केपी र ज्ञानेन्द्र अध्यक्ष रहेको पार्टी बन्यो भने आश्‍चर्य हुने छैन : भट्टराई 

नारायण शर्मा

नवलपरासी — नेकपा (दाहाल-नेपाल) का नेता योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाह र प्रधानमन्त्री केपी ओली अध्यक्ष रहेको पार्टी बनेमा आश्चर्य नहुने बताएका छन् । 

केपी र ज्ञानेन्द्र अध्यक्ष रहेको पार्टी बन्यो भने आश्‍चर्य हुने छैन : भट्टराई 

पूर्वी नवलपरासीको कावासोतीमा शनिबार दिउँसो प्रशिक्षण कार्यक्रममा बोल्दै भट्टराईले ओलीका सबै कदम त्यतातर्फ उन्मुख रहेको टिप्पणी गरेका हुन् । उनले भने, 'प्रधानमन्त्रीको हरेक कदम गणतन्त्र र संघीयता विरोधी छ दुबै जना अध्यक्ष रहेको पार्टी बन्यो भने आश्चर्य हुने छैन । ओलीका सबै कदम त्यतातर्फ उन्मुख छन् । यी दुवै ( ज्ञानेन्द्र र ओली) अध्यक्ष रहेको पार्टी बन्छ बन्छ त्यो दिन टाढा छैन ।'

ओलीको साथमा सर्वोच्च अदालतमा बहस गर्ने वकिलदेखि उनको कदमलाई साथ दिने सबै मण्डले रहेको भट्टराईको आरोप थियो । 'मण्डले र गणतन्त्रविरोधी झुण्डमा बसेर उनले (ओली) संविधानमा व्यवस्थै नभएको धारा भनेर निर्वाचित प्रतिनिधिसभा भंग गरे', उनले भने, 'जनअधिकार खोस्ने नालायक र तानाशाहका रुपमा उनी इतिहासमा रहनेछन् ।'

प्रधानमन्त्री ओली नेपालका यसअघिका ४० जना प्रधानमन्त्रीभन्दा नालायक र जनअधिकार खोस्ने तानाशाहका रुपमा उदाएको उनले बताए । निर्वाचित जनप्रतिनिधिलाई काम गर्न नदिएर उनले 'म नै राज्य हुँ' भन्ने मान्यता बोकेका कारण ओलीलाई सबैले छोड्दै गएको योगेशले दाबी गरे ।

नेता भट्टराईले सरकारी धन खर्च गरेर आफ्नो फोटो टाँस्न लगाएर भाडामा मान्छे ल्याएर सडकमा सभा गर्ने हैसियतमा आइसकेकाले ओलीलाई सबैले छोड्न आव्हान गरे ।

प्रकाशित : माघ २४, २०७७ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?