लेबनानमा शान्ति सेनामा खटिएका नेपाली सेनाको श्री बर्द बहादुर गणको ६२ औं डफ्फाले कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि त्यहाँका जनतालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
सरकारले कोभिड–१९ को परीक्षणका लागि गरिने पीसीआर शुल्क समायोजन गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अबदेखि सरकारी प्रयोगशालामा पीसीआर शुल्क एक हजार रुपैयाँ लिने जानकारी दिए । यसअघि पीसीआर परीक्षण शुल्क रु दुई हजार लिने गरेको थियो ।
देशभर पछिल्लो २४ घण्टामा थप १३४ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ५६७ जनाको स्वास्थ्य परीक्षण गर्दा ६३ महिला र ७१ पुरुष गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
अध्यागमन विभागले विदेश भ्रमणसम्बन्धि कार्यविधिमा संशोधन गरि खाडी मुलुकमा पहिलोपटक भ्रमण गर्ने महिलालाई परिवारको सहमति वा वडाको सिफारिस अनिवार्य चाहिने प्रावधान राख्न सिफारिस गरेको छ ।
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश तहमा प्रहरी समायोजन छिट्टै टुंगिने बताएका छन् । संघीय सरकार मातहतको प्रहरी समायोजनमा ढिलाई भएको भए पनि केही समयभित्र प्रहरी समायोजन हुने बताएका हुन् ।
नेकपा अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीको धम्कीमा आएर निर्णय नगर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा बुधबार आयोजित विरोधसभामा सम्बोधन गर्दै दाहालले मंगलबार निर्वाचन आयोग पुगेर ओलीले धम्काएको समेत बताए ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले आगामी वैशाखका लागि सरकारले घोषणा गरेको चुनावले संविधान र लोकतन्त्रलाई ध्वंस पार्ने भएकोले आफूहरुको आन्दोलनले त्यसलाई खारेज गर्ने बताएका छन् ।
नेकपाको दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य रघुजी पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नबोल्ने पशुपतिनाथ गुहार्न भन्दा बोल्ने पशुपतिनाथलाई खुसी पार्न सुझाव दिएका छन् । बुधबार काठमाडौंमा आयोजित विरोध सभामा बोल्दै पन्तले ओलीलाई पशुपतिनाथ गुहार्न भन्दा बोल्ने जनतालाई खुसी पार्न सुझाव दिएका हुन् ।
पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वका नेकपाका स्थायी कमिटी सदस्य देव गुरुङले केपी शर्मा ओलीको 'तानाशाहीतन्त्र' पतन नहुँदासम्म आन्दोलन जारी रहने बताएका छन् ।
पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्मा सक्षम नेतृत्वले मात्रै देश समृद्धितर्फ जाने बताए । देश र जनताको उपलब्धिका लागि सक्षम नेतृत्व र संरचना चाहिने नेता शर्माले बताए ।
नेकपाको दाहाल–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले लामो संघर्षबाट प्राप्त उपलब्धिलाई च्युत गर्ने प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध बोल्न पाउनुपर्ने बताएकी छन् ।
नक्कली सुनलाई सक्कली भन्दै ठगी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । एक किलो पहेंलो धातुलाई सक्कली सुन भन्दै ५५ लाख लिएर ठगी गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले ६ जनालाई पक्राउ गरेको हो ।
महिलाविरुद्धको बढ्दो हिंसा अन्त्य गर्न माग राख्दै बृहत् नागरिक आन्दोलनको अगुवाइमा शुक्रबार काठमाडौंमा महिला मार्च गरिने भएको छ । वसन्तपुरदेखि सिंहदरबार मूलगेटसम्म हुने महिला मार्चमा सहभागी बन्न आन्दोलनले विज्ञप्तिमार्फत सार्वजनिक आह्वान गरेको छ ।
