छबिस हत्या प्रकरण : वडाध्यक्षसहित चार जना पक्राउ- समाचार - कान्तिपुर समाचार

छबिस हत्या प्रकरण : वडाध्यक्षसहित चार जना पक्राउ

हत्यारालाई कारबाही माग गर्दै सदरमुकाममा प्रदर्शन
वसन्तप्रताप सिंह

बझाङ — छबिस पाथिभेरा गाउँपालिका–३ का अमृत सिंहको हत्यामा संलग्न भएको आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ परेका छन् । सिंहको मंगलबार राती खुँडा प्रहार गरी हत्या भएको थियो । २३ वर्षीय सिंह नेपाल तरुण दल, छबिस पाथीभेरा गाउँपालिकाका सदस्य हुन् ।

हत्यारालाई कारबाही माग्दै बुधबार सदरमुकाम चैनपुरमा प्रदर्शनमा उत्रिएका स्थानीय । तस्बिर : वसन्तप्रताप सिंह

पक्राउ पर्नेमा छबिस पाथीभेरा–२ का वडाध्यक्ष विकास अयडी, सोही ठाउँका प्रकास अयडी, केदार अयडी र ज्ञानबहादुर कठायत छन् । हत्याका क्रममा वडाध्यक्ष अयडी चढ्ने से१प ७६१ नम्बरको सरकारी मोटरसाइकल प्रयोग भएको प्रहरीले बताएको छ । प्रहरीले मंगलबार राति सदरमुकाम चैनपुरको एक होटलबाट उनलाई मोटरसाइकलसहित पक्राउ गरेको थियो । कठायतलाई स्थानीयले मंगलबार नै घटनास्थलबाट नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए ।

अर्का दुई आरोपी प्रकाश र केदारलाई थलारा गाउँपालिका–३, को जाम्बाँझ गाउँबाट बुधबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रूपक खड्काले बताए । हत्यामा संलग्न रहेको आशंका गरिएका सबै पक्राउ परिसकेको जनाउँदै खड्काले थप अनुसन्धान भइरहेको बताए ।

यसै बीच हत्यारालाई कारबाहीको माग गर्दै सदरमुकाम चैनपुरमा प्रदर्शन गरिएको छ । प्रदर्शनकारीले नाराजुलुस गर्दै सदरमुकामभित्र चल्ने यातायातसमेत बन्द गराएका छन् । उनीहरूले जिल्ला प्रशासन कार्यालयको मूल गेटमा टायर बालेर हत्या अभियुक्तलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन् । नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति पृथ्वीबहादुर सिंहले राजनीतिक आवरणमा हत्या भएको भन्दै संलग्नलाई उम्काउन प्रयास हुन सक्ने आशंका व्यक्त गरे । ‘सत्ता र शक्ति प्रयोग गरेर अपराधीलाई उम्काउने प्रयास हुन सक्छ । यसमा हामीले निरन्तर खबरदारी गर्नै पर्छ,’ उनले भने ।

मंगलबार दिउँसो स्थानीय बान्नीचौर माविको विद्यालय व्यवस्थापन समिति निर्वाचनमा कांग्रेस समर्थक उम्मेदवार विजयी भएको झोंकमा नेकपा समर्थकहरूले सिंहमाथि साँझ ७ बजेतिर खुँडा प्रहार गरेका थिए । सिंहको घटनास्थलमै नै मृत्यु भएको थियो ।

प्रकाशित : माघ १४, २०७७ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्

केपीलाई प्रचण्डतिर र प्रचण्डलाई केपीतिर फर्काइदिने तागत मसँग छ : वामदेव गौतम

इकान्तिपुर डेस्क

काठमाडौँ — नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनपछि दुईतिर फर्किएका अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाललाई एकैतिर फर्काइदिने बताएका छन् । बुधबार नेकपा पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै गौतमले दुवैलाई मिलाउन अधिकतम प्रयास गर्ने बताएका हुन् ।

तस्बिर : इलिट जोशी

‘अहिले उहाँहरु दुईतिर फर्कनु भएको छ, दुईतिर फर्किएकालाई मैले एकैतिर फर्काइदिन्छु । केपी ओली कहिल्यै एकताको पक्षमा हुनुहुन्थेन । प्रचण्डजी म नहुँदा हो नभए जहिल्यै एकताको पक्षमा हो । म एकातिर जान्छु र केपीलाई प्रचण्डतिर फर्काइदिन्छु र प्रचण्डलाई केपीतिर फर्काइदिन्छु, त्यो तागत मसँग छ,’ गौतमले भने ।

आफ्नो अभियानमा दाहाल र ओलीले ‘म जान्नँ’ भन्न नसक्ने अवस्था नहुने उनले बताए । यदि पार्टी एकीकरणबाट विमुख भए ओली र दाहाल सैनिकबिनाको सेनापतिजस्तो हुने पनि गौतमले बताए । यदि वैशाख १७ र २७ गते चुनाव भइहालेमा आफूलाई मन पर्ने व्यक्तिलाई भोट हाल्न पनि गौतमले नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

ललितपुरको धोबीघाटमा आयोजित कार्यक्रमका बीच उपाध्यक्ष गौतमले पार्टी एकता राष्ट्रिय घोषणा गरेका छन् ।

त्यस्तै पार्टी विभाजनका लागि केपी शर्मा ओली र पुष्कमल दाहालको बराबर जिम्मेवार रहेको बताएका छन् । पार्टीमा जुटाउनेभन्दा पनि फुटाउने गतिविधि धेरै भएको पनि उनले बताए ।

‘एउटाले अविश्वासको प्रस्ताव राखेर प्रधानमन्त्रीलाई हटाउने र विकल्पको प्रधानमन्त्री बन्ने साथै अर्काले तिमीले बहुमत पुऱ्याउँदै छु मैले प्रतिनिधिसभा भंग गरिदिन्छु भन्ने कारणले नै अहिलेको अवस्था आएको हो,’ उपाध्यक्ष गौतमले भने ।

‘तराजुमा राखेर हेर्ने हो भने गल्ती गर्नेमा कसको धेरै छ कसको कम छ भनेर हेर्दा मैले एउटाको बढी र अर्कोको कम देखिनँ । प्रतिनिधिसभा भंगपछि भएको क्षतिको कुरा एउटा हो तर हाम्रो पार्टीको विभाजन भएर यो अवस्था आउनुमा दुवै नेता बराबर जिम्मेवार हुनुहुन्छ,’ गौतमले भने ।

सम्बन्धित समाचार



प्रकाशित : माघ १४, २०७७ १३:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×