टिंकर सडकमा ठेक्का लाग्छ, काम हुँदैन

१२ वर्षअघि खन्न थालिएको १ सय ४० किलोमिटर सडकको ४३ किलोमिटर मात्रै ट्र्याक खुलेको छ । असारदेखि काम ठप्प छ ।
मनोज बडू

दार्जुला — देशलाई चीन र भारतसँग जोड्ने गरी दार्चुलाको पश्चिम क्षेत्रमा निर्माणाधीन दार्चुला–टिंकर सडक रणनीतिक हिसाबले महत्त्वपूर्ण छ । यसको निर्माण तीव्र गतिले अघि बढाउने घोषणा राज्यले डेढ दशकअघि नै गरेको हो । त्यसअनुसार अनेकपटक ठेक्का लागेको पनि छ तर काम अघि बढेको छैन ।

टिंकर सडकमा ठेक्का लाग्छ, काम हुँदैन

महाकाली लोकमार्गअन्तर्गत (४२६ किमि) अन्तर्गत पर्ने टिंकर सडकको हाल हेर्दा यस्तो लाग्छ, सरकारले आफ्नै वाचा भुलेको छ । बाह्र वर्षअघि खन्न थालिएको १ सय ४० किलोमिटर यो सडकको हालसम्म ४३ किलोमिटर मात्रै ट्र्याक खुलेको छ । त्यही पनि असारदेखि काम ठप्प छ । दार्चुला–टिंकर सडक योजनाले २०६५ सालमा सदरमुकाम खलंगाबाट ट्र्याक खोल्न थालेको थियो ।

व्यास गाउँपालिका–२ तोसरपानीमा गत असार दोस्रो साता ट्र्याक खोल्ने क्रममा माथिबाट खसेको चट्टानले डोजर च्यापिएपछि रोकिएको काम फेरि सुरु भएको छैन । फेरि ट्र्याक खोल्न सुरु नभएको व्यास–२ का नन्दनसिंह धामीले बताए । ‘सुरुमा माथिबाट सडकको चट्टानी भूभाग कटिङ गरेको र पछि तलबाट कटिङ गर्दा माथिको भाग खसेर डोजर च्यापिएको हो,’ उनले भने, ‘अहिलेसम्म डोजरसमेत निकालिएको छैन ।’

सुन्सेरादेखि घाटीबगडसम्मको सडक खण्डमा २०७० असार २३ मा अमर सूर्य जेभी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । २०७१ असोज २२ सम्म १ लाख ९४ हजार घनमिटर कटिङ गर्ने सम्झौता भए पनि अझै करिब डेढ लाख घनमिटर कटिङ गर्न बाँकी रहेको दार्चुला–टिंकर सडक योजनाका इन्जिनियर एवं सूचना अधिकारी राजकिशोर शाहले जानकारी दिए । पटक–पटक गरी ठेक्काको म्याद २०७७ मंसिर २० सम्म थपिएको थियो ।

अहिले पनि खासै काम भएको छैन । उक्त ठेक्काको मुख्य कार्य चट्टा कटिङ हो । ठेकेदारले कटिङ छाडेर तारजाली राख्ने काम मात्र गरिरहेको उनको भनाइ छ । अहिलेसम्म यो ठेक्का रद्द गरी नयाँ ठेकेदारलाई काम सम्पिनुपर्ने स्थानीयको माग छ । ‘एउटै ठाउँमा यत्तिको समय खर्च गरेपछि योजनाको काममा प्रगति कम देखिएको हो,’ स्थानीय हरकसिंह कार्कीले भने ।

सडक योजना कार्यालयले राताकाठा क्षेत्रमा ठेकेदारले नै ढिलासुस्ती गरेकाले सडकको ट्र्याक खोल्नमा समस्या देखिएको बताउँदै आएको छ । ठेकेदार भने कार्यालयले समयमा विस्फोटक पदार्थ उपलब्ध नगराएकाले समयमै काम गर्न नसकिएको बताउँछन् । सुरुमा ठेकेदारको ढिलासुस्ती र बीचका ३/४ वर्ष विस्फोटक पदार्थ उपलब्ध नहुँदा टिंकर सडकको कार्यप्रगतिमा ढिलासुस्ती आएको योजना प्रमुख अच्युतविलास पन्तले बताए ।

ठेकेदारको ढिलासुस्ती र सडक कार्यालयको लापरबाहीले राज्यको प्रमुख प्राथमिकतामा पर्नुपर्ने सडक निर्माणको गति धिमा छ । पश्चिम क्षेत्रको त्रिदेशीय नाकाका रूपमा विकास हुनुपर्ने सडक निर्माणमा कसैले चासो नदिँदा ढिलाइ भएको स्थानीय बताउँछन् । कार्यालयले ठेकेदार र ठेकेदारले कार्यालयलाई दोष लगाएर पन्छिने गरेको व्यासका समाजसेवी जयसिंह धामीले बताए । ‘काम नगर्ने ठेकेदार या प्रमुखलाई कारबाही गरिएको भए यति ढिला हुने थिएन,’ उनले भने ।

योजना कार्यालयका अनुसार आगामी असार मसान्तसम्म सदरमुकाममाथिका सबै ठेक्काअनुसारका काम सक्ने गरी ठेकेदारलाई परिचालन गरिएको छ । तर यो सडकको सुन्सेरा–माल खण्डमा अझै काम सुरु नभएको स्थानीयले बताए । मुख्य ठेकेदारले पेटीमा काम गर्न दिएपछि ढिला भएको सूचना अधिकारी साहले बताए ।

अबको केही दिनमा मुख्य ठेकेदार आएर द्रुतगतिमा निर्माण गर्ने जनाइएको छ । शाहका अनुसार लास्कु खोला र निजङगाड खोलाको पुल निर्माण अन्तिम चरणमा पुगेका छन् । ६ वर्षदेखि निर्माणाधीन पुलहरू यसै आवको असारसम्म सक्ने गरी काम भइरहेको छ । सडक सुधारको काम हिकिलाको पोखराभीर, विजयपुर, तङलेभीर, चुकपानी र कोरकट्र्या भीरमा असारसम्म कटिङ सक्ने गरी सुर्मासरोवर निर्माण सेवाले काम गरिरहेको छ ।

‘संघीय सरकारबाट जिल्लामा चालु र सम्पन्न भएका अधिकांश योजनामध्ये यो सडकले सुरुदेखि बजेटमा प्राथमिकता पाए पनि ठेकेदार र योजना कार्यालयको लापरबाहीका कारण निर्माण सुस्त गतिमा थियो,’ दुहु गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले भने, ‘स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि निर्माणमा तदारुकता दिन सम्बन्धित कार्यालयलाई दबाब दिइएकाले व्यासको सुन्सेरासम्म सडकको ट्र्याक खुलेको हो ।’

अझै पनि आयोजना कार्यालयले महाकाली लोकमार्गको टिंकर खण्डलाई भन्दा तल्लो जहाँ सडकको पहुँच पुगेको क्षेत्रलाई प्राथमिकता दिएर निर्माण कार्य गरिरहेको छ । विगत वर्षमा यो सडक योजनामा विनियोजन भएको बजेटमध्ये ६० प्रतिशत फ्रिज भएको छ । तीन/चार वर्षयता विभागले यो सडक खण्डमा विनियोजन गरेको बजेट खर्च नहुने देखिएपछि तान्ने गरेको छ ।

चार वर्षअगाडि टिंकर सडकलाई महाकाली कोरिडोर (हाल लोकमार्ग) मा गाभिएपछि माथिल्लो सडकको निर्माण प्रभावित भएको व्यास गाउँपालिकाका अध्यक्ष दिलीपसिंह बुढाथोकीले बताए । अहिले ४ सय २६ किलोमिटर करिडोरमध्ये करिब डेढ सय किलोमिटर ट्र्याक खोलिएको तथ्यांक योजनाले देखाएको छ ।

यो तथ्यांकलाई आधार मान्दा माथिल्लोभन्दा तल्लो सडकलाई योजना कार्यालयले प्राथमिकता दिएको देखिन्छ । ‘हामी निर्वाचित हुनुअगाडिसम्म टिंकर खण्डमा विस्फोटक पदार्थ नहुँदा प्रायः काम ठप्पजस्तै थियो,’ उनले भने, ‘हामी आएपछि निजी हाइड्रोपावर कम्पनीसित सापटीमा विस्फोटक पदार्थ उपलब्ध गराउन सहजीकरण गरेर दिइएको छ । यति गर्दा पनि हाम्रो क्षेत्रमा जति काम हुनुपर्ने हो, त्यति भएन ।’

टिंकर सडकको कोठेधारभन्दा माथिको ८७ किलोमिटर खण्डको ट्र्याक खोल्ने जिम्मा नेपाली सेनाले पाएको छ । गत वैशाख २४ गते सरकारले घाटीबगडमाथिको सडक खण्डको ट्र्याक खोल्ने काम सेनालाई दिएको हो ।

सडक निर्माणका लागि सेनाले सुन्सेरा र दुम्लिङमा गरी दुईवटा क्याम्प राख्नका लागि ठाउँ हेरिसकेको र सुन्सेरामा जग्गा भाडा लिन स्थानीयसित सम्झौता भइसकेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए । यसका लागि काठमाडौंबाट सेनाको विकास निर्माण निर्देशनालयको करिब एक सय जनाको सैनिक टोली दार्चुला पुगेको छ ।

प्रकाशित : माघ १५, २०७७ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?