कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

पार्टी विभाजन हुनुमा ओली र दाहाल बराबर जिम्मेवार : वामदेव गौतम

'एक अर्कालाई नमस्कार गर्न पनि नसक्ने र सँगै बसेर चिया पनि खान नसक्ने गरी नेताहरु एकअर्काविरुद्धमा गालीगलौजमा उत्रिएका छन् ।'

काठमाडौँ — नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनका लागि केपी शर्मा ओली र पुष्पकमल दाहालको बराबर जिम्मेवार रहेको बताएका छन् । पार्टीमा जुटाउनेभन्दा पनि फुटाउने गतिविधि धेरै भएको पनि उनले बताए । 

पार्टी विभाजन हुनुमा ओली र दाहाल बराबर जिम्मेवार : वामदेव गौतम

‘एउटाले अविश्वासको प्रस्ताव राखेर प्रधानमन्त्रीलाई हटाउने र विकल्पको प्रधानमन्त्री बन्ने साथै अर्काले तिमीले बहुमत पुऱ्याउँदै छु मैले प्रतिनिधिसभा भंग गरिदिन्छु भन्ने कारणले नै अहिलेको अवस्था आएको हो,’ उपाध्यक्ष गौतमले भने ।

‘तराजुमा राखेर हेर्ने हो भने गल्ती गर्नेमा कसको धेरै छ कसको कम छ भनेर हेर्दा मैले एउटाको बढी र अर्कोको कम देखिनँ । प्रतिनिधिसभा भंगपछि भएको क्षतिको कुरा एउटा हो तर हाम्रो पार्टीको विभाजन भएर यो अवस्था आउनुमा दुवै नेता बराबर जिम्मेवार हुनुहुन्छ,’ गौतमले भने ।

बुधबार गौतमले नेकपा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् । ललितपुरको धोबीघाटमा आयोजित कार्यक्रमका बीच उपाध्यक्ष गौतमले पार्टी एकता राष्ट्रिय घोषणा गरेका हुन् ।

एकीकरण अभियानका अध्यक्षसमेत रहेका गौतमले पार्टी पुन: एकीकरणको योजना दुई चरणमा गरिने पनि बताएका छन् । पहिलो चरण प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतको फैसला आउनुअघि र दोस्रो चरणको कार्यक्रमण सर्वोच्चको फैसला आएपछि सुरु हुने गौतमले सार्वजनिक गरेको पार्टी एकीकरणसम्बन्धीको अवधारणापत्रमा उल्लेख छ । दुवै चरणमा पार्टी एकीकरणका विभिन्न विकल्पहरुमा छलफल हुने पनि बताइएको छ ।

वामदेवको अवधारणापत्र : दुवै समूहसँग मित्रता कायम राख्‍नेदेखि संयुक्त सरकार बनाउनेसम्म

प्रतिनिधिसभा पुन:स्थापना भएमा वा निर्वाचन भएमा दुवै अवस्थामा भिन्न–भिन्न केन्द्रअन्तर्गत पार्टी सञ्चालन र कार्यगत एकताको आधारमा निर्वाचनमा सामेल हुने, सरकार सञ्चालन गर्ने अवसर प्राप्त भएमा संयुक्त सरकार सञ्चालन गर्ने प्रक्रिया अवलम्बन गरिने पनि अवधारणापत्रमा उल्लेख छ ।

त्यस्तै दुई समूह एक नभई विभाजन भएमा दुवै पार्टीसँग मित्रवत् सम्बन्ध राख्ने पनि अवधारणापत्रमा उल्लेख गरिएको छ । उपाध्यक्ष गौतमले व्यवहारिक र राजनीतिक रुपमा नेकपा फुटिसकेको भए पनि कानुनी रुपमा अझै पार्टी नफुटेको पनि बताएका छन् ।

गौतमले एक अर्कालाई नमस्कार गर्न पनि नसक्ने र सँगै बसेर चिया पनि खान नसक्ने गरी नेताहरु एकअर्काविरुद्धमा गालीगलौजमा उत्रिएको पनि बताए ।

प्रकाशित : माघ १४, २०७७ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?