अमेरिका र नेपालबीचको कूटनीतिक नीतिमा परिवर्तन छैन: अमेरिकी राजदूत बेरी

जगदीश्वर पाण्डे

काठमाडौँ — अमेरिकी राजदूत र्‍यान्डी बेरीले अमेरिका र नेपालबीचको कूटनीतिक नीतिमा नयाँ बाइडेन प्रशासनमा परिवर्तन नभएको बताएका छन् ।

अमेरिका र नेपालबीचको कूटनीतिक नीतिमा परिवर्तन छैन: अमेरिकी राजदूत बेरी

राजदूत बेरीले सोमबार काठमाडौंमा कूटनीतिक मामिला रिर्पोटिङ गर्ने सञ्चारकर्मीहरूको भेटवार्तामा अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको प्रशासनले नेपालको मामिलामा पहिलेकै नीतिलाई निरन्तरता दिएको बताएका हुन् ।

‘अमेरिका र नेपालबीचको सम्बन्ध ७० वर्षदेखि रहँदै आएको छ । हाम्रो सम्बन्ध मुख्य रुपमा विकासमा केन्द्रित छ,’ उनले भने, ‘हाम्रो आधारभूत एजेन्डा भनेको पूर्ण रुपमा समावेशी, प्रजातान्त्रिक स्थायित्व, आर्थिक समृद्धि र राष्ट्रिय सार्वभौमिकता हुन् । हामी त्यसैमा जोड दिन्छौं । किनकी त्यो नै हाम्रो लक्ष्य हो ।’ राजदूत बेरीले नेपालको मामिलामा नयाँ प्रशासनको नीति परिवर्तन नभए पनि विश्वव्यापी मामिलामा भने केहि परिवर्तन हुने प्रष्ट पारे ।

उनले राष्ट्रपति बाइडेनले पद सम्हाले लगतै अमेरिका र विश्व सामू अहिले रहेका चुनौतीहरुलाई समाना गर्नका लागि आवश्यक महत्त्वकांक्षी योजना अघि ल्याएको पनि बताए । ‘उहाँ (राष्ट्रपति बाइडेन) ले आफ्नो उद्घाटन भाषणमा अमेरिका र अमेरिकाको विदेश नीतिको सोचबारे जानकारी गराए । उनले आफ्नो सम्बन्धहरुलाई रिपेयर (पुनःमर्मत) गर्ने कुरा पनि गरे र संसारसँग फेरि एक पटक सहकार्य गर्ने बताए,’ बाइडेनलाई उदृत गर्दै बेरीले भने ।

बेरीले नयाँ प्रशासनले हिजोको चुनौतीको लागि होइन, आज र भोलिका चुनौतीको लागि अघि बढ्ने बताए । उनले राष्ट्रपति बाइडेनले तुरुन्त अमेरिकामा कोभिड–१९ को सामना गर्ने योजना निर्माण गर्दै कोरोनाविरूद्ध लड्न कुनै एक मुलुकले मात्र नसक्ने र सम्पूर्ण मुलुकहरु एकबद्ध भएर लाग्‍नुपर्ने जोड दिएको पनि उल्लेख गरेको प्रष्ट पारे । जलवायु परिवर्तनका सवालमा अमेरिका अघि बढिसकेको उनले बताए ।

‘मैले नयाँ प्रशासन आएपछि हाम्रो नीतिगत प्राथमिकताहरुको बारेमा कुरा भयो । नेपालका प्रधानमन्त्री, पराष्ट्रमन्त्री, राष्ट्रपति र राजनीतिक दलका नेताहरुसँग पनि भेटवार्ता गरें र नयाँ प्रशासनको प्राथमिकताको बारेमा जानकारी दिएँ,’ बेरीले भने ।

उनले जलवायु परिवर्तनमा पेरिस सम्झौतामा फर्कने र विश्व स्वास्थ्य संघठनमा पहिलेको भन्दा अझै दोब्बर प्राथमिकताका साथ प्रभावकारी रुपमा फर्कने पनि नयाँ प्रशासनको नीति रहेको जानकारी दिए । राजदूत बेरीले बाराक ओबामा प्रशासनले एसियाली क्षेत्रमा अघि बढ्नका लागि अघि सारेको नीति एसिया–प्यासिफिक वा इन्डो–प्यासिफिक जे उल्लेख गरे पनि अमेरिकाको नीतिमा खासै परिवर्तन नआउने बताए । उनले अझै अमेरिकाको यसलाई लिएर के नीति आउँछ भन्ने विषमा प्रष्ट नभइसकेको बताए ।

राजदूत बेरीले नेपालको अहिलेको राजनीतिक संकटलाई आन्तरिक मामिला रहेको भन्दै यसमा अमेरिकाले अपरिपक्क धारणा राख्नु उचित नहुने बताए । उनले तिब्बतीसहित अन्य मुलुकका शरणार्थीको सवालमा अमेरिकाको अडान पहिलेको जस्तै यथावत रहेको बताए । बेरीले नेपाली सेनासँग अमेरिकाको लामो इतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै विपद् व्यवस्थापन र संयुक्त राष्ट्र संघ अन्तर्गत शान्ति मिसनमा नेपालको योगदान रहेको बताए ।

प्रकाशित : माघ १९, २०७७ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?