वामदेवको अवधारणापत्र : दुवै समूहसँग मित्रता कायम राख्‍नेदेखि संयुक्त सरकार बनाउनेसम्म 

काठमाडौँ — नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् । ललितपुरको धोबीघाटमा आयोजित कार्यक्रमका बीच उपाध्यक्ष गौतमले पार्टी एकता राष्ट्रिय घोषणा गरेका हुन् । 

वामदेवको अवधारणापत्र : दुवै समूहसँग मित्रता कायम राख्‍नेदेखि संयुक्त सरकार बनाउनेसम्म 

एकीकरण अभियानका अध्यक्षसमेत रहेका गौतमले पार्टी पुन: एकीकरणको योजना दुई चरणमा गरिने पनि बताएका छन् ।

पहिलो चरण प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतको फैसला आउनुअघि र दोस्रो चरणको कार्यक्रम सर्वोच्चको फैसला आएपछि सुरु हुने पार्टी एकीकरणसम्बन्धीको गौतमले तयार पारेको अवधारणापत्रमा उल्लेख छ । दुवै चरणमा पार्टी एकीकरणका विभिन्न विकल्पहरुमा छलफल हुने पनि बताइएको छ ।

प्रतिनिधिसभा पुन:स्थापना भएमा वा निर्वाचन भएमा दुवै अवस्थामा भिन्न–भिन्न केन्द्रअन्तर्गत पार्टी सञ्चालन र कार्यगत एकताको आधारमा निर्वाचनमा सामेल हुने, सरकार सञ्चालन गर्ने अवसर प्राप्त भएमा संयुक्त सरकार सञ्चालन गर्ने प्रक्रिया अवलम्बन गरिने पनि अवधारणापत्रमा उल्लेख छ । त्यस्तै दुई समूह एक नभई विभाजन भएमा दुवै पार्टीसँग मित्रवत् सम्बन्ध राख्ने पनि अवधारणापत्रमा उल्लेख गरिएको छ ।

उपाध्यक्ष गौतमले व्यवहारिक र राजनीतिक रुपमा नेकपा फुटिसकेको भए पनि कानुनी रुपमा अझै पार्टी नफुटेको पनि बताएका छन् । प्रतिनिधिसभा पुन:स्थापनापछि पनि पार्टी एकीकरण नभए निर्वाचन अवधि र त्यसपछि पनि निरन्तर प्रयास गरिने पनि अवधारणापत्रमा उल्लेख छ ।

पार्टीको एकता राष्ट्रिय अभियानमा केन्द्रमा एक अधिकारसम्पन्न केन्द्रीय समन्वय समिति रहने बताइएको छ । केन्द्रमा अधिकतम ६ सय ५१ सदस्य रहने व्यवस्था गरिएको र केन्द्रीय समन्वय समितिमा धेरैमा १ सय ५१ सदस्यीय कार्यसम्पादन समिति गठन गरिने पनि अवधारणापत्रमा उल्लेख छ ।

त्यस्तै प्रत्येक प्रदेशमा प्रदेश समन्वय समिति गठन गर्ने र त्यसमा प्रदेशअन्तर्गत रहेका केन्द्रीय सदस्यहरु र जिल्ला समितिका संयोजकहरु पदेन सदस्य रहने एकता अभियानको अवधारणापत्रमा उल्लेख छ ।

पार्टी एकताका लागि प्रत्येक वडामा अधिकतम १५ जनाको संख्यामा समन्वय समिति र आवश्यक संख्याको सचिवालय बनाइने पनि अवधारणापत्रमा उल्लेख छ ।

यसअघि गौतमले जुन समूहले अध्यक्ष दिन्छन् त्यही समूहमा आफू जाने भनेको कुरा राससमा प्रकाशित भएको थियो । राससमा प्रकाशित उक्त समाचार इकान्तिपुरलगायत विभिन्न सञ्चारमाध्यमबाट सम्प्रेषित भएको थियो । तर गौतमले पछि उक्त समाचार सत्य नभएको उल्लेख गर्दै खण्डन गरेका छन् ।

गौतमको एकता अभियानमा नेकपा केन्द्रीय सदस्य हरि पराजुली, विघटित प्रतिनिधिसभा सदस्य माया ज्ञवाली, तुलसा थापा, कीर्तिपुरका मेयर रमेश महर्जन र उपमेयर सरस्वती खड्का, वाग्मती प्रदेश सांसद विनोद खड्कालगायत सहभागी छन् ।

प्रकाशित : माघ १४, २०७७ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?