२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

एक चौथाइ कामपछि ‘शिलान्यास’ !

पुल निर्माणको भौतिक प्रगति २५ प्रतिशत र कुल रकममध्ये १४ प्रतिशत भुक्तानी भइसकेको ।
काशीराम डाँगी

रोल्पा — नेकपा ओली समूहद्वारा आयोजित कार्यक्रममा सहभागी हुन रोल्पा आएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अनुगमन गर्ने बेलामा सडक पुलको शिलान्यास गरेका छन् ।

एक चौथाइ कामपछि ‘शिलान्यास’ !

भौतिक प्रगति २५ प्रतिशतभन्दा बढी भएको धाङ्सी खोला सडक पुलको शनिबार शिलान्यास गर्दै मुख्यमन्त्री पोखरेलले जनतालाई विकासमा सहभागी हुन आह्वान गरेका हुन् ।

चार महिनाअघि ठेक्का सम्झौता भई एक चौथाइ निर्माण कार्य सकिएको पुलको शिलान्यास मुख्यमन्त्री पोखरेल आफैं आएर गर्दा कतिपयले ‘चुनावी’ नारासहित गाउँ पसेको टिप्पणी गरेका छन् । पुलको निर्माण कार्य धमाधम भइरहेकाले अनुगमन गर्नुपर्नेमा मुख्यमन्त्री पोखरेलले सस्तो लोकप्रियताका लागि पुलको शिलान्यास गरेको अधिकांसको आरोप छ । पत्नी सुजिता शाक्यसहित पुल निर्माणस्थल पुगेका मुख्यमन्त्री पोखरेलले राजनीतिक भाषण भने गरेनन् । मुख्यमन्त्री पोखरेलले विगतको राजनीतिक गतिविधिमा बहुसंख्यक जनता सहभागी भएको उल्लेख गर्दै अब विकासको गतिमा पनि सहभागी हुन आह्वान गरे ।

मुख्यमन्त्री पोखरेलका साथ पुल शिलान्यासस्थल पुगेका रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले राजनीतिक रुपमा चर्चा कमाएको रोल्पाका जनतालाई विकासका गतिविधिमा सामेल हुन मुख्यमन्त्रीले गरेको आह्वान सराहनीय रहेको बताए । सदरमुकाम लिबाङसँग धाङ्सी, धबाङ, होमा, मिरुल, कुरेली गाउँलाई सडक मार्गले जोड्न प्रदेश सरकारले उक्त पुल निर्माण गर्न थालेको हो । सम्झौता अवधिदेखि दुई वर्षभित्र निर्माण गरिसक्नुपर्ने सर्तसहित उक्त पुल निर्माण जिम्मेवारी एसियाटिक/राज जेभीले लिएको हो । प्रि स्टेज प्रकारको सडक पुलको कुल लागत ५ करोड ६१ लाख ४९ हजार ५ सय ४९ छ ।

पुल निर्माणको भौतिक प्रगति २५ प्रतिशत र कुल रकममध्ये १४ प्रतिशत बजेट भुक्तानी गरिसकिएको जिल्लास्थित सडक पूर्वाधार विकास कार्यालयका प्राविधिक धनबहादुर घलेले बताए । करिब ६० मिटर लामो पुल बनाउन भारतबाट तयारी सामान (लठ्ठा) ल्याउनुपर्नेछ भने ३०/३० मिटरको दूरीमा दुईवटा स्पान छन् । पुलको निर्माण सम्पन्न कार्य ०७९ भदौ २४ मा हुनेछ । प्रदेश सरकारले उक्त पुलसहित रोल्पामा ६ वटा पुल एकैसाथ निर्माण गरिरहेको छ ।

प्रकाशित : माघ १७, २०७७ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?