केटूको चुचुरोमा गुन्जियो ‘सयौं थुँगा...’

सुरज कुँवर

काठमाडौँ — यसपालाको हिउँदेयाममा निर्मल पुर्जा पाकिस्तानको ‘ज्यानमारा हिमाल’ भनिने विश्वको दोस्रो अग्लो चुचुरो केटू आरोहण गर्ने मुडमै थिएनन् । तर, बाध्यता आइलाग्यो । त्यो के थियो भने, यसपटक विभिन्न मुलुकका ४० भन्दा बढी आरोही जसरी भए पनि हिउँदयाममा आरोहण हुन नसकेको केटू चढ्न कराँचीतर्फ लागेको खबरले विदेशी मिडियामा प्राथमिकता पायो ।

केटूको चुचुरोमा गुन्जियो ‘सयौं थुँगा...’

त्यो खबरले हालै ८ हजार अग्ला १४ वटा हिमाल ६ महिनामै आरोहण गरेर विश्व कीर्तिमान बनाएका पुर्जालाई पनि झोलीतुम्बा कसेर पाकिस्तानतर्फ जान बाध्य बनायो ।

८ हजार ६ सय ११ मिटर अग्लो केटूमा पहिलो पटक हिउँदकालीन आरोहण गर्न सफल नेपाली आरोहण दललाई प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सम्मान कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा म्याग्दीका ३७ वर्षीय पुर्जाले भने, ‘यो समय केटू आरोहण गर्न चुक्यौं भने हामी नेपाली सधैंका लागि पछि परेको पर्‍यै हुने थियौं । त्यसैले म केटू आरोहण गर्ने टिम बनाएर पाकिस्तानतर्फ लागें ।’

८ हजार अग्ला हिमालको घर भनेर नेपाल विश्वभर चिनिए पनि ती हिमालमा पहिलो पटक पाइला राख्नेलगायतका कीर्तिमान विदेशीले बनाउँदै गएका घटनाले पुर्जाको मन घोचिरहेको थियो । विश्वमा ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमचुचुरा (पहिचान भएका) मध्ये ८ वटा त नेपालमै छन् ।

नेपाली शेर्पाहरूको बहादुरीबिना अरूले आरोहण गर्नै नसक्ने विश्वलाई जानकारी भएको, विदेशीले यी हिमाल आरोहण गरेर कीर्तिमानी बनाउने गरेको अवस्थामा जसरी पनि हिउँदयाममा आरोहण हुन बाँकी एकमात्र केटू हिमालमा रेकर्ड बनाउनुपर्ने बाध्यता रहेको पुर्जाले बताए । ‘पहिलो सगरमाथा आरोही एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पापछि ठूलो हलचल ल्याउने काम नेपालीबाट हिमाल आरोहणमा नभएकाले यसपटक जसरी पनि केटू जानैपर्ने थियो,’ कान्तिपुरसँग कुरा गर्दै उनले भने ।

तर यसपटक उनको यात्रा सोचेझैं सहज भएन । उनका सामु दुइटा चुनौती थिए । कोरोनाका कारण विश्वभर लकडाउन र २ करोड हाराहारी खर्चको जोहो । कोरोनाको चुनौती त सामना गरे । तर, पैसा जुटाउन उनलाई हम्मे पर्‍यो । उनले विदेशी कम्पनीसँग सहायताका लागि गुहार्नुपर्‍यो ।

२३ दिन लगाएर माघ ३ गते दिउँसो केटूको सफल आरोहण गरेर विश्वभरका मिडियामा पहिलो प्राथमिकता पाइरहेका उनले पर्यटन र सञ्चारमन्त्रीका साथ मञ्चमा बसेका प्रधानमन्त्री ओलीलाई भने, ‘के गर्नु हजुर, गरिब देशमा जन्म भयो न त सरकार बलियो छ । देशबाहिर धनी–धनी नेपाली दाजुभाइ पनि थिए तर कसैले हामीलाई सहायता गरेनन्, चित्त दुख्छ ।’ उनले भावुक हुँदै थपे, ‘हामीले गोजीको पैसा झिक्नुपर्‍यो । देशले के दियो भन्नु भन्दा देशलाई हामीले के दियौं भनेर प्रश्न गर्नु भन्छन् नि, हामीले त्यसै गर्‍यौं ।’

