दाहाललाई पार्टी सदस्यता दिने खम्बसिंह रहेनन्



चितवन — नेकपाका केन्द्रीय सल्लाहकार समितिका सदस्य खम्बसिंह कुँवरको मंगलबार बिहान भरतपुरमा निधन भएको छ । पार्टीमा ‘काजी बा’ भनेरसमेत चिनिने कुँवर नेकपाका वर्तमान अध्यक्ष पुष्पकमल दाहाललाई पार्टी सदस्यता दिने पुराना वामपन्थी नेता हुन् । कुँवरप्रति अन्तिम श्रद्धाञ्जली दिन अध्यक्ष दाहाल मंगलबार मध्यान्ह भरतपुर आएका थिए ।

पार्टी कार्यालय कृष्णनगरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा अध्यक्ष दाहालले कुँवरले आफूलाई २०३३ सालमा पार्टी सदस्यता दिएको बताए । आफ्नो राजनैतिक जीवन कुवँरका कारण पूर्ण भएको उनले बताए । ‘हुन त मैले कम्युनिस्ट पार्टीको सदस्यता २०२८ सालमै लिएको हो । त्यो बेला पुष्पलाल समूहको सदस्यता लिएको थिएँ । म चितवनबाट गोरखा आरुघाटमा पढाउन गएका बेला कुँवरबाट सदस्यता लिएँ,’ दाहालले भने ।
पुष्पलाल समूहबाट अलग रहँदै नेपाल कम्युनिस्ट पार्टीको एउटा घटकले २०३१ सालमा चौथो महाधिवेशन गरेको थियो । त्यो समूहलाई चौम (अर्थात चौथो महाधिवेशन) भनेर चिनिन थाल्यो । आफूलाई कुँवरले ३३ सