अमेरिकामा उड्दै छ नेपाली विद्यार्थीको 'गरुडा'

गोविन्द पोखरेल

काठमाडौँ — अमेरिकाको न्यु मेक्सिकोमा जुन २२ देखि २६ सम्म विश्वको सबैभन्दा ठूलो विश्वविद्यालयस्तरीय रकेट इन्जिनियरिङ प्रतिस्पर्धा हुँदै छ ।

अमेरिकामा उड्दै छ नेपाली विद्यार्थीको 'गरुडा'

यो प्रतियोगितामा १० हजारदेखि ३० हजार फिटसम्म उड्न सक्ने ठोस, तरल र हाइब्रिड तीनै प्रकारका ‘केमिकल प्रोपलेन्ट’ प्रयोग हुने रकेटहरू उडाइन्छ । सहभागीहरुले यहाँ ४ देखि ८ इन्च व्यास भएका, ८ देखि २० फिट लम्बाइ भएका रकेटहरुको परीक्षण गर्छन् ।

एक्सपेरिमेन्टल साउन्डिङ रकेट एसोसिएसन (इएसआरए) र स्पेसपोर्ट अमेरिकाको संयुक्त आयोजनामा हुन लागेको ‘स्पेसपोर्ट अमेरिका कप–२०२१’ मा यस वर्ष नेपाली विद्यार्थीहरुले पनि सहभागिता जनाउँदै छन् । काठमाडौं विश्वविद्यालयका तर्फबाट ओपन रकेट्री एन्ड स्पेस सोसाइटी (ओआरएएसएस नेपाल) ले प्रतिस्पर्धा गर्दै छ ।

उनीहरुले त्यहाँ उडाउने आफ्नो रकेटलाई ‘गरुडा’ नाम दिएका छन् । उनीहरु १० के–कोट्स–अल प्रोपल्सन विधामा प्रतिस्पर्धा गर्दै छन् । विद्यार्थीहरुले रकेटको डिजाइन चरण र विभिन्न सफ्टवेयरबाट प्रारम्भिक ‘सिमुलेसन’हरु पूरा गरी प्रतियोगितामा सहभागी हुन आवश्यक मापदण्ड पूरा गरिसकेका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयको कलेज अफ इन्फर्मेसन टेक्नोलोजी एन्ड इन्जिनियरिङमा पहिलो वर्ष अध्ययनरत २२ वर्षे मोहन तामाङको नेतृत्वमा ३ किलोमिटरसम्म उचाइमा उड्ने ‘गरुडा’को निर्माण भइरहेको छ ।

०००

गरुड एक प्रजातिको चरा हो । हिन्दू धर्मावलम्बीहरु यसलाई विष्णुको वाहनको रुपमा लिन्छन् र पुज्छन् पनि । रकेटको नाम पनि यसैबाट राखिएको तामाङले बताए । उनका अनुसार मार्च १ तारिखका दिन परीक्षण गर्ने तयारीमा रहेको ‘गरुडा’को निर्माण कार्य ४० प्रतिशत सकिएको छ । ११ हजार फिट उचाइसम्म माथि जाने यो रकेटले ४ किलोग्रामसम्मको सर्भिलेन्स २ युनिट क्युबस्याट बोक्न सक्छ । ७.४२ फिट उचाइ रहेको गरुडाको व्यास ६ इन्चको छ । यो प्रतिसेकन्ड १ हजार १ फिटको गतिले उड्न सक्ने तामाङले बताए ।

फाइबर ग्लासबाट निर्माण भइरहेको यो रकेटको तौल २२.६ केजी छ । ज्वाइन्ट्सहरुमा अल्मुनियम प्रयोग गरिएको छ । प्रोपलेन्टका रुपमा प्रयोग हुने ‘एमोनियम पर्कोलेट’ चाहिँ बाहिर देशबाट किनेर ल्याउने उनीहरुको तयारी छ ।

०००

३० जनाको समूहले गरुडा बनाउन कामलाई ७ भागमा विभाजन गरेको छ । उनीहरु बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म यसमै खटिन्छन् । कहिले थापाथली, पुल्चोक त कहिले काठमाडौं विश्वविद्यालय । उनीहरु सकेसम्म समयमै काम गर्ने योजनामा छन् । हाल प्रोटोटाइप निर्माणको काम ८० प्रतिशत सम्पन्न भए पनि परियोजनाको काम ४० प्रतिशत मात्रै भएको छ ।

रकेटको स्ट्रक्चरल पार्ट्स थापाथली क्याम्पसमा इन्डस्ट्रियल इन्जिनियरिङमा चौथो वर्ष अध्ययन गरिरहेका अमृत ढुंगानाको नेतृत्वले हेरिरहेको छ । मेकानिकल इन्जिनियरिङमा तेस्रो वर्ष अध्ययनरत सुनील बेलवासेको नेतृत्वमा रकेटको रिकभरी पार्टका काम भइरहेका छन् । उडानका क्रममा हुने कम्युनिकेसन र कम्प्युटिङ हेर्ने फ्लाइट कम्प्युटरसम्बन्धी काममा रमेश साउदले नेतृत्व गरिरहेका छन् । उनी इलेक्ट्रिकल एन्ड कम्युनिकेसन इन्जिनियरिङमा तेस्रो वर्ष अध्ययनरत विद्यार्थी हुन् ।

