२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

‘बर्डफ्लुबाट जोगिन मासु राम्ररी पकाएर खाऔं’

बर्डफ्लु देखिएको ठाउँमा पन्छीको सम्पर्कमा आएकालाई रुघाखोकी देखिए स्वास्थ्य निकायमा सम्पर्क गर्न अपिल
अतुल मिश्र

काठमाडौँ — उपत्यकाभित्रै पालेका पन्छीमा बर्डफ्लु संक्रमण पाइएपछि सरकारले मासु र अन्डा राम्ररी पकाएपछि मात्र खान उपभोक्तालाई अपिल गरेको छ । हाँस–कुखुरा पालेकाहरूलाई रुघाखोकीको लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क राख्न पनि सूचना जारी गरेको छ । 

‘बर्डफ्लुबाट जोगिन मासु राम्ररी पकाएर खाऔं’

काठमाडौंको तार्केश्वर–७ साङ्लेखोला फुटुङका बासिन्दाले पालेका टर्की र हाँसमा गत शुक्रबार बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) पुष्टि भएको थियो । पशु सेवा विभागले शनिबार उक्त क्षेत्र सिल गर्दै त्यहाँका हाँस, कुखुरा, टर्की र बट्टाईसँगै अन्डा र दाना नष्ट गरेको थियो । बर्डफ्लुको भाइरसले चराहरूमार्फत मानव स्वास्थ्यमा असर पार्ने भएकाले फुटुङ र वरपर बसोबास गर्नेहरूलाई सतर्क रहन विभागले सूचना जारी गरेको हो । सर्वाधिक पालिने र किनबेच हुने कुखुरामा भने बर्डफ्लु पाइएको छैन ।

सतर्कता अपनाउँदा मानिसमा सजिलै संक्रमणको जोखिम नभए पनि पन्छीपालक, पोल्ट्री व्यवसायी, मासु बिक्रेता र उपभोक्ता सतर्क हुनैपर्ने विज्ञहरूले बताएका छन् । ‘मानिसमा बर्डफ्लुको संक्रमण भयो भने मृत्यु हुन सक्ने घटना करिब दुई वर्षअघि नै मुलुकमा देखिसकिएको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘तर संयोगले त्यसताका उक्त संक्रमण एक जनाबाट अर्को देखिएन । तैपनि सबैले स्वास्थ्य सुरक्षाको उपाय अपनाउनु अत्यावश्यक छ ।’

यसअघि देखापरेको बर्डफ्लुले काभ्रेका एक २१ वर्षीय युवकको मृत्यु भएको थियो । कडा प्रकारको रुघाखोकीले ग्रस्त भएपछि उनी २०७५ चैत १० मा काठमाडौंको एक अस्पताल भर्ना भएका थिए । पाँच दिनपछि मृत्यु भएको थियो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को जापानस्थित प्रयोगशालामा ती युवकको र्‍यालको नमुना पठाउँदा उनलाई बर्डफ्लु (एच५एन१) को संक्रमण देखिएको पुष्टि भएको थियो । बर्डफ्लुले नेपालमा मानिसको मृत्यु भएको यो पहिलो घटना नै थियो ।

डब्लूएचओका अनुसार प्रयोगशाला प्रमाणित एभियन इन्फ्लुएन्जा ए (एच५एन१) ले विश्वमा सन् २०२० सम्ममा ८ सय ६२ वटा संक्रमण र ४ सय ५५ मृत्यु भएको तथ्यांक छ । हाल बर्डफ्लु देखिएको स्थान, वरपर मात्र नभई जुनसुकै ठाउँमा पनि मरेका चराचुरुंगी आदिको मासु नखान सल्लाह दिँदै डा. अधिकारीले भने, ‘स्वस्थ चराचुरुंगीको मासुसमेत राम्ररी पकाएर, सम्भव भए प्रेसर कुकुरमा सिट्ठी लगाएर खानु सुरक्षित हुन्छ ।’

