कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

अमादब्लममा टाँगिएको कुवेतको झन्डा पोखराको संग्रहालयमा राखिने

सुरज कुँवर

काठमाडौँ — अनुमति नलिई खुम्बु क्षेत्रको अमादब्लम हिमालको चुचुरो ढाक्ने गरी गत वर्ष टाँगिएको कुवेतको सबैभन्दा ठूलो झन्डा नेपाल सरकारले कुवेतलाई फिर्ता नगर्ने भएको छ ।

अमादब्लममा टाँगिएको कुवेतको झन्डा पोखराको संग्रहालयमा राखिने

पर्यटन विभागका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले आइतबार उक्त झन्डालाई पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा राख्ने निर्णय गरेका हुन् ।

‘मन्त्रालयको निर्णयको फाइल आइपुगेको छ । कार्यान्वयन गर्ने तयारीमा छौं,’ विभागकी निर्देशक मिरा आचार्यले कान्तिपुरसँग भनिन् ।

उक्त झन्डाको अनुमति नलिइएकाले विभागले जफत गरेर राखेको छ । अब त्यो झन्डा नेपाल पर्वतारोहण संघमार्फत पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा पठाइने छ ।

कुवेती आरोहण दलका एक सदस्यका अनुसार पछिल्लोपटक कुवेत सरकार तथा दिल्लीस्थित नेपाल समेत हेर्ने दूतावासले परराष्ट्र मन्त्रालयमार्फत १ सय ५० किलोग्राम तौल भएको उक्त झन्डा फिर्ता माग्दै दबाब दिँदै आइरहेको थियो ।

दूतावासको पत्र परराष्ट्र मन्त्रालयमामार्फत पर्यटन विभागमा पुगेपछि विभागले कूटनीतिक च्यानलबाट फिर्ता गर्न मन्त्री परिषदबाट सकिने वा नदिने भए उक्त झन्डाको संरक्षण नेपालमै राखेर गर्न सकिने लगायतका सुझावसहित मन्त्रालयमा सिफारिस गरेको थियो ।

तर, पर्यटनमन्त्री ढकालले ‘अर्को व्यवस्था नभएसम्मलाई उक्त झन्डा अन्तर्राष्ट्रिय पर्वतीय संग्राहलयमा राख्ने’ निर्णय गरेको विभागले जनाएको छ ।

०७६ कात्तिकमा ४ कुवेती आरोहीहरु सामेल भएको आरोहण दलले कुवेतबाट ल्याइएको १ सय मिटर लामो तथा ३० मिटर चौढाइ भएको उक्त झन्डा काठमाडौंबाट लुक्ला हुँदै भरिया लगाएर अमादब्लम पुर्‍याएका थिए ।

यो आरोहण दलको स्थानीय व्यवस्थापनको जिम्मा काठमाडौंस्थित सेभेन समिट ट्रेक तथा आरोही निर्मल पुर्जाको कम्पनी एलाइट हिमालय एडभेन्चर प्रालिले गरेका थिए ।

यस आरोहण दलमा रहेका एक कुवेती आरोहीका अनुसार यी दुवै कम्पनीलाई झन्डा फहराउने लगायतका कामका लागि सेभेन समिट र निर्मल पुर्जालाई २ लाख ७७ हजार अमेरिकी डलर (३ करोड २३ लाख) हाराहारी रुपैयाँ भुक्तानी गरिएको थियो ।

‘यो अभियानमा हामीले नेपालको स्थानीय कम्पनीलाई सबै रकम भुक्तानी गरेका थियौ‌,’ ती कुवेतीले बुधबार कान्तिपुरसँग भने, ‘त्यो झन्डा अब केही व्यक्तिको होइन हाम्रो देशकै भएकाले नेपाल सरकारले फिर्ता दिनु पर्छ । लोकल एजेन्टले अनुमति नलिनुमा हाम्रो दोष होइन ।’

यो अभियानमा संलग्नलाई यसअघि विभागले कारबाही गरेको थियो । आरोहण दलमा सहभागी टोली नेता, गाइड, सेभेन समिट र निर्मल पुर्जाले माफी मागेपछि उनीहरुलाई भविष्यमा यस्ता खाले गल्ती नदोहोर्‍याउन सचेत गराइएको थियो ।

प्रकाशित : माघ २१, २०७७ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?