नौ हजारले बुधबार लगाए खोप

काठमाडौँ — सरकारले कोरोनाविरुद्धको खोप अभियान बुधबार सातै प्रदेशबाट सुरु गरेको छ । पहिलो चरणमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने व्यक्ति, सुरक्षाकर्मीलगायतले खोप लगाउनेछन् ।

नौ हजारले बुधबार लगाए खोप

भारत सरकारले अघिल्लो साता उपलब्ध गराएको १० लाख डोज खोप पहिलो चरणमा बुधबारदेखि लगाउन सुरु गरिएको हो । देशभरका १ सय २० भन्दा बढी केन्द्रबाट पहिलो दिन ९ हजारभन्दा बढीले खोप लगाएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

यो खोप तोकिएका सरकारी स्वास्थ्य संस्था वा केन्द्रबाट १८ वर्ष माथिकाले प्राथमिकताका आधारमा निःशुल्क लगाउन पाउँछन् । पहिलो चरणको पहिलो दिन बुधबार बेलुकासम्म देशभर ९ हजार ७४२ जनाले खोप लगाएका छन् ।

प्रदेश १ मा पहिलो खोप कोसी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले लिए । धेरै अनुसन्धान गरेर ल्याइएकाले खोप उपयुक्त रहेको उनको भनाइ थियो । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार पहिलो चरणमा बुधबार प्रदेशका ८ जिल्लाका १९ केन्द्रबाट खोप सेवा सञ्चालन गरिएको थियो । अग्रपंक्तिमा खटिने ३५ हजार ५ सय ८३ जनालाई खोप लगाउने तयारी रहेको उनले बताए ।

सरकारले पहिलो चरणमा अग्रपंक्तिका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतलाई खोप लगाउने भने पनि प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले सरकारी मापदण्ड तोड्दै पहिलो खोप आफैंले लगाए । कोरोना संक्रमित भइसकेका उनलाई प्रादेशिक अस्पताल जनकपुरमा पहिलो खोप लगाइएको थियो । खोपप्रतिको विश्वसनीयता बढाउन र सर्वसाधारणलाई निर्धक्क खोप लिन सन्देश दिन आफैंले पहिलो खोप लगाएको उनले प्रतिक्रिया दिए । सर्लाहीमा पनि खोप लगाउन सुरु गरिएको छ ।

जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जीव सिंहले खोप अरूलाई विश्वस्त पार्न पहिलो खोप आफूले लगाएको बताए । ‘विश्व स्वास्थ्य संगठनले प्रमाणित गरिसकेको खोप लगाउँदा केही पनि हुँदैन, मैले लगाएपछि अन्य कर्मचारीले पनि लगाए,’ उनले भने । जिल्लामा ७ हजार खोप माग गरिएकामा ५ हजार ३ सय मात्र उपलब्ध भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख श्रवणकुमार नायकले बताए ।

वाग्मती प्रदेशमा हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रवीण श्रेष्ठलाई खोप लगाएर अभियानको सुरुवात गरियो । मुख्यमन्त्री डोरमणि पौडेलले स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर अभियानको सुरुवात गरेका थिए । सामाजिक विकास मन्त्रालय सचिव दीपेन्द्र काफ्लेले प्रदेशका १३ जिल्लामा ६४ हजार १ सय ९२ जनालाई खोप लगाउने कार्यक्रम राखिएको जानकारी दिए । हेटौंडामा संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ७६ हजार डोज खोप प्राप्त भएको छ । प्राप्त खोप वाग्मती प्रदेशको मकवानपुर, चितवन र सिन्धुली तथा प्रदेश २ को बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लालाई पनि उपलब्ध गराइएको छ ।

पर्साको नारायणी अस्पतालमा आयोजित समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले खोप कार्यक्रमको उद्घाट्न गरे । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कामेश्वर चौरसियाका अनुसार जिल्लामा ५ सय ५२ भाइल खोप प्राप्त भएको छ । प्रत्येक भाइलमा १० डोज हुन्छ । खोप लगाएकाहरूले एक महिनापछि पुनः अर्को डोज लगाउनुपर्ने हुन्छ ।

