कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नेकपा विग्रहलाई कसरी हेर्दैछ चिनियाँ कम्युनिस्ट पार्टी ? [टिप्पणी]

'नेपालको राजनीतिक अस्थिरता पुनः स्थिरतामा परिणत होओस् भन्ने चाहना चीनको देखिन्छ । कम्युनिस्ट हुनुको नाताले कुनै न कुनै झुकाव देखिए पनि चीनले सधैँ स्थिरताको पक्षमा वकालत गर्दै आएको छ।'
लक्ष्मी लम्साल

बेइजिङ — तीन वर्षअघि नेपालका कम्युनिस्ट पार्टीहरू मिलेर दुई तिहाइको सरकार बनेपछि विश्वमा एउटा सन्देश सञ्चार भएको थियो, नेपालमा लगानीका लागि स्थिर वातावरण बन्यो ।

नेकपा विग्रहलाई कसरी हेर्दैछ चिनियाँ कम्युनिस्ट पार्टी ? [टिप्पणी]

सबैभन्दा खुसी भएका शक्ति राष्ट्रहरूमध्ये उत्तरी छिमेकी चीन थियो । जसले बीआरआई परियोजनाअन्तर्गतका विकास निर्माणका सम्झौताहरू ढुक्कैसँग अघि बढ्ने सोचिरहेको थियो । नेपाल र चीनबीच सन् २०१७ देखि बीआरआईअन्तर्गतका मनमोहक परियोजनाहरू अघि सारिएका थिए जसबाट नेपालको अर्थतन्त्र सक्रिय हुने अपेक्षा थियो ।

सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले एउटा दुर्लभ नेपाल भ्रमण पनि गरे । त्यो सन् १९९६ यताकै सबैभन्दा उच्च राजनीतिक भ्रमण थियो । त्यसअघि २०७६ वैशाखमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि बेइजिङ भ्रमण गर्दै बीआरआई सम्मेलनमा भाग लिएकी थिइन् । बीचमा दुवै देशका कम्युनिष्ट पार्टीबीचको राम्रो अन्तरक्रिया र समझदारी पनि चलिरहेको थियो । तर नेपालका कम्युनिष्टहरू मिल्न सक्दैनन् भन्ने उदाहरणलाई चरितार्थ गर्दै अन्ततः सरकार र पार्टीबीच विग्रह पैदा भयो जसको असर अहिले दिनदिनै काठमाडौंका सडकहरूमा पोखिन थालेको छ । नेकपाभित्रको घरायसी झगडाका कारण सिंगो मुलुकमा ‘साइड इफेक्ट’ देखा पर्न थालेको छ, यो अस्थिरताको आगो झन् झन् फैलिने क्रममा छ ।

गत पुस १२ मा चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागको टोलीले नेपाल भ्रमण गरेर रिपोर्टिङ गरेयता बेइजिङले सुन्ने गरी केही बोलिरहेको छैन । सोही भ्रमणलाई लिएर पुस १३ मा बेइजिङमा चिनियाँ परराष्ट्र प्रवक्ता चाउ ली च्येनले भारतीय पत्रकारको प्रश्‍न सामना गर्दा ‘आपसी मित्रता गहन पार्ने भ्रमण’ भन्दै टारेका थिए । तर नेकपाको रस्साकस्सी झन् झन् असहिष्णु बन्दै गइरहेको अवस्थामा भाइचाराको सम्बन्ध ठान्ने चिनियाँ कम्युनिष्ट पार्टी नेपाली कम्युनिष्ट पार्टीप्रति के सोचिरहेको होला ?

नेपालका घनिष्ट दुई छिमेकीमध्ये एउटा छिमेकी जो राजनीतिक स्थायित्व होस् र व्यापारिक साझेदारी गर्न पाइयोस् भन्ने चाहन्छ, अर्को छिमेकी जो राजनीतिक हस्तक्षेप गर्न पाइयोस र नेपाली नेताहरूको वैमनस्यता देख्न पाए तुष्टि हुने ठान्दछ । हुन त, नेताहरूले छिमेकीका लागि एकतालाई भत्काएको नहुन पनि सक्छ । तथापि आन्तरिक कलहले सिंगो राष्ट्रमाथि अस्थिरताका सूचकांकहरू उकालो लाग्ने निश्चित छ ।

नेकपाका नेताहरू एकआपसमा विभक्त हुने बित्तिकै भारतीय नेताहरूदेखि विज्ञहरूले हाइसञ्चोसँग आफ्नो जीत ठानिरहेका थिए भने चीनको हार । यो खुल्लमखुल्ला नेपाली तथा भारतीय सञ्चारमाध्यममा छताछुल्ल भइसकेको कुरा हो । त्यस यता नेपाली नेताहरूको दिल्ली दौड र भित्री रुपमा चलखेलका अनेकन उठबस देखिन थालेका छन्।

नेकपाका नेताहरू सडकमा उत्रिएर एकापसमा गालीगलौज गरिरहँदा चिनियाँ सक्रियताको परिमाण घटेको जस्तो देखिन्छ । के चीन फेरि नेपालका कम्युनिस्टहरु एकैठाउँमा आऊन् भन्ने चाहँदैन अथवा आफ्ना परियोजनाहरू टुंग्याउनका लागि स्थिर सरकार फर्कियोस् भन्ने चाहँदैन ? कौतुहलता जो कसैमा जाग्नु स्वाभाविकै हो ।

नेपालको राजनीति केही आधा दर्जन पाका नेताहरूको वरिपरि घुम्ने गर्छ । त्यसैमाथि यही प्रणालीमा परिवारवाद हावी छँदैछ। नेकपाको मिलन चाहिँ फरक फरक स्कुलिङ र प्रशिक्षणबाट भएको थियो जुन एउटै कक्षाभित्र अभ्यास हुन बाँकी नै थियो । यसमा नेताहरू आफैंले पनि ढिलाइ गरिरहेका थिए । त्यसबीचमा चिनियाँ र नेपाली कम्युनिस्ट पार्टीबीच पनि अन्तर्क्रियाको सिलसिला चल्दै थियो ।

समग्रमा दुवै देशबीचमा उच्चस्तरीय राजनीतिक भ्रमण,नेपालमा स्थिर सरकार र विकासको राम्रो वातावरण बन्दै थियो । तर सन् २०२० नलाग्दै विश्वमा कोरोना फैलिन थालेदेखि नेपालमा राजनीतिक उथलपुथलको सिलसिला सुरू भयो । नेपालमा कम्युनिस्ट मिलेपछि अधिकांश मित्रराष्ट्रहरू दुःखी भइरहेका बेला कोरोनाले टुटाएको देश देशबीचको आपसी सम्पर्कको परिणति नै नेपाली राजनीतिक अस्थिरता बन्यो ।

नेपालको राजनीतिक अस्थिरता पुनः स्थिरतामा परिणत होओस् भन्ने चाहना चीनको देखिन्छ । कम्युनिस्ट हुनुको नाताले कुनै न कुनै झुकाव देखिए पनि चीनले सधैँ स्थिरताको पक्षमा वकालत गर्दै आएको छ। अरु छिमेकी शक्तिहरू चाहे जसरी कठपुतली सरकार बनोस् भन्नेमा चिनियाँ चासो देखिँदैन। जनवरी २५ तारिख दाभोस विश्व आर्थिक मञ्चलाई बेइजिङबाट सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले छिमेकी मित्रराष्ट्रमाथिको हस्तक्षेपका प्रवृत्तिको विरोध गर्नुले पनि यही संकेत गरेको थियो ।

नेपालमा प्रजातन्त्र आएदेखि पूर्णकालीन सरकार बनेको छैन। चार चार जना प्रधानमन्त्री र पार्टी नेतृत्वको स्वाद चाखिसकेका शक्तिशाली नेताहरू सम्मिलित पार्टी र सरकारमा देखिएको ‘इगो’का कारण नेकपा यस्तो स्थितिमा पुग्ला भनेर चीनले पक्कै पनि सोचेको थिएन।

आपसी ‘डिल’ भएकाले केही लेनदेनमा टुंगिएला भन्ने सोचिरहेको चीन पुष ५ को अप्रत्याशित निर्णयले पक्कै झस्किएको हो। पार्टी बन्ने क्रममा भत्किने र चर्किने भइरहने बुझेको चीनले अझैसम्म केही बिग्रिएको ठानेको छैन। कथंकदाचित चुनाव भइहालेमा वाम घटक मिलेर जाने र भविष्यमा स्थिर सरकार बन्ने चीनले सोचेको हुनसक्छ।

दुई दशकदेखि चीनमा बस्दै आएका नेपाली डाक्टर राजीव झा चिनियाँ मनोविज्ञानतर्फ इंगित गर्दै भन्छन्, ‘चीनले अघि सारेको बीआरआई परियोजनाहरू हालका लागि अवरुद्ध मात्रै भएका हुन्, तर रद्ध नै भएका होइनन् भन्नेमा चीन छ। केही समयको रस्साकस्सीपछि नेकपा पुनः एकै ठाउँमा उभिने वा कुनै तहबाट सहकार्य हुनेमा चीन आशावादी देखिन्छ।’

त्यसो त मौनताका साथ परिस्थितिको आकलन गर्ने चीनको स्वभाव हो। सोझै अर्काको आन्तरिक राजनीतिक मामिलामा हस्तक्षेप गर्ने चिनियाँ चरित्र होइन, त्यसैले चिनियाँ नेताहरू हाकाहाकी नेपालबारे बोलिरहेका देखिँदैनन्। अथवा नेपाली राजनीतिक उछलकुदलाई त्यति महत्व नदिइरहेका पनि हुनसक्छन्।

तथापि भित्री मनोविज्ञान बुझ्दा नेकपाको पुनःमिलनप्रति चिनियाँ नेताहरू अन्ततः आशावादी देखिने बुझ्न सकिन्छ। चीनको राज्यपरिषदअन्तर्गतको संस्था सीआईसीआईआरको दक्षिण तथा दक्षिणपूर्व अध्ययन केन्द्रका निर्देशक हु श् शङ्को विचारमा राष्ट्रिय चासोलाई बुझ्ने हो भने नेकपा फेरि एक ठाउँमा आउनसक्ने बताउँछन्। उनी यति मात्रै भन्छन्, ‘यदि राष्ट्रिय इच्छालाई सर्वोपरि ठान्छन् भने ‘यस्’ अन्यथा ‘नो’।’

प्रकाशित : माघ १५, २०७७ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?