रकेटको प्रोपल्सन र इन्धनसम्बन्धी कामको नेतृत्व किशन मिश्रले लिएका छन् । उनी पुल्चोकमा एरोपस्पेस इन्जिनियरिङमा दोस्रो वर्ष अध्ययनरत छन् । रकेटको भारवाहनसम्बन्धी पे लोडको नेतृत्व कपाली खनालले पाएका छन् । उनी थापाथली क्याम्पसमा इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्समा चौथो वर्ष अध्ययनरत छन् ।

पोखरा विश्वविद्यालयअन्तर्गतको एनसीआईटीमा सफ्टवेयर इन्जिनियरिङ अध्ययन गरिरहेकी सेर्जा सिर्जन श्रेष्ठले ग्राउन्ड स्टेसनसम्बन्धी कामको नेतृत्व गरिहेकी छन् । पर्याप्त रकम जुटे समयमै ‘गरुडा’को प्रक्षेपण उडान नेपालमा हुनेछ । रकेट निर्माणको सम्पूर्ण कार्य गर्न ८ लाख २८ हजार लाग्ने उनीहरुले बताए । एभिओनिक्स, प्रोपल्सन, रिकभरी, स्ट्रक्चर, मेकानिजम, पेलोड, दर्ता शुल्क र अन्य गरेर १० लाख लाग्ने उनीहरुलाई सघाउँदै आएका हिमालयन साइन्स फाउन्डेसनका अध्यक्ष आतंक बस्नेतले बताए । हाल बस्नेतको नेतृत्वमा फन्ड जुटाउने काम भइरहेको छ ।

नास्टद्वारा अस्वीकृत प्रोजेक्टलाई अमेरिकी संस्थाको स्वीकृति

इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले निर्माण गर्न लागेको गरुडा रकेटलाई नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले अस्वीकृत गरे पनि अमेरिकी संस्थाले स्वीकृत गरेको हो ।

तस्बिरहरु : अनिस रेग्मी/कान्तिपुर

अघिल्लो वर्ष यही योजना नास्टमा पेश हुँदा ‘अयोग्य’ भनेर फर्काइएको तामाङले बताए । उनले भने, ‘त्यही प्रपोजल हामीले अमेरिका पठाउँदा स्वीकृत भएर प्रतिस्पर्धाका लागि सहभागी हुन मिल्ने भनेर योग्य भन्यो ।’ सरकारी निकायबाट यस्तो कार्यका लागि सहयोग नभएको विद्यार्थीहरुको गुनासो छ । उनका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काम राम्रो भने पनि सहयोग भने गरेन ।

प्रक्षेपण गर्न खर्च अभाव

गरुडा समयमा नै तयार भयो भने यही मार्च १ मा प्रक्षेपण हुनेछ । सोलिड प्रोपलेन्ट प्रयोग गरेर निर्माण गरिएको गरुडाको प्रक्षेपणका लागि करिब ३ किलोमिटर खुला क्षेत्र चाहिन्छ । यसका लागि मनाङ वा मुस्ताङ उपयुक्त ठाउँ हुने तामाङले बताए ।

गरुडा निर्माणमा धेरै खर्च इलेक्ट्रोनिक र प्रोपलेन्टमा लाग्नेछ । प्रोपलेन्टमा लाग्ने केमिकल नेपालमा पाइँदैन । आयात गर्नुपर्ने बाध्यता छ । करिब ७ केजी एमोनियम परक्लोरेट इन्धनको रुपमा प्रयोग हुन्छ । प्रोपलेन्ट रकेट उडाउन प्रयोग हुन्छ । प्रोपलेन्टमा सोलिड स्टेटममा भएको क्यामेकिल बलेपछि यसले ‘थ्रस्ट’ दिन्छ । त्यही ऊर्जा प्रयोग गरेर रकेट उड्ने तामाङले सुनाए ।

कम्युनिकेसनका लागि आवश्यक पर्ने हाई जीपीएस ट्रायकर अनि रिसर्च र डेभलपमेन्टमा धेरै खर्च छ । यसरी कुल खर्च १५ लाख हुने तामाङले बताए । हालसम्म करिब ३ लाख रुपैयाँ संकलन भएको विद्यार्थीले जनाएका छन् ।

याे याेजनामा नेपाल इन्जिनियरिङ एसोसिएसन, हिमालय सोलुसनले एक/एक लाख बराबरको नगद तथा जिन्सी सामग्री सहयोग गरिदिएका छन् । गरुडाको निर्माण समयमै सम्पन्न गर्न राष्ट्रिय आविष्कार केन्द्रले पनि आवश्यक सामग्री प्रदान गर्ने सम्झौता भएको बस्नेतले जानकारी दिए । खर्च अभावका कारण समयमा नै निर्माण सम्पन्न नहुने पो कि भन्ने डर पनि उत्तिकै रहेको उनको भनाइ छ ।

रकेट्री एसोसिएसनका जोन बोन्सोर र ओपन रिसर्च रकेट्रीका जो हिङलिफेले यो योजनाको मेन्टरका रुपमा छन् भने फ्याकल्टी एड्भाइजरमा काठमाडौं विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागका शैलेश चित्रकार रहेका छन् ।

प्रकाशित : माघ २०, २०७७ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?