१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

एउटै विद्यार्थीसँग ८ लाख अतिरिक्त शुल्क !

सुदीप कैनी

काठमाडौँ — कोरोनाको चपेटामा परेका विद्यार्थीसँग कान्तिपुर डेन्टल कलेजले ८ लाख रुपैयाँभन्दा बढीका दरले अतिरिक्त शुल्क लिएको छ । चिकित्साशास्त्रको बीडीएस अध्ययनरत विद्यार्थीसँग कलेजले मनोमानी रूपमा शुल्क लिएको अभिभावकले बताएका छन् ।

एउटै विद्यार्थीसँग ८ लाख अतिरिक्त शुल्क !

‘लकडाउनका बेला अनलाइनबाट पढाएका थिए,’ एक अभिभावकले भने, ‘अहिले कलेज सुरु भएपछि थप शुल्क माग्दै दबाब आइरहेको छ ।’ सरकारले तोकेको शुल्क बुझाइसक्दा पनि कलेजले अतिरिक्त रकम माग गरेको उनले बताए ।

कलेजले बीडीएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीसँग २७ लाख रुपैयाँ शुल्क मागेको हो । बीडीएस अध्ययनका लागि १९ लाख ३२ हजार शिक्षण शुल्क तोकिएको छ । कलेजले विभिन्न शीर्षक बनाएर रकम माग गरेको विद्यार्थीहरू बताउँछन् । ‘पहिलो, दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीसँग कलेजले फरक–फरक शुल्क लिन्छ,’ एक छात्राले भनिन्, ‘दोस्रो वर्षका सँग ८ लाखभन्दा बढी मागिएको छ । तेस्रो वर्षमा अध्ययनरतले ६ लाखभन्दा बढी तिर्छन्, पहिलो वर्षमा पढ्नेसँग पनि बढी शुल्क लिइएको छ ।’

कलेजले शुल्क तिर्न दबाब दिएपछि कतिपय अभिभावकले अतिरिक्त शुल्कसमेत बुझाइसकेका छन् । मागेजति शुल्क नबुझाउने विद्यार्थीलाई परीक्षा फाराम भर्न नदिने र परीक्षाबाटै वञ्चित गर्ने चेतावनी कलेज प्रशासनले दिने गरेको विद्यार्थीहरूले गुनासो गरे । असन्तुष्ट विद्यार्थीले कलेज प्रशासनलाई निवेदन दिन हस्ताक्षर संकलन गरिसकेका छन् । ‘सरकारले तोकेको शुल्क त कार्यान्वयन भएकै छैन, कलेजले आफूखुसी शुल्क लिन्छ,’ एक विद्यार्थीले भने । गतवर्ष देशभरका चिकित्सा शिक्षाका विद्यार्थी आन्दोलित भएपछि कलेज सञ्चालकले अतिरिक्त शुल्क समायोजन गर्ने प्रतिबद्धता जनाएका थिए ।

शिक्षा मन्त्रालय र कलेज सञ्चालकबीच २०७६ मंसिरमा शैक्षिक सत्र २०७४/७५ र २०७५/७६ मा बढी लिएको शुल्क फिर्ता वा समायोजन गर्नुपर्ने सहमति भएको थियो । कान्तिपुर डेन्टल कलेजले शुल्क समायोजन गर्नुको साटो बढी रकम असुल्न थालेको हो । त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन लिएका निजी मेडिकल कलेज सञ्चालकले शिक्षा मन्त्रालयसँग लिखित रूपमा बढी शुल्क नलिने र लिएको भए फिर्ता गर्ने सहमति गरेका थिए । कान्तिपुर डेन्टल काठमाडौं विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेज कलेज हो । यहाँ बीडीएसको प्रत्येक ब्याचमा ४५ जना अध्ययन गर्न पाउने कोटा तोकिएको छ । एउटै ब्याचका विद्यार्थीबाट ८ लाखको दरले अतिरिक्त शुल्क उठाउँदा करोडौं रकम हुन आउँछ ।

सरकारले तोकेको शुल्क र सहमति उल्लंघन गर्दै बढी शुल्क उठाउने गरिएको कलेजका पूर्वविद्यार्थी अच्युत भट्टले बताए । ‘अरू मेडिकल कलेजमा बढी लिएको रकमसमेत फिर्ता भइरहेको छ, कान्तिपुर डेन्टलले अहिले पनि अतिरिक्त रकम माग गरिरहेको छ,’ उनले भने । उनका अनुसार बिनाशीर्षक दुई किस्तामा २४ लाख लिइन्छ, विद्यार्थीले ५ वर्षसम्म तिर्न पाउने शुल्क दोस्रो वर्षभित्रै उठाउने गरिएको छ । दोस्रो वर्षको अन्तिम परीक्षा वा तेस्रो वर्षको भर्नासम्म शुल्क नबुझाउने विद्यार्थीलाई परीक्षामा सहभागी हुन नदिने, फेल गराउनेलगायतको धम्की दिने गरिएको उनले बताए ।

विद्यार्थीका अनुसार परीक्षा, इन्टर्नसिप, मेडिकल काउन्सिल, केयू रजिस्ट्रेसन शुल्कका नाममा कलेजले मनोमानी रकम लिने गरेको हो । चिकित्सा शिक्षा आयोगले यी शुल्क शिक्षण शुल्कभित्रै समावेश हुने जनाएको छ । कलेज सञ्चालक बुद्धिमान श्रेष्ठले शिक्षा मन्त्रालयमा भएको सहमति पालना गर्न नसकिने बताए । ‘त्यहाँ अरू मेडिकल कलेज सञ्चालकले सहमति गरे होला, हाम्रो कलेजबाट कसैले सहमतिमा हस्ताक्षर गरेको छैन,’ उनले कान्तिपुरसँग टेलिफोनमा उल्टै प्रश्न गरे, ‘सरकारले तोकेको शुल्कमा पढाउन सकिँदैन, भोलि सरकारले १० लाख शुल्क तोकिदेला त्यसैमा पढाउने ?’ विद्यार्थी र अभिभावकसँग सल्लाह गरेर कलेजले शुल्क लिँदै आएको उनको भनाइ छ ।

प्रकाशित : माघ २२, २०७७ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?