१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

वीर अस्पताल विस्तारका लागि बजेट अभाव हुँदैन : अर्थमन्त्री पौडेल 

वीर अस्पताल विस्तारस्थलको अवलोकन 
लिला श्रेष्ठ

भक्तपुर — मुलुककै जेठो वीर अस्पताल विस्तारका लागि अर्थमन्त्री विष्णु पौडेलले बजेट अभाव नहुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वीर अस्पताल विस्तारका लागि बजेट अभाव हुँदैन : अर्थमन्त्री पौडेल 

मंगलबार चाँगुनारायण नगरपालिका–१, २ र ४ मा अवस्थित वीर अस्पताल विस्तारका लागि छुट्याइएको जग्गा अवलोकन गर्दै अर्थमन्त्री पौडेलले अस्पतालको संरचना निर्माण एवम् विस्तारका लागि अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, दातृ संस्था वा अन्य निकाय जहाँबाट जसरी भए पनि बजेट जुटाउने बताएका हुन् ।

मंगलबार अर्थमन्त्री विष्णु पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज राउत, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपलकुलपति टीएन शाह, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, सडक विभागका महानिर्देशक केशव शर्मा,चाँगुनारायण नगरप्रमुख सोमप्रसाद मिश्र, उपप्रमुख बिना बास्तोला, वडाध्यक्षलगायतको टोलीले जग्गाको अवलोकन गर्दै वीर अस्पताल विस्तारको पहिलो चरणमा फराकिलो सडक, विद्युत्, पानी र ढल व्यवस्थापनको प्रबन्ध हुनुपर्ने जनाएको छ ।

कार्यक्रममा अर्थमन्त्री पौडेलले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, सडक विभागका महानिर्देशक केशव शर्मालगायतलाई आ–आफ्नो जिम्मेवारीमा परेको कार्यको लागत इस्टमेट तयार गरेर काम सुरु गर्न निर्देशन दिएका छन् ।

वीर अस्पताल सञ्चालन भएको हालको स्थान साँघुरो र नयाँ सरचना निर्माण गर्न सकिने अवस्था नभएको भन्दै सरकारले भक्तपुरको चाँगुनारायण नगरपालिका १, २ र ४ मा पर्ने दुवाकोटस्थित जग्गाको छनोट गरी गरेर विस्तारको प्रक्रिया थालेको छ । अस्पतालको नाममा करिब ५ सय ७० रोपनी जग्गाको लालपुर्जा समेत प्राप्त भईसक्यो । उक्त स्थानमा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न एक हजार शय्याको अस्पताल र शिक्षण संस्था, पुस्तकालय, होस्टेललगायत संरचना निर्माण गर्ने सरकारको लक्ष्य छ ।

वीर अस्पताल विस्तारका लागि चिनियाँ विशेषज्ञ टोलीले २०७५ चैत्र १२, १४ र १९ गते स्थलगत अध्ययन गरेर प्रतिवेदन दिएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति टीएन शाहले बताए । उक्त प्रतिवेदनमा जग्गा भिरालो स्थानमा भएको, सडक, विद्युत्, पानी र ढल व्यवस्थापन भए मात्र अस्पताल विस्तारको लागि संरचना निर्माण गर्न सकिने सुझाव पेस भएको उनले बताए । अस्पतालको प्रस्तावित स्थलको डीपीआरसमेत भएको छैन ।

अस्पतालको प्रस्तावित स्थलमा पुग्न कोटेश्वर सल्लाघारी हुँदै नौ किलोमिटर टाढा पर्छ । पेप्सीकोलाबाट मनोहरा करिडोर निर्माणपछि कोटेश्वरबाट पाँच किलोमिटर दूरीमा पुग्न सकिन्छ । सडक विभागका महानिर्देशक केशव शर्माका अनुसार सल्लाघारीबाट दुवाकोट ५ किलोमिटर पर्ने र उक्त सडक विस्तार/निर्माणका लागि ६५ करोड रुपैयाँ लागत खर्च लाग्ने डिटेल रिपोर्ट तयार छ ।

प्रकाशित : माघ २७, २०७७ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?