स्वस्थ कुखुरा र कुखुराजन्य उत्पादन तथा अन्य चराचुरुंगी खान सुरक्षित भए पनि राम्ररी पकाउनुपर्ने उनले बताए । बर्डफ्लुको भाइरस तातोप्रति संवेदनशील हुन्छ । सामान्य खाना पाक्ने तापक्रममा पनि यो भाइरस मर्छ ।

बर्डफ्लु पुष्टि भएको क्षेत्रमा निःसंक्रमण गरिए पनि सतर्कताका लागि ‘हाफ वोइल्ड (पूरा नपाकेको) अन्डा खान नहुने बताउँदै डा. अधिकारी भन्छन्, ‘अन्डालाई राम्ररी उमालेर खानुपर्छ, पोच, फ्राई गर्दासमेत राम्ररी पाकेको सुनिश्चित गर्नु स्वास्थ्य सुरक्षाको दृष्टिकोणले राम्रो हुन्छ ।’ मासुलाई पकाउँदा त्यसको सबै भागमा कम्तीमा ७० डिग्री सेल्सियस तापक्रम पुग्नुपर्ने उनले बताए । ‘मासु राम्ररी पाकेको हुनुपर्छ, हाडभित्र लगायतका सबै भाग राम्ररी पाकेको सुनिश्चित गरेर खाँदा फरक पर्दैन,’ उनले भने ।

बर्डफ्लुको संक्रमण प्रत्यक्ष संक्रमित, मृत पन्छी वा प्रदूषित वातावरणसँग सम्बन्धित हुन्छ । यसले मानिसलाई सजिलै संक्रमण गर्दैन । मानिसबाट मानिसमा सजिलै सर्दैन । कुखुरा, पन्छीहरूको काँचो मासु काँटछाँट गर्ने वा पकाउनेहरूले नांगो हात खुला नाकमुख गरी काम गर्नु हुँदैन । हातमा पञ्जा, मुखमा मास्क वा लुगाले छोपेर वा एप्रोन लगाएर मासुको काम गर्दा यो संक्रमणको जोखिम कम हुन्छ ।

यतिमात्र नभई मासु काँटछाँट गरेपछि राम्ररी साबुन पानीले हात धुनुपर्छ । प्रयोग गरिने भाँडाकुँडा, औजार र अचानोलाई सफा गर्नुले संक्रमणबाट जोगिन सकिन्छ । विज्ञहरूका अनुसार हाल बर्डफ्लु देखिएका स्थान र वरपरमा रुघाखोकीका लक्षण भएका व्यक्तिहरूसँग सावधानी अपनाएर सम्पर्क गर्नुपर्छ ।

यो फ्लुले चराचुरुंगी मरेका ठाउँमा एक्कासि धेरै जनालाई रुघाखोकीको संक्रमण देखिए तुरुन्त सरकारी निकायमा सूचित गर्नुपर्ने औंल्याउँदै डा. अधिकारी भन्छन्, ‘चराचुरुंगीको प्रत्यक्ष सम्पर्कमा आउनबाट बच्नुपर्छ । पालेका पन्छीलाई सुरक्षा अपनाएर टाढैबाट दानापानी दिनुपर्छ, परेका पन्छी र तिनका सुलीबाट टाढा बस्नुपर्छ ।’ चराचुरुंगीमा संक्रमण गर्ने बर्डफ्लु भाइरसले मानिसलाई संक्रमण हुँदा गम्भीर रुघाखोकी साथै अंगप्रत्यंगले काम गर्न नसक्ने भएर मृत्युसमेत हुने जोखिम रहन्छ ।

एकअर्कामा सरेको अवस्थामा बर्डफ्लुको भाइरसलाई स्वरूप परिवर्तन गर्न सक्ने मानिन्छ । मानिसमा बर्डफ्लुको संक्रमण भएको लक्षणअन्तर्गत उच्च ज्वरो, खोकी लाग्नु, मांसपेशी, घाँटी दुख्नु, पेट, छाती दुख्ने र पखाला लाग्नेसमेत हुन सक्छ ।

प्रकाशित : माघ १९, २०७७ ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?