१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

आमहडतालले सकस: परीक्षा प्रभावित, बिरामी हिँडेरै अस्पताल

एलएलबी दोस्रो वर्षको बिहीबारको परीक्षा आधा घण्टा ढिलो सुरू 
 ट्याक्सीबाट जबर्जस्ती ओरालिए बिरामी

काठमाडौँ — नेकपा दाहाल–नेपाल समूहले गरेको आमहडतालका कारण बिहीबार एलएलबीका परीक्षार्थी प्रभावित भएका छन् । बुधबारदेखि सुरु भएको एलएलबी दोस्रो वर्षको परीक्षाको दोस्रो दिन प्रोपर्टी ल विषयको परीक्षा थियो । आमहडतालका कारण बिहान ८ बजे तोकिएको परीक्षा केही ढिलो गरी सुरु भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

आमहडतालले सकस: परीक्षा प्रभावित, बिरामी हिँडेरै अस्पताल

परीक्षा सञ्चालन भए पनि धेरै परीक्षार्थी अनुपस्थित थिए । त्रिचन्द्र बहुमुखी क्याम्पस परीक्षा केन्द्रमा ६ सय परीक्षार्थीमध्ये ३ सय ३० जनामात्र उपस्थित भएको केन्द्राध्यक्ष तथा सहायक क्याम्पस प्रमुख एमपी कोइरालाले बताए । ‘एलएलबी कुनै विषयमा स्नातक गरेपछि पढ्न पाइने विषय हो,’ उनले भने, ‘त्यस कारण परीक्षार्थी शतप्रतिशत उपस्थित हुँदैनन् । तर बिहीबार दोस्रो दिनको परीक्षामा धेरै अनुपस्थित रहेको पाएका छौं । आमहडतालकै कारण उपस्थित भएनन् कि भन्ने लागेको छ ।’

बागबजारस्थित पद्मकन्या क्याम्पस केन्द्रका परीक्षार्थी विकास राईले सवारीसाधन नचल्दा सास्ती बेहोर्नुपरेको बताए । ‘अचानक आमहडताल घोषणाले हामी परीक्षार्थीलाई सास्ती भएको छ,’ कोटेश्वरमा बस्दै आएका उनले भने, ‘परीक्षा केन्द्र कसरी पुग्ने भन्ने चिन्ताले सतायो । हिँडेरै जाँच दिन पुगियो ।’ पाटन संयुक्त क्याम्पस केन्द्रकी परीक्षार्थी मञ्जु खड्काले पनि आमहडतालले अन्योलमा परेको बताइन् । ‘बल्लतल्ल हिँडेर परीक्षा केन्द्र पुगियो र परीक्षा हुने कि नहुने भन्ने अन्योल भयो,’ उनले भनिन्, ‘परीक्षार्थीको अनुरोधले आधा घण्टा ढिलो गरी जाँच दिन पायौं । पठाओमा फर्किएँ ।’

त्रिभुवन विश्वविद्यालयअन्तर्गत बुधबारदेखि एलएलबी दोस्रो वर्ष नियमिततर्फको परीक्षा सुरु भएको हो । उक्त तहका विभिन्न १३ विषयको परीक्षा फागुन ५ गतेसम्म चल्नेछ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार एलएलबीमा देशभरबाट १३ हजार परीक्षार्थी सहभागी छन् । त्रिविअन्तर्गत शुक्रबारदेखि स्नातकोत्तर वार्षिक प्रणाली (पुरानो कोर्स) को परीक्षा सुरु हुनेछ । एमए राजनीतिशास्त्र, एमपीए र एमएड्का गरी १६ हजार परीक्षार्थी रहेको नियन्त्रक जोशीले बताए ।

वीर अस्पतालमा फलाअ‍ेपका लागि म्हेपीबाट छोरीसहित पदैल आएकी ६५ वर्षीया चन्द्रमाया बस्‍नेत । तस्बिर : अनिश रेग्मी / कान्तिपुर

आमहडतालका कारण बिहीबार काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द रहे । कोरोना महामारीका कारण यो वर्ष गत पुसबाट मात्र आंशिक रूपमा विद्यालय खुलेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का सहअध्यक्ष डीके ढुंगानाले कुनै विद्यालय नखुलेको बताए । ‘विद्यालय आंशिक रूपमा मात्र खुलाउन थालेका छौं,’ उनले भने, ‘शुक्रबार पनि उपत्यकामा आमसभा हुने सुनिएको छ । विद्यालय प्रभावित हुन सक्ने देखिन्छ ।’

नेसनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले आमहडतालले विद्यार्थी र शिक्षकलाई प्रभावित तुल्याएको बताए । ‘तर, कुनै अप्रिय दुर्घटना घटेको छैन,’ उनले भने । उपत्यकामा १ हजार ३ सयभन्दा बढी विद्यालय छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का महासचिव लोकबहादुर भण्डारीले आमहडतालले विद्यार्थीको पठनपाठन प्रभावित भएको बताए ।

