कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

राज्यविरुद्धको कसुरको आरोपमा झाँक्री पक्राउ

काठमाडौँ — नेकपाको दाहाल–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीबार उनलाई शंखमूलस्थित निवासबाटै पक्राउ गरेको हो ।

राज्यविरुद्धको कसुरको आरोपमा झाँक्री पक्राउ

यसअघि उनलाई महानगरीय प्रहरीले सोधपुछका लागि बोलाएको थियो । लगत्तै सादा पोसाकका प्रहरी शंखमूल पुगेका थिए । झाँक्रीले उनीहरूलाई पहिले पक्राउ पुर्जी लिएर आउन भनेकी थिइन् । प्रहरीले पक्राउ पुर्जी लगेपछि उनले गिरफ्तारी दिएकी हुन् । झाँक्रीलाई महानगरीय अपराध महाशाखा, मीनभवनमा राखिएको छ ।

पुर्जीमा राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५८ अनुसार पक्राउ गरिएको उल्लेख छ । उक्त दफामा राष्ट्रपति वा संसद्लाई धम्की दिन नहुने उल्लेख छ । कसुर प्रमाणित भए कसुर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद, ७० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख छ ।

यस्ताे छ कानुनी व्यवस्था

निवासमै पत्रकार सम्मेलन गर्दै झाँक्रीले भनिन्, 'राज्यले नागरिकलाई बिनाकारण पनि २४ घण्टा थुन्न सक्छ । यो राजनीतिक कारण भएकाले पक्राउ पुर्जी लिएर आउनुहुन्छ भने मैले गिरफ्तारी दिनुपर्छ ।' नेत्री झाँक्रीले आफूलाई एसएसपी दीपक थापाले फोन गरेर महाशाखामा उपस्थित हुन भनेपछि उनलाई राजनीतिक मुद्दा भएको भनी जवाफ दिएको सुनाइन् ।

झाँक्रीले सरकारको यो कदम अभिव्यक्ति स्वतन्त्रतामाथिको बन्देज भएको बताइन् । उनले भनिन्, 'अहिले मलाई गर्न खोजिएको ह्यारेसमेन्ट होला । किनभने तानाशाहहरू ढल्‍ने बेलामा अनेक जुक्ति लगाउँछन् ।'

गोरखामा केही दिनअघि आयोजित कार्यक्रममा झाँक्रीले कानुनले वर्जित गरेको अभिव्यक्ति दिएका कारण सोधपुछका लागि पक्राउ गरिएको प्रहरीले बताएको छ । झाँक्रीलाई पक्राउ गर्न लागिएपछि उनको निवासमा भेला भएका नेकपा दाहाल–नेपाल समूहका कार्यकर्ताले विरोध जनाएका थिए । उनीहरूले सरकार र प्रहरीविरुद्ध नाराबाजी गरेका थिए ।


प्रकाशित : माघ २९, २०७७ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?