पुस अन्तिममा काठमाडौंबाट दोहा हुँदै पाकिस्तान पुगेका उनले केटू आरोहण गर्दैगर्दा केही शेर्पा साथी आरोहण रद्द गरेर फर्किने अवस्थामा पुगेको स्मरण गरे । ‘तर हामीले मनैदेखि देशका लागि गर्नुपर्छ भनेर ज्यानको बाजी लगाउँदै आरोहण यात्रालाई निरन्तरता दियौं,’ उनले खुसी साटे, ‘त्यसै कारण पछिल्लोपटक यो आरोहणको सफलताको समाचार विश्वभरका ४ अर्ब मानिससमक्ष पुगेको छ ।’

आरोहणका क्रममा ३५ किलोको भारी, माइनस ६० डिग्री सेल्सियस तापक्रम, कम्तीमा सय किलोमिटर प्रतिघण्टाको गतिमा बहने हावालाई छिचोल्दै गरिएको आरोहण एक व्यक्तिले नभई सामूहिक रूपमा गरिएको प्रधानमन्त्री उपस्थित रहेको कार्यक्रममा उनले दोहोर्‍याए । ‘मान्छेलाई लोभ हुन्छ । मान्छे नामको भोगी हुन्छ । टोली नेताले एक्लै अघिअघि चढ्न पनि सक्थ्यो । तर हामीले त्यसो गरेनौं,’ आरोहण गर्दाको पल सम्झिए, ‘चुचुरोमा पुग्नुअघि १० मिनेट एक ठाउँमा सबै जम्मा भयौं । राष्ट्रिय गान गाउँदै एकैसाथ राष्ट्रिय झन्डा फहराउँदै चुचुरोमा पाइला राख्यौं ।’

नेपाली एकताबद्ध हुँदा विश्वसामु के गर्न सकिँदैन भन्ने आफूहरूले सन्देश दिन चाहेको उनले उल्लेख गरे । ‘हामी एक भयौं भने जित हासिल गर्न सक्छौं । विभाजित भयौं भने असफल हुन्छौं,’ हाल पार्टी विभाजन झेलिरहेका प्रधानमन्त्रीलाई यसो भनिरहँदा फ्लोरमा बसेका अतिथिहरूले तालीले हुटिङ गरे । ‘के गर्ने, देश गरिब भए पनि हाम्रो मन ठूलो छ । सोच बढी छ,’ यति भनेपछि प्रधानमन्त्री अघिल्तिरको भुइँमा राखिएका कुर्सीमा बसेका आफ्ना ८ आरोही साथीलाई उनले कुर्सीबाट उठ्न भने । राष्ट्रिय झन्डा, खादा र अबिरले सिँगारिएका उनका सहयात्री पनि उठे । हलमा फेरि ताली गुन्जियो ।

पुर्जाले प्रधानमन्त्रीतर्फ हेर्दै भने, ‘यो इतिहास अब कहिल्यै दोहोरिँदैन । प्राइममिनिस्टर सर, तपाईं हाम्रो अभिभावक हुनुहुन्छ । हामी तपाईंका बच्चाहरू हौं । तपाईंका छोराहरूले विश्वमा नेपाललाई छाती फुलाएर, ज्यान ठोकेर परिचय गराएर आयौं । चुचुरोमा हामीले नेपालको झन्डा लगेका थियौं । अब हाम्रो टिमका तर्फबाट त्यो झन्डा देशका लागि तपाईंलाई हस्तान्तरण गर्न चाहन्छौं ।’