बिरामीलाई सास्ती

आमहडतालका कारण अस्पताल जाने बिरामीले पनि सास्ती भोग्नुपर्‍यो । राजधानीका ठूला सरकारी अस्पतालको ओपीडीमा निकै कम बिरामी पुगे । दिनमा लगभग १ हजार ५ सय बिरामी पुग्ने वीर अस्पतालमा आधा जति बिरामी मात्रै आएको निर्देशक डा.केदारप्रसाद सेन्चुरीले बताए । ‘अस्पतालतर्फ कुनै सवारीसाधन आउन दिएनन्, म पनि हिँडेर आएँ,’ उनले भने, ‘ट्याक्सी चढेका बिरामी पनि सहिदगेटमै रोकेपछि अस्पताल आउन पाएनन् ।’

निर्देशक डा. सेन्चुरीले स्वास्थ्यकर्मी टाढाबाट आउनुपर्ने भएकाले आकस्मिक र शल्यक्रिया सेवामा समेत असर परेको बताए । दिनमा करिब १ हजार २ सय बिरामी पुग्ने महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पनि बन्दको प्रभावमा पर्‍यो । सवारीसाधन नचलेकाले नयाँ बिरामी भर्ना हुन र पुराना बिरामी डिस्चार्ज भएर घर जान नपाएको अस्पतालका प्रवक्ता रामविक्रम अधिकारीले बताए । ‘नियमित सेवामा असर पर्‍यो तर पहिलेका बन्दमा जस्तो धेरै प्रभाव परेन,’ उनले भने, ‘घर जानैपर्ने बिरामीलाई अस्पतालकै एम्बुलेन्समा हालेर पठायौं ।’

घाइते, हाडजोर्नी र चोटपटक लागेका बिरामी पुग्ने राष्ट्रिय ट्रमा सेन्टरमा बन्दका कारण कर्मचारीलाई एम्बुलेन्समा ओसारपसार गर्नुपरेको थियो । यो अस्पतालमा दिनमा ३ सय हाराहारी बिरामी पुग्थे । बिहीबार भने यो संख्या आधा भयो । बेड पाउन मुस्किल हुने आकस्मिक कक्षमा पनि चाप थिएन । नयाँ बिरामी भर्ना लिन र पुराना बिरामी घर पठाउन अप्ठेरो परेको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले बताए । घाइतेहरूको उपचारमा ढिलाइ गर्दा ज्यान जाने, जीवनभर अंगभंग हुनुपर्ने भएकाले बन्दका कारण उपचारमा प्रभाव पर्न नहुने उनले बताए ।

दिनमा एक हजार जनाले जाँच र उपचार गराउने पाटन अस्पतालमा बिहीबार वरपरका बिरामी मात्रै पुगे । ‘बन्दको दिन खाली हुन्छ भनेर अस्पताल नजिकका मानिस धेरै आए तर टाढाबाट कोही आएनन्,’ अस्पतालका निर्देशक डा.रवि शाक्यले भने, ‘बिरामी डिस्चार्ज हुन पाएनन् ।’ आफ्नै सवारीमा अस्पताल आउने स्वास्थ्यकर्मी र चिकित्सकलाई पनि बाटोमा आन्दोलनकारीले रोकेको उनले बताए । ‘कोरोनाले यसै पनि बिरामी घटेका थिए,’ डा शाक्यले भने, ‘बिस्तारै बिरामीको संख्या बढ्दै थियो, फेरि यस्तै अस्थिरताले अस्पतालको सेवामा असर पुग्ने भयो ।’

दिनमा ६ सय बिरामी पुग्ने बानेश्वरस्थित निजामती अस्पताल (सिभिल) मा पनि आधा बिरामी घटे । सवारीसाधन सञ्चालन सहज नहुँदा फोनमार्फत काटिएका टिकट पनि रद्द भएको अस्पतालका निर्देशक डा. दीर्घराज आरसीले बताए । ‘स्वास्थ्यकर्मी र कर्मचारीलाई भने अस्पतालको गाडीमा ल्यायौं,’ उनले भने, ‘ओपीडी र आकस्मिक कक्ष सुनसान जस्तै भयो । यसको असर भोलि बिरामीको संख्या दोब्बर हुन्छ । त्यति बेला व्यवस्थापन गर्न गाह्रो हुन्छ ।’

दिनमा ५ सय बिरामी पुग्ने बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा पनि बिहीबार अरू बेलाजस्तो चहलपहल देखिएन । टाढाका बिरामी र स्वास्थ्यकर्मी अस्पताल पुग्न नसकेको निर्देशक डा.चन्द्रमणि अधिकारीले बताए । ‘बाटैमा रोकिएपछि केही स्वास्थ्यकर्मी बिदामा बस्नुभयो,’ उनले भने, ‘बिरामी कम आएकाले जनशक्ति व्यवस्थापनमा भने खासै असर परेन ।’

प्रकाशित : माघ २३, २०७७ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?