सालमा उक्त जग्गा आफ्नो भन्दै तत्कालीन नगरपालिकाको नक्कली छाप र हस्ताक्षर प्रयोग गरी किर्ते प्रमाण खडा गरी जग्गा नामसारी गराएका थिए । नगरपालिकाले ०६१ चैत १९ मा कानुनी कारबाहीको माग राख्दै लिखत बदर गर्न मालपोतलाई पत्राचार गरेको थियो । कारबाहीको भयले अग्रवाल आफंै मालपोतमा उपस्थित भई उक्त जग्गा मेरो नाउँबाट बदर गरी नगरपालिकाका नाउँमा कायम गरिदिनु भन्दै ०६१ चैत २४ मा निवेदन दिएका थिए ।

त्यसको चार वर्षपछि फेरि भूमाफियाले उक्त जग्गा नामसारी गराउन खोजेको नगरपालिकाले थाहा पाएपछि ०६५ पुस ३ मा मालपोतलाई पत्र लेखी नगरपालिकाका नाममा दर्ता रहेको जग्गा नगरपालिकाबाट फुकुवा पत्र नआएसम्म रोक्का राख्न आग्रह गरेको थियो तर नगरपालिकाकै कर्मचारी, वडासचिव, नापी सर्वेक्षकको मिलेमतोमा उक्त जग्गा व्यक्तिका नाममा नामसारी भएको थियो । साबिक पशुपति आदर्शनगर निर्माण समितिबाट हस्तान्तरण भई वीरगन्ज महानगरको स्वामित्वमा आएको उक्त कित्ता नं ८१७ को नयाँ नापीमा कित्ता नं १८ र ५३ कायम छ ।

जग्गा कब्जा गर्न फाउन्डेसनको कार्यालय

मुद्दा विचाराधीन अवस्थामा हुँदाहुँदै कित्ता नं. ८१७ को उक्त जग्गामा दुई वर्षअघि धमाधम भवन निर्माण गरी पूर्वप्रधानमन्त्री तथा पूर्वकांग्रेस सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाका नाममा जीपी कोइराला फाउन्डेसनको कार्यालय स्थापना गरिएको थियो । फाउन्डेसनका जिल्ला अध्यक्ष मोहम्मद सहाबुदिन जग्गाधनीका श्रीमान् हुन् ।

०७५ फागुन ४ मा कांग्रेस महानमन्त्री शशांक कोइराला, शेखर कोइराला र फाउन्डेसनकी केन्द्रीय अध्यक्ष सुजाता कोइरालाको प्रमुख आतिथ्यमा कार्यालय उद्घाटन तथा गिरिजाप्रसाद कोइरालामा आधारित फोटो प्रदर्शनी आयोजना गरिएको थियो । उक्त जग्गा महानगरपालिकाको स्वामित्वमा रहेकाले महानगरको स्वीकृतिबेगर कुनै प्रकारको उपयोग गर्ने अधिकार संघसंस्था एवं व्यक्तिलाई नहुने जानकारी गराउँदै उक्त जग्गामा कार्यक्रम नगर्न समेत पत्राचार गरिएको थियो ।

प्रकाशित : माघ २९, २०७७ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?