प्रतिनिधिसभा विघटन निर्णयविरुद्धका मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीका निजी कानुन व्यवसायी बालकृष्ण न्यौपानेले प्रतिनिधिसभा पुनःस्थापना गर्न समस्या झन् बढी हुने बताएका छन् । उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरे झन् समस्या आउने दाबी गरेका हुन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत दाहाल–नेपाल नेतृत्वको नेकपाले बुधबार काठमाडौंमा विरोध प्रदर्शन सुरु गरेको छ । आन्दोलनको दोस्रो चरणका कार्यक्रम घोषणा गरेको नेकपाले विरोध जुलुससहित सभा आयोजना गर्दै छ ।
मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध परेको अविश्वास प्रस्ताव पारित हुन दिने नदिनेमा वाग्मतीको प्रदेशसभामा निर्णायक मत रहेको प्रमुख प्रतिपक्षी दल कांग्रेसमा अझै अलमलमा देखिएको छ ।
महोत्तरी र सर्लाहीको सीमा बाँके खोलामा अवैध उत्खनन भइरहेको छ । सागरनाथ वन विकास परियोजना क्षेत्रअन्तर्गत पर्ने पूर्वपश्चिम राजमार्गको बाँके खोला पुलबाट दक्षिणतर्फ र रेल्वे ट्र्याकको दुवैतर्फ अवैध उत्खनन भइरहेको हो ।
प्रदेश १ मा सत्तापक्षकै कारण प्रदेशसभा अनिर्णयको बन्दी बनेको छ । माघ ७ गतेबाट सुरु भएको हिउँदे अधिवेशनको एउटा पनि बैठक पूर्णरूपमा बस्न सकेको छैन । नेकपा दाहाल–नेपाल समूहले प्रदेशसभामा दर्ता गराएको मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव सत्तापक्षको अवरोधका कारण टेबल हुन सकेको छैन ।
कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) प्रतिनिधिसभा विघटनको कदमलाई अदालतले सदर गरे पनि वैशाखमा निर्वाचन हुनेमा विश्वस्त छैनन् । प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुवै नहुने परिस्थिति निर्माण गरेर संविधानलाई असफल बनाउन खोजिएको त होइन भन्ने सन्देह उनीहरूमा छ ।
बुटवल उपमहानगरपालिकाकी ११ वर्षीया बालिका गत असोज २५ गते दिउँसो घर नजिकै खेलिरहेकी थिइन् । त्यही बेला एक छिमेकीले आफ्नो घरमा बोलाए । कोठामा पुर्याएपछि बाहिरबाट चुकुल लगाइदिए । भित्र बसिरहेका पुरुषले बालिकामाथि बलात्कार गरे । पाँच सय रुपैयाँ दिएर घटनाबारे कसैलाई नबताउन धम्की दिए ।
भारतमा सामूहिक बलात्कारपछि हत्या गरिएकी १२ वर्षीया नेपाली किशोरी सुमित्रा विकका परिवारले आफूहरू असुरक्षित रहेको बताएका छन् । मृतकका बाबुआमा र भाइ अहिले भारतको बिहार राज्यस्थित पश्चिम चम्पारणमा छन् ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) संविधानको मर्मविपरीत साबिकको जस्तै केन्द्र (संघ) सरकार मातहतको राष्ट्रिय परीक्षा बोर्डले नै सञ्चालन गर्ने भएको छ । शिक्षा मन्त्रालयले विद्यालय, स्थानीय तह, प्रदेश र केन्द्रबाट गरी एसईई सञ्चालन गर्न सकिने चार विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको थियो ।
गृहमन्त्री रामबहादुर थापाले माघ २३ गते नारायणहिटी दरबार संग्रहालयको अघिल्तिरबाट तेस्रो जनआन्दोलन सुरुवात भएको घोषणा गरे । सडकमा शक्ति देखाउन पुगेको सरकारकै गृहमन्त्रीले तेस्रो जनआन्दोलनकै घोषणा गरेपछि आन्दोलन सत्तामा हुनेले गर्छ कि सडकमा हुनेले भन्नेमा नागरिक अलमलमा छन् ।
पशुपति क्षेत्र विकाष कोषले पशुपति मन्दिरको प्रांगण विस्तार गर्न भन्दै ‘बम्बे ढुकुटी’ भत्काएको छ । ढुकुटीका सामान मन्दिरको उत्तरपट्टिको नरसिंह सत्तलमा थुपारिएको छ ।