गण्डकी प्रदेशका ११ वटै जिल्लामा बुधबार एकैसाथ खोप लगाइयो । पहिलो चरणमा ३९ हजार १३९ डोज खोप आएको थियो । पहिलो दिन १४ खोप केन्द्र सञ्चालनमा ल्याइएको थियो । माघ १८ सम्म हुने पहिलो चरणको अभियानमा बिहीबारदेखि भने खोप केन्द्र बढाइने प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पहिलो दिन प्रदेशभरका १ हजार ८ सय ५९ जनालाई खोप लगाइएको निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले बताए ।

स्वास्थ्य स्वयंसेविका बिन्दु पाण्डेले खोप लगाइसकेपछि आफ्नो शरीरमा कुनै किसिमको परिवर्तन नआएको बताइन् । ‘कसैकसैलाई टाउको दुख्ने, ज्वरो आउने हुन्छ भन्ने सुनेको थिएँ,’ उनले भनिन्, ‘मलाई त्यस्तो केही असर देखिएन ।’

लुम्बिनी प्रदेशमा बुधबार ६ सय ५८ जनाले खोप लगाएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले बताए । यहाँ तराईका ६ जिल्लाका ८ वटा केन्द्रबाट अभियान सुरु भएको हो । ‘पहाडी जिल्लामा स्वास्थ्यकर्मीलाई तालिम दिएपछि थप अभियान बढ्छ,’ उनले भने । प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले पहिलो खोप लगाएका छन् । सिद्धार्थनगरस्थित भीम अस्पतालका कोरोना फोकल पर्सन डा. सुमित प्रजापतिले खोप लगाउँदा ढुक्क भएको बताए । ‘खोप लगाएको भाग सुन्निने, ज्वरो आउने आदि हुन सक्छ भन्ने बुझेको थिएँ,’ उनले भने, ‘मलाई कुनैखालको लक्षण देखिन सुरु गरेको छैन ।’

कर्णाली प्रदेशमा ७५५ जनाले खोप लगाएका छन् । स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले पहिलो खोप लगाएका थिए । कर्णालीका १० जिल्लामा १२ केन्द्र सञ्चालन गरिएको थियो । निर्देशनालयका अनुसार सुर्खेतस्थित प्रदेश अस्पतालमा २ सय २५ र मेहेलकुना अस्पतालमा ८८ जनाले खोप लगाएका छन् । दैलेखमा २०, सल्यानमा ३०, रुकुम पश्चिममा ३०, चौरजहारी अस्पतालमा ३१, जाजरकोटमा ४०, कालिकोटमा ७९, जुम्लामा १ सय २३, डोल्पामा २०, हुम्लामा २९ र मुगुमा ४० जनाले खोप लगाए । खोप ढुवानीमा ढिलाइ हुँदा केही जिल्लामा मात्र अभियानको सुरुवात भएको डा. खड्काले बताए । कर्णालीका १२ अस्पतालमा ११ हजार ७ सय ६० जनालाई पहिलो चरणमा लगाउन २६ हजार डोज खोप आएको छ ।

सुदूरपश्चिमका ९ मध्ये ८ जिल्लामा खोप अभियान सुरु भएको छ । बाजुराबाहेक अरू जिल्लामा खोप लगाउन थालिएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीले जानकारी दिए । प्रदेशको आपूर्ति केन्द्र धनगढीबाट पठाइएको खोप बुधबार बाजुरा पुग्न नसकेको उनको भनाइ छ । बुधबार प्रदेशभर १ हजार ८२ जनाले खोप लगाएका छन् । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा १ सय ७०, अछाम जिल्ला अस्पतालमा २ सय ३६, बैतडीमा ७८, डडेलधुरामा १ सय २२, दार्चुलामा ५०, डोटीमा १ सय ५६ र कञ्चनपुरमा १ सय २४ जनालाई खोप लगाइएको हो ।

धनगढी उपमहानगरपालिका–५ की महिला स्वयंसेविका तारादेवी शर्माले खोप लगाउन पाएकामा आत्मबल बढेको बताइन् । ‘कोरोनाकालमा गाउँबस्तीका घर जान डर लाग्थ्यो, खोप लगाएपछि त्यो डरबाट मुक्त भएकी छु,’ उनले भनिन् । स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा पहिलो चरणमा १६ हजारभन्दा बढीले खोप लगाउनेछन् ।


प्रकाशित : माघ १४, २०७७ २१:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?