कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

गैंडा मारेको अभियोगमा १४ जना पक्राउ, १६ फरार

रमेशकुमार पौडेल

चितवन — दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा मार्न सुरु गर्ने गिरोहका महत्वपूर्ण सदस्यहरु पक्राउ परेको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।

गैंडा मारेको अभियोगमा १४ जना पक्राउ, १६ फरार

निकुञ्जको मुख्य कार्यालय कसरामा बुधबार भएको पत्रकार सम्मेलनमा निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले गैंडा मारेको आरोपमा विभिन्न मितिमा १४ जना पक्राउ परेको जानकारी दिए । सो घटनामा संलग्न भएको आशंका गरेका १६ जना फरार छन् ।

गएको भदौ १६ र १८ गते निकुञ्जको पश्चिम क्षेत्र आइल्याण्डमा गोली पड्कोको आवाज आएको थियो । निकुञ्जको टोली र नेपाली सेनाले खोजतलास गर्दा भदौ २१ मा एउटा गैंडा मृत भेटिएको थियो । सो गैंडालाई चोरी सिकारीले मारेको प्रष्ट भए पनि खाग भने सुरक्षित नै थियो । त्यसपछि कात्तिक १९ मा निकुञ्जकै पश्चिम क्षेत्र मर्दी घोलमा गोली लागेर मरेका र खाग नभएका गैंडाका माउ बच्चा भेटिएका थिए ।

यो आर्थिक वर्षमा चितवन निकुञ्ज र यस आसपासको क्षेत्रमा २३ वटा गैंडा मृत फेला परेका छन् । जसमध्ये चारवटालाई सिकारीले मारेको पुष्टि भएको छ । गैंडा जोगाउन नसकेको आरोप खेप्दै आएको निकुञ्ज प्रशासनले चोरी सिकारीमा संलग्न मानिसहरु पनि समाउन सकेको थिएन । कात्तिक २७ गतेदेखि स्वीप अप्रेसन सुरु भएको र देशका विभिन्न भागबाट मानिसहरु पक्राउ परेको प्रमुख संरक्षण अधिकृत बरालले बताए ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पुस १३ गते नवलपुर कावासोती–७ लौगाईका पल्ला भन्ने शिवनारायण महतो पक्राउ परे । त्यही दिन चितवन भरतपुर महानगरपालिका–२८ स्यालबासका रणबहादुर भन्ने जितबहादुर कुमाल र उनकी श्रीमति इन्द्रमाया गिरफ्तार भए । उनीहरु नवलपुरको चोरमारा बसन्तपुरबाट समातिएका थिए । त्यसैगरी बाँके सोनारी–२ का हरिप्रसाद थारु र उनकी श्रीमती विष्णु पनि सोही दिन पक्राउ परे । उनीहरु नवलपुर गैंडाकोटको इँट्टाभट्टाबाट पक्राउ परेको अधिकारीले बताए । अनुसन्धानको क्रममा गैंडाकोट घर भएका काले र अशोक भनिने शुकबहादुर गुरुङ पक्राउ परे । उनी माघ ३ गते गोर्खा आरुघाटबाट पक्राउ परेका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थप आरोपितहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये केही व्यक्तिहरुले पटक पटक गैंडा मार्ने गरेकोसमेत खुलेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले बताए । माघ ६ गते सीआईबी र निकुञ्जको टोलीले लमजुङ बेंसिसहरका सोमबहादुर गुरुङलाई काठमाडौंमा पक्राउ गरेको थियो । माघ ७ गते चितवन माडी–९ का दुर्गा भुजेल सार्की महोत्तरी बर्दिबासमा पक्राउ परेका थिए ।

मकवानपुर वाग्मती गाउँपालिका–३ स्थायी ठेगना भई काठमाडौं गोकर्णेश्वर बस्ने नविन पौडेल भनिने मेखबहादुर नेपाली, मुगु घर भई काठमाडौं रामहिटी बस्ने नांगे तमाङ लामा र रामहिटीकै योन्जन भन्ने छिरिङ लामा पनि पक्राउ परेका छन् । तनहुँ आँबुखैरहनी–५ का हरिबहादुर मगर पनि पक्राउ परेको निकुञ्जले जनाएको छ । फरार व्यक्तिहरुको खोजी कार्य जारी रहेका निकुञ्जले जनाएको छ ।

पछिल्ला केही वर्षयता निकुञ्जमा चोरी सिकारीले गैंडा मार्ने कार्य ठप्प जस्तै भएका थियो । चितवन स्यालबासका रणबहादुर कुमाल र शक्तिखोरका वीरमानसिंह चेपाङले वैशाख जेठमा गैंडा मार्ने भनेर सल्लाह गर्दै हिँडेको भन्ने खुल्न आएको निकुञ्जले जनाएको छ । निकुञ्जले भदौमा गोली पड्केको आवाज आएको क्षेत्र मर्दी घोलमा कात्तिक १९ मा दुईवटा भरुवा बन्दुक पनि भेटाएपछि अनुसन्धान बढाएको थियो ।

गैंडा मारेमा १० लाख रुपैयाँसम्म जरिवना र १५ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ ।

प्रकाशित : माघ २८, २०७७ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?