‘जोखिम मोलेर काम गर्‍यौं, सुरुमै खोप लगाउन पाउँदा खुसी छौं’

बुनु थारु

काठमाडौँ — प्राय: बिरामी भरिभराउ रहने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बुधबार माहोल फरक थियो । गेटभित्र प्रवेश गर्नेबित्तिकै ध्वजापताकाले अस्पताल परिसर ढाकिएको देखिन्थ्यो ।

‘जोखिम मोलेर काम गर्‍यौं, सुरुमै खोप लगाउन पाउँदा खुसी छौं’

अस्पताल विवाह महोत्सवभन्दा कम देखिएको थिएन । कोरोना विरुद्धको खोप अभियान सुरु हुने समयको व्यग्र प्रतिक्षामा देखिन्थे चिकित्सक, कर्मचारीलगायत । करिब एक वर्ष अगाडि कोरोना संक्रमितको पहिलो उपचार यही अस्पतालबाट सुरु भएकोले पनि यो ऐतिहासिक दिन थियो ।

खोप लगाउन स्वास्थ्यकर्मीहरुको मुहारमा उत्साह सहजै झल्किएको देखिन्थ्यो । कार्यक्रमस्थलमा उभिरहेका स्वास्थ्यकर्मीहरु डर र खुसी दुवै लागेको अनुभव गरिरहेको बताइरहेका थिए ।

ठीक १० बजे अस्पतालका निर्देशक डा सागरराज भण्डारी तथा कर्मचारीहरुले खोप कार्ड देखाएर ताली पिटी अभियान शुभारम्भ गरे । सबैभन्दा सुरुमा डा. भण्डारीले खोप लगाए । खोप लगाउन पाउँदा उनी निकै हर्षित मुद्रामा देखिन्थे । लगाइसकेपछि उनले यो खोप सुरक्षित रहेको र यसबाट नडराउन आग्रह गरे । ‘मानिसमा खोपबारे डर र त्रास हुनु सामान्य हो तर यो खोप सुरक्षित र प्रभावकारी छ । मैले निर्धक्कसाथ लगाएँ । त्यसैले सबैले सुरक्षित साथ लगाउनुहोला,’डा भण्डारीले भने ।

त्यसपछि क्रमश: डा अनुप बास्तोला, डा वासुदेव पाण्डे, डा रुणा झालगायत व्यक्तित्वहरुले पनि पालैपालो कोरोना खोप लगाए । सबैभन्दा पाका उमेरमा खोप लगाउनेमा थिए अस्पतालका ८० वर्षीय रेडियोलोजिस्ट कन्सल्टेन्ट नेत्रबहादुर अमात्य ।

कोरोना संक्रमण तीव्र रुपमा फैलिएको बेला स्वास्थ्यकर्मीहरुले ज्यान जोखिममा राखेर काम गरे । कति स्वास्थ्यकर्मीले कोरोना संक्रमणका कारण ज्यान नै गुमाए त कति अवहेलना सहे । अस्पतालका सरुवा रोग विशेषज्ञ तथा प्रवक्ता डा. अनुप बाँस्तोलाले बिरामीको सेवामा समर्पित रहेकाहरु कोरोनाविरुद्धको खोप लगाउन अवसर पाएकोमा उत्साहित भएको बताए । ‘एक वर्षको पर्खाइमा आज भ्याक्सिन लगाइयो । हालसम्म पीसीआर पोजिटिभ नभएको र एन्टिबडी पनि देखिएको छैन । जोखिममा छु जस्तो लाग्थ्यो । खोप लगाइसकेपछि डर हटेको जस्तो लागेको छ’डा बास्तोलाले भने ।

उनले भने, ‘फ्रन्टलाइनमा खटेका स्वास्थ्यकर्मीहरुलाई सुरुवातमै खोप दिएर महत्व दिएको छ ।’ ‘अझै पनि सुरक्षाका मापदण्ड पालना गर्नुपर्छ नै । यो खोपले ६२ देखि ९० प्रतिशतसम्म रोग प्रतिरोधात्मक क्षमता बढाउने भन्ने छ । बन्न समय लाग्छ । खोप लगाएको ६ देखि ८ हप्ताभित्रमा बन्छ भन्ने छ, डा अनुपले भने’, ‘कुनै पनि संक्रामक रोगसँग लड्ने एकमात्र उपाय खोप हो । अबको दिनमा कोभिड विरुद्धको खोप अझै प्रभावकारी बन्दै जाला । सस्तो पनि होला । यो सुरुवात हो । सरकारले अब यो अभियान देशव्यापी लानुपर्छ । सहयोगभन्दा पनि अरु खोपका लागि पहल गर्नुपर्छ ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुणा झा पनि खोप लगाउन पाएकोमा खुसी र गौरवान्वित महसुस गरिरहेको बताइन् । डा झाले भनिन्,‘मैले आफूलाई एकदमै भाग्यमानी ठानेकी छु । यो खोप सबैको लागि सुरक्षित छ, खोप लगाउँदा डर लागेन हामीले यहीँबाट कोरोनाको पहिलो परीक्षण गरेका थियौँ । त्यसैले हाम्रो लागि खुसीको दिन हो ।’

खोप लगाएपछि प्रतिक्रिया दिँदै अस्पतालका रिसर्च युनिटका संयोजक डा शेरबहादुर पुनले यो महामारी विरुद्धको पहिलो पाइला भएको बताए । ‘हामीले सुरक्षा कवच लगायौँ । खोप सुरक्षित छ भन्ने मान्नुपर्छ । पोजिटिभ हुन जरुरी छ ,’डा पुनले भने ।

अस्पतालकी ल्याब टेक्निसियन लिजा तामाङ र सोही अस्पतालमा कार्यरत डा किजन महर्जनले पनि सँगै कोरोना विरुद्धको खोप लगाए । सुरुमा त लगाउँ कि नलगाउँ भन्ने भएको रहेछ लिजालाई । तर पछि श्रीमान्‌ले पनि खोप लगाएपछि उनी पनि तयार भइन् । लिजा दसैंतिर कोभिड संक्रमित भएकी थिइन् । लिजाले लगाउनुभन्दा अघि डर नलागे पनि लगाइसकेपछि डर लागिरहेको बताइन् । उनले भनिन्,‘सायद मानिसक रुपमा नै त्यस्तै सोचेर डर लागेको होला ।’

खोप लगाउन पाउँदा सरसफाइ कर्मचारीहरु पनि उत्साहित देखिन्थे । त्यसमध्येकी एक महिलाले खोप लगाउन पाउँदा डर हटेको बताइन् । ‘आफू बाँचे त आफ्नो परिवारलाई बचाउन सकिन्छ ।’

अबको २८ दिनपछि दोस्रो डोज फागुनको १२ गते लगाइनेछ । यस अस्पतालमा २६५ जना कर्मचारीमा रहेकोमा बुधबार पहिलो चरणमा १०४ जनो खोप लगाएका छन् ।

प्रकाशित : माघ १४, २०७७ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?