१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जुम्लाको मार्सी चामल अब ‘नेपाल फुड’

राजु चौधरी

काठमाडौँ — जुम्लाको मार्सी चामल अब ‘नेपाल फुड’ ब्रान्ड बनेको छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले नै मार्सीलाई ब्रान्डिङ गरेको हो । यसका लागि पहिलो चरणमा सुर्खेतबाट खरिद गरिएको २ सय ७० क्विन्टल मार्सी चामल काठमाडौं ल्याएर प्याकेजिङ भइरहेको कम्पनीका बिक्रीवितरण विभाग प्रमुख भीम थापाले बताए ।

जुम्लाको मार्सी चामल अब ‘नेपाल फुड’

दोस्रो चरणमा कम्पनीले जुम्लाबाटै थप ३ हजार क्विन्टल मार्सी धान खरिद प्रक्रिया सुरु गरेको छ । ‘सुर्खेतबाट ल्याएको मार्सी चामल प्याकेजिङ भइरहेको छ । बिहीबारदेखि नै उपभोक्ताले किन्न पाउँछन् । यसको मूल्य प्रतिकिलो २ सय २५ रुपैयाँ निर्धारण गरेका छौं,’ थापाले भने, ‘खाद्यले तोकेको मूल्य बजार भाउभन्दा धेरै सस्तो छ ।’

कम्पनीका अनुसार बजारमा एक किलो मार्सीको मूल्य २ सय ४० देखि २ सय ६० रुपैयाँसम्म पर्छ । सुर्खेतको बजारमै खुला प्रतिकिलो १ सय ८५ रुपैयाँमा खरिद गरेको खाद्यले ढुवानी, प्याकेजिङ खर्च, लोड–अनलोड, प्रशासनिक खर्चलगायत जोडेर खुद्रामा आफूले बेच्ने मूल्य निर्धारण गरेको जनाएको छ ।

‘फलाउनेलाई केही राहत होस् भनेर सुर्खेतका किसानसँग समन्वय गरेर पहिलो लट ल्यायौं,’ थापाले भने, ‘बिहीबारदेखि काठमाडौंको थापाथली, नक्खु, भक्तपुर, रामशाहपथ आउटलेटबाट बिक्री सुरु गर्छौं । बिक्री कक्ष नआई अनलाइनबाट किन्छु भन्नेलाई पनि डेलिभरी दिने व्यवस्था गरेका छौं ।’

दोस्रो चरणमा जुम्लाबाट धान खरिद गर्न कम्पनीले प्राथमिक खरिद समिति गठन भएको जनाएको छ । सरकारी प्रक्रियाअनुसार गठित समितिमा अध्यक्ष सम्बद्ध जिल्लाका प्रमुख जिल्ला अधिकारी हुने व्यवस्था छ । सदस्यमा खाद्य कम्पनी, कृषि ज्ञान केन्द्र, कृषि कार्यालयले तोकेको कृषक र सम्बन्धित हुन्छन् ।

टोलीले स्थानीय उत्पादन, बजार मूल्य र सीमावर्ती दरभाउ विश्लेषण गरेर उचित मूल्य तोक्छ । जुम्लाको मार्सी धान खरिद गर्न प्रतिकिलो १ सय २ रुपैयाँ ५० पैसा तोकिएको छ । किसानहरूले चामल नै बिक्री गरे प्रतिकिलो १ सय ६२ रुपैयाँ ५० पैसा निर्धारण भएको थापाले बताए ।

‘जुम्लाको मार्सी धान आइतबारदेखि खरिद हुन्छ । किसानहरूले चामल बिक्री गरे चामलै पनि खरिद गर्ने व्यवस्था गरेका छौं,’ उनले भने, ‘जुम्लामा खरिद गरिएको धान सुर्खेतमा प्रशोधन गर्छौं । जुम्लामा मिल भए त्यहीं पनि गर्न सकिन्छ, त्यसपछि उपत्यकामा बिक्री गर्छौं ।

तीन वर्षअघि आफ्नो घरमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई मार्सी चामलको भात खुवाएको भन्दै व्यवसायी दुर्गा प्रसाईंको फोटो सञ्चारमाध्यममा सार्वजनिक भएको थियो । उक्त फोटो बाहिरिएपछि मार्सी चामलले निकै चर्चा पाएको थियो ।

निजी क्षेत्रका खाद्य व्यवसायी र फर्महरूलाई आकर्षित गरेको मार्सी चामल मुलुकका प्रमुख बजारका डिपार्टमेन्टल स्टोरहरूबाट बिक्री सुरु भएको थियो । निजी क्षेत्रका फर्महरू अहिले पनि मार्सी चामल बिक्री गरिरहेका छन् ।

खाद्यले ढिला गरी मार्सी बिक्री गर्न थाल्नु सरकारकै प्रवर्द्धनको नीति अघि बढाएको जनाएको छ । जुम्लाबाटै मार्सी धान खरिद गर्नुको मुख्य उद्देश्य बजारीकरण भएको कम्पनीले जनाएको छ । मार्सी चामलसँगै खाद्यले कर्णालीको सिमी पुनः खरिदबिक्री गर्ने योजना पनि बनाएको छ । खाद्यले २०७४ सम्म सिमी, फापरलगायत गेडागुडी खरिद गर्दै आएको थियो ।

कर्णालीकै उत्पादन खरिद गर्न सरकारले अनुदानसमेत दिँदै आएको थियो तर खरिद गरिएको सिमी तथा फापर खाद्यले अपेक्षित परिमाणमा बिक्री गर्न सकेन ।

प्रकाशित : माघ १५, २०७७ ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?