१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

छबिसपाथिभेरा घटनाको कांग्रेसद्वारा भर्त्सना

काठमाडौँ — बझाङको छबिसपाथिभेरा गाउँपालिका-३ का तरुण दलका स्थानीय नेता २७ वर्षीय अमृतबहादुर सिंहको हत्यालाई लिएर कांग्रेसले गम्भीर भर्त्सना गर्दै ध्यानाकर्षण भएको जनाएको छ ।

छबिसपाथिभेरा घटनाको कांग्रेसद्वारा भर्त्सना

नेकपा कार्यकर्ताहरुले कुटपिट गरी धारिलो हतियार प्रहार गरी सिंहको हत्या भएको भन्दै कांग्रेसले आफ्नो गम्भीर ध्यानाकृष्ट भएको जनाएको हो ।

बुधबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति निकाल्दै उक्त घटनामा संलग्‍न आक्रमणकारीहरुको तत्काल खोजी गरी कडाभन्दा कडा कारबाही गर्न माग राखेका छन् ।

छविसपाथिभेरा—३ मा रहेको वान्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापनको समितिको निर्वाचन सकेर घर फर्कने क्रममा मंगलबार साँझ उनलाई नेकपाबाट निर्वाचित वडाध्यक्ष विकासकुमार ऐडी, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम छविसपाथिभेराका संयोजक प्रकाश ऐडी, ज्ञानबहादुर कडायत, केदार ऐडीको समूहले कुटपिट गरेर धारिलो हतियार प्रहार गरी हत्या गरेको कांग्रेसले आरोप लगाएको छ ।

विज्ञप्तिमा भनिएको छ,'सामान्य विषयलाई लिएर कुनै पनि नागरिकको हत्या हुनु अत्यन्त दुःखद विषय हो । पछिल्लो क्रममा नेकपाका कार्यकर्ताहरुबाट नेपाली कांग्रेसका नेता/कार्यकर्ताहरुमाथि गम्भीर रुपले प्रहार हुन थालेका घटनाहरु आइरहेका छन् । नागरिकको बाँच्न पाउने संविधानप्रदत्त अधिकारमाथि नेकपाका कार्यकर्ताहरुले खुलेआम चुनौती दिन थालेका छन् । भविष्यमा यस्ता घटनाहरु पुनः नदोहोर्‍याउन नेपाल कम्युनिष्ट पार्टीलाई नेपाली कांग्रेस चेतावनी दिन चाहन्छ र आफूलाई जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुनसमेत आग्रह गर्दछ ।'

सम्बन्धित समाचार


प्रकाशित : माघ १४, २०७७ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?