३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

महाकालीमा खसेको चट्टान फुटाउँदै भारत

भारतले नेपाली भूभाग लिपुलेक हुँदै कैलाश मानसरोवर जाने सडक बनाउने क्रममा गत वर्षात्मा महाकालीको सतह बढ्ने गरी चट्टान खसेको थियो
मनोज बडू

दार्चुला — भारतले नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर जोड्ने सडक निर्माणका क्रममा माल्पा क्षेत्रमा गत वर्षात्मा चट्टान खसेर थुनिन पुगेको महाकाली नदीको अवरोध हटाउन थालेको छ । 

महाकालीमा खसेको चट्टान फुटाउँदै भारत

ठूला चट्टान खसेर केही थुनिएको बहाव क्षेत्र सहज नबनाए आउँदो वर्षात्मा बाढी र कटानको जोखिम हुने भन्दै नदीमा थुप्रिएका ढुंगा भारतले फुटाउन सुरु गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । थुनिएको क्षेत्रलाई खोल्ने बहानामा भारतले नेपालतर्फ पनि ढुंगा फुटाउन विस्फोटक पदार्थ प्रयोग गर्ने तयारी गरेको पाइएको छ । उक्त क्षेत्र व्यास गाउँपालिका–२ माल्पा घाटीबगरमा पर्छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलका अनुसार वर्षात्मा कैलाश मानसरोवर जाने मार्ग निर्माणका क्रममा चट्टान खसेर महाकालीमा थुप्रिएको थियो । त्यसलाई अहिले हिउँदमा नदीमा पानीको मात्रा घट्ने समयमा पन्छाउन सुरु गरेको बुझिए पनि लिखित रूपमा त्यसबारे कुनै जानकारी प्राप्त नभएको उनले बताए । ‘भारतीय कम्पनीले नदीमा थुपारिएका ढुंगा–माटो पन्छाउन सुरु गरेको नजिकको प्रहरी चौकीबाट जानकारीमा आएको छ,’ उनले भने, ‘नदी अहिले थुनिएको होइन । भारतले सडक बनाउँदा नदीमा खसेको चट्टान खोलिरहेको हो ।’

मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले माल्पा क्षेत्रमा महाकाली थुनिएको खबर आएकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन सूचना जारी गरेको थियो । मंगलबार नै त्यहाँ नजिकको प्रहरी चौकी र सशस्त्र प्रहरीको टोली पुगेर फर्केको छ । टोलीले तटीय क्षेत्रको ठूलो जोखिम नरहेको बताएको प्रजिअ पोखरेलले सुनाए ।

व्यासको दुम्लिङ प्रहरी चौकीका इन्चार्ज असई प्रकाशबहादुर सिंहका अनुसार भारतले उक्त क्षेत्रमा पहिरोभन्दा नदीको बीच भागमा थुप्रिएका ढुंगा फोर्ने काम गरिरहेको छ । त्यस क्रममा महाकाली नदीवारि (नेपालतर्फका) पनि ढुंगा फोर्न विस्फोट गर्ने प्वाल पारेको सिंहले बताए । भारतले उक्त क्षेत्रमा चट्टान फोर्न सोमबारबाट विस्फोटक पदार्थ प्रयोग सुरु गरेको छ । ‘त्यसक्रममै नेपालतर्फका पनि ठूला ढुंगामा प्वाल पारेको र विस्फोटक पदार्थ पड्काउन तार बिछ्याएको भेटियो,’ उनले भने, ‘बिछ्याएको तार निकालेको र आफ्नो क्षेत्रमा मात्रै काम गर्नू भनेर फर्कियौं ।’ प्रहरी चौकीबाट ७/८ घण्टा पैदल दूरीमा रहेको उक्त क्षेत्रमा दिनहुँ गस्तीमा जान सक्ने अवस्था नभएको उनले बताए । ‘केही दिन बिराएर जाने गरेका छौं,’ उनले भने ।

उक्त क्षेत्रमा महाकाली थुनिएर ४०/५० मिटर लम्बाइमा तलाउ बनेको छ । वर्षात्मा करिब डेढ सय मिटर लम्बाइमा माल्पा क्षेत्रमा नदी थुनिएको थियो । अहिले नदी घट्दै गएकाले अवरोध खोल्न खोजेको भारतीय पक्षले बताउँदै आएको उनको भनाइ छ । उक्त क्षेत्रमा नदीमा खसेका ठूला ढुंगा (चट्टान) मुनिबाट पानी बगिरहेको छ । माथि मानिस हिँड्न मिल्ने हुँदा वारिपारि आउजाउ पनि भइरहेको थियो । त्यसको फाइदा अवैध काम गर्ने पक्षले उठाउन सक्ने भएकाले ढुंगा फोर्न लागेको हुन सक्ने प्रहरीको भनाइ छ । ‘ढुंगा फोड्ने भारतीय निर्माण कम्पनीलाई नदीको बीच भाग र आफ्नो क्षेत्रमा मात्रै विस्फोट गराउन भनेका छौं,’ इन्चार्ज सिंहले भने, ‘विस्फोट गर्नुभन्दा दुई दिन अगाडि हामीलाई पनि जानकारी गराउन भनेर फर्कियौं ।’

मंगलबार माल्पा क्षेत्रमा दुम्लिङ प्रहरी चौकी र दुम्लिङमै रहेको सशस्त्र प्रहरीको बीओपीबाट संयुक्त गस्ती टोली गएको हो । सशस्त्रको बीओपी दुम्लिङका इन्चार्ज सई लक्ष्मणसिंह कार्कीले अहिले उक्त क्षेत्रमा अहिले साताको एक पटक गस्तीमा जाने बताए । ‘उक्त क्षेत्रमा नदीको बीच भागमा ठूल्ठूला ढुंगा थुपारिएका छन् । अहिले नखोले वर्षात्मा खतरा बढ्ने सम्भावना धेरै हुन्छ । यसबारे आफ्नो कार्यालयलाई जानकारी गराएको छु’ उनले भने ।

भारतले सडक खन्ने क्रममा सबैभन्दा धेरै नेपालको घाटीबगर क्षेत्रमा ढुंगा नदी किनारमा आएर नदीको भाग साँघुरिँदै गएको छ । त्यहाँ नदीको सतह पनि नेपालतर्फ सरेको छ । यसले नेपालतर्फ महाकाली किनारमा छाङरु र टिंकर जाने घोडेटो कटान गरेर भत्किएको व्यास गाउँपालिका–२ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले बताए । व्यास जोड्ने घोडेटो बाटो पनि भारतीय सडककै कारण महाकालीमा अवरोध हुँदा कटान गरेको हो । ‘प्रत्येक वर्ष हामी बाटो निर्माण र मर्मत गरिरहेका हुन्छौं । वर्षात्मा नदीको सतह बढेर कटान गर्दा बाटो भत्केको भत्क्यै हुन्छ,’ वडाध्यक्ष बुढाथोकीले भने ।

प्रकाशित : माघ २१, २०७७ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?