१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

चीनले ३ लाख डोज कोरोना खोप अनुदान सहयोग गर्ने

जगदीश्वर पाण्डे

काठमाडौँ — दक्षिणी छिमेकी भारतपछि अब उत्तरी छिमेकी चीनले पनि नेपाललाई कोरोना भाइरसको भ्याक्सिन अनुदान सहयोगमा दिने भएको छ । चीनले नेपाललाई ३ लाख डोजको कोरोना खोप अनुदान सहयोग गर्ने भएको हो ।

चीनले ३ लाख डोज कोरोना खोप अनुदान सहयोग गर्ने

नेपाली मिडियालाई आइतबार प्रक्रिया दिँदै नेपालस्थित चिनियाँ राजदूतवासका तृतीय सचिव लुआन सीउतानले चीन सरकारले एक लाख ५० हजार नेपाली जनतालाई लगाउन पुग्ने गरी ३ लाख डोज खोप उपलब्ध गराउन लागेको जानकारी दिएका हुन् ।

चीनले नेपाललाई सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको भ्याक्सिन दिन लागेको हो । चिनियाँ दूतावासका अनुसार सिनोफार्मको खोप सुरक्षित र प्रभावकारी रहेको छ । यस्तै सिनोफार्म खोपले विश्व स्वास्थ्य संगठनले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरेको समेत दूतावासको दाबी छ । चीन सरकारले उक्त खोपलाई ससर्त अनुमति दिएको र हालसम्म २ करोड ४० लाख जनालाई दिइसकेको दाबी पनि दूतावासले गरेको छ ।

दूतावासका अनुसार उक्त खोपको ‘एफिकेसी’ ७९.३४ प्रतिशत रहेको छ र यूएई, ईजिप्ट, हंगेरी र पाकिस्तानलगायत विश्वका १३ वटा राष्ट्रमा यसले आपत्कालीन प्रयोग अनुमति प्राप्त गरिसकेको छ । लुआनले चिनियाँ राष्ट्रपति सी चिनफिङले खोपको विकास भएसँगै विश्वलाई पनि उपलब्ध गराउने प्रतिबद्धता जनाए अनुसार नै नेपालको आग्रहमा चीनले खोप उपलब्ध गराउन लागेको बताए ।

यस्तै, खोप प्रयोगका लागि आवश्यक अनुमति पाउन दूतावास आफैंले सम्बन्धित निकायहरुसँग छलफल गरिरहेको पनि दूतावासले बताएको छ ।

औषधि व्यवस्था विभागले हालसम्म केवल भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्डलाई मात्रै ससर्त आपत्कालीन प्रयोग अनुमति दिएको छ ।

विभागले अनुमति दिएसँगै भारतले नेपाललाई करिब दुई साता अघिमात्रै १० लाख डोज कोरोना भाइरसको खोप अनुदान सहयोग गरिसकेको छ ।

प्रकाशित : माघ १८, २०७७ २०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?