संवैधानिक आयोगमा नियुक्ति बदरको माग गर्दै सभामुख सापकोटाद्वारा सर्वोच्चमा निवेदन पेस- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संवैधानिक आयोगमा नियुक्ति बदरको माग गर्दै सभामुख सापकोटाद्वारा सर्वोच्चमा निवेदन पेस

कान्तिपुर संवाददाता

काठमाडौँ — संवैधानिक आयोगहरूमा सरकारले गरेका नियुक्ति संविधानविपरीत भएको भन्दै  सभामुख अग्निप्रसाद सापकोटा निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन् । 

संवैधानिक आयोगमा गरिएका नियुक्ति बदरकाे माग राखी शुक्रबार सर्वोच्च अदालत जाँदै गरेका सभामुख अग्निप्रसाद सापकोटा सवार गाडी । तस्बिर : अंगद ढकाल

केही बेरअघि सभामुख सापकोटाले सर्वोच्च अदालतको मुद्दा महाशाखामा निवेदन पनि पेस गरेका हुन् । सभामुख सापकोटाले निवेदनमा स‌ंवैधानिक परिषद्को पुस ५ गतेको निर्णय बदर गर्न माग गरेका छन् । साथै उक्त निर्णयका आधारमा स‌ंवैधानिक आयोगहरुमा भएको नियुक्तिको बदर गर्न पनि सभामुख सापकोटाले माग गरेका छन् ।

नियुक्तिपछि राष्ट्रपतिबाट शपथ लिई पदभार ग्रहण गरिसकेका स‌ंवैधानिक आयोगका पदाधिकारीलाई कामकारबाही गर्न नदिन पनि रिटमा माग गरिएको छ । त्यस्तै उनीहरुको नियुक्ति यथास्थितिमा राख्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्नुपर्ने सभामुख सापकोटाले रिटमा उल्लेख गरेका छन् ।

सभामुख सापकोटासँग दाहाल-नेपाल नेतृत्वको नेकपाका नेताहरु शशी श्रेष्ठ, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र रेखा शर्मालगायत पनि अदालत पुगेका छन् । अहिले निवेदन पेस भइसकेको र दर्ताको प्रक्रियामा रहेको पनि सभामुखको सचिवालयले जानकारी दिएको छ । सभामुखले पेस गरेको निवेदनमा ३९ जनालाई विपक्षी बनाइएको छ। तिनमा संवैधानिक परिषद् अध्यक्ष, सदस्यलगायत सबै पदाधिकारीहरू छन् ।

असंवैधानिक ढंगले ल्याएको अध्यादेशका भरमा अपूरो संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायका पदाधिकारीमा सिफारिस गरेका ३२ जनालाई संसदीय सुनुवाइबिनै र अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा बुधबार शीतलनिवासमा शपथ गराइएको थियो।

प्रकाशित : माघ २३, २०७७ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्

मुगुमा हिमपात, किसान उत्साही

राजबहादुर शाही

मुगु — हिमपात भएपछि मुगुका किसान उत्साही भएका छन् । खडेरीले चिन्तित भएका उनीहरु हिउँ परेसँगै बाली सप्रने आसमा छन् । 

जिल्लामा बिहीबार दिउँसोबाट मौसममा बदली भई रातिदेखि हिउँ पर्न सुरु गरेको हो । रारा, मुर्मा मुन्दु, ताल्च, माथितुम, सोरुकोट, कालै, शोभा, बाम, खमाले, पापु, चिमाथलगायत बस्तीमा आधा फिटसम्म हिउँ जमेको छ ।

‘खडेरीले जौ–गहुा सुकाइसकेको थियो,’ सोरुकोट गाउँका पदम शाहीले भने, ‘अब हिउँ पर्‍यो सुबिकाल हुने आस पलायो ।’

किसानहरुका अनुसार जति धेरै हिउँ पर्‍यो उति धेरै अन्न उत्पादन हुने गर्छ । स्याउ, ओखर, आरूलगायत फल पनि सप्रन्छन् । पानीका मूल पनि बढ्न गरेका छन् । विकट भेगका किसानलाई यो सिजनमा हिउँ नपरे सुबिकाल आउँदैन । ‘हिउँको प्रतीक्षा गर्दै पुस बित्यो,’ शाहीले भने, ‘माघ बित्न थालेपछि बल्न हिउँ देख्न पाइयो ।’


पहिले पुस महिनामै बाक्लो हिमपात हुने गरेकामा पाँच वर्षयता माघ अन्तिमदेखि फागुन–चैतमा हिउँ पर्न थालेको छ ।

जिल्लाको उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा यसपटक दोस्रोपटक हिउँ परेको छ । हिउँ परेपछि घुम्न आएका आन्तरिक पर्यटक खुसी भएका छन् । रारामा यस वर्ष दोस्रोपटक आधा फिट हिउँ परेको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत बद्रीविनोद दाहालले बताए ।


प्रकाशित : माघ २३, २०७७ १०:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×