कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

जुम्लाको गोठीगाउँमा आगलागी : २५ घर जले

एलपी देवकोटा

जुम्ला — जुम्लाका तिला गाउँपालिका–७ गोठीगाउँमा २५ घर जलेर नष्ट भएका छन् । मंगलबार साँझ गोठीगाउँमा आगलागी हुँदा गाउँका २५ घर जलेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । 

आगलागीको खबर पाएपछि खलंगा बजारबाट प्रहरी निरीक्षक नवीन थापा मगरको कमान्डमा १५ जना र प्रहरी चौकी रारालिहीबाट प्रहरी नायब निरीक्षक झुपेन्द्रबहादुर शाहीको कमान्डमा ३ जना र प्रहरी चौकी कुडारीबाट प्रहरी जवान नरेन्द्र देउवाको कमान्डमा ३ जनाको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनास्थलमा रहेको टोलीले आगलागीबाट २५ घर जलेर नष्ट भएको खबर पठाएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी युवनकुमार चौधरीले बताए । ‘गाउँका घरहरु जलेर नष्ट भएका छन्,’ उनले भने, ‘मानवीय क्षति भने भएको छैन, अन्नबाली र चौपायाको क्षति भएको भन्ने खबर छ । यकिन विवरण अझै आइसकेको छैन ।’

आगलागी भएको गाउँ खलंगा बजा देखि ३५ किलोमिटर पश्चिममा रहेको छ । गोठीगाउँमा हिउँदमा खासै मान्छे नबस्ने भएकाले मानवीय क्षति नभएको तिला गाउँपालिकाकी उपाध्यक्ष विष्णु बुढाले बताइन् ।

गोठीगाउँका बासिन्दा हिउँदमा चिसो छल्न बेसी झर्ने र गाउँमा केही कुरुवा मात्रै बस्ने भएकाले मानवीय क्षति हुनबाट जोगिएको उनले जानकारी दिइन् । ‘गाउँमा पैदल हिँडेर जानुपर्छ, जनशक्ति कम भएकाले आगो नियन्त्रणमा लिन सकिएन,’ उनले भनिन्, ‘क्षतिको विवरण संकलन भइरहेको छ । मंगलबार साँझदेखि आगलागी भएकोमा बुधबार बिहान सबै मिलेर आगो नियन्त्रणमा लिन सफल भएका छौँ ।’

प्रकाशित : माघ १४, २०७७ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?