यति भनेर उनी झन्डा दिन प्रधानमन्त्रीको कुर्सीछेउ गए । चुचुरोमा फहराइएको झन्डा ९ जना आरोहीले एकसाथ प्रधानमन्त्रीलाई हस्तान्तरण गरे । हलमा भेला भएका पर्यटन व्यवसायी, आरोही, तिनका परिवारजन र संघसंस्थाका प्रतिनिधिले फेरि सम्मानसाथ ताली पड्काए । झन्डा हस्तान्तरण गर्नुअघि प्रधानमन्त्रीको सुरक्षार्थ खटिएका सैनिकले उक्त झन्डालाई सेनिटाइज गरेका थिए ।

बालुवाटार जानुअघि पुर्जाले बिहान पर्यटन बोर्डमा आयोजित कार्यक्रममा ‘खोइ हाम्रो सरकार’ भन्दै दुःख पोखेका थिए । पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मी प्रमुख अतिथि रहेको कार्यक्रममा उनले भनेका थिए, ‘यसपटक हामीले हड्डीदेखि नै देशको नाम फेरि एकपटक विश्वसामु पुर्‍याउने सपना देख्यौं । विश्वसामु हाम्रो सन्देश प्रस्ट थियो । कुनै एक व्यक्ति लोभी भएर वा स्वार्थी भएर होइन, हामी सप्पै राष्ट्रिय गान गाउँदै एकैपटक चुचुरोमा पुग्यौं । हामीले हाम्रा राजनेतालाई पनि सन्देश दिनु थियो । त्यसैले एक्लै होइन, १० जनाले एक साथ मिलेर चुचुरोमा पाइला राख्यौं ।’

पाकिस्तानबाट दोहा हुँदै सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका १० मध्ये ९ आरोहीलाई पाकिस्तानमा पनि भव्य स्वागत गरिएको थियो । पुर्जाका अनुसार त्यहाँका राष्ट्रपति, सेना प्रमुख, पर्यटनमन्त्रीलगायतले स्वागत गरेका थिए । तर, मंगलबार काठमाडौं विमानस्थल र बोर्डमा पर्यटनमन्त्री भानुभक्त ढकाल गएनन् । उनले विमानस्थलमा सचिव यादव कोइरालालाई पठाएका थिए भने बोर्डको कार्यक्रममा उपसचिव मीरा आचार्यलाई ।

प्रधानमन्त्री ओलीले टोली केटू आरोहणमा जाने बेला सरकारलाई जानकारी गराएको भए सहयोग गर्न सकिने बताए । उनले अब सरकारले आरोहण क्षेत्रका व्यक्तिका लागि छुट्टै सम्मान पदक स्थापना गरिने आश्वासन पनि दिए । प्रधानमन्त्रीले बोलिसकेपछि पुर्जाले फेरि समय मागे ।

‘पछि भेटौं भने चान्स पाइन्न होला । प्रधानमन्त्रीज्यू, अब हामी हिमाल आरोहणमा नयाँ उचाइमा जाने बेला भएको छ । आरोहण मात्रै पुरानो भयो, विश्वलाई पर्यटनमा केही नयाँ गरेर देखाउन चाहन्छौं । अब हिमाल आरोहण गरेर चुचुरोबाटै उडेर फर्किने योजना बनाउँदै छौं । यसमा सरकारले सहयोग गर्नुपर्‍यो,’ उनले भने, ‘यो परियोजनालाई प्रधानमन्त्री, पर्यटनमन्त्रीलगायतसँग अग्रिम सहयोगको आशा राखेका छौं ।’

उनको कुरा सुनिसकेपछि प्रधानमन्त्रीले टाउको हल्लाउँदै सहमतिको इसारा गरे । पुर्जाले अबको समय नेपालमै रहेर पर्यटनमा असम्भव कामलाई सम्भव बनाउँदै युवा पुस्तालाई प्रेरणा दिने काममा लागिरहने बताएका छन् ।

प्रकाशित : माघ १४, २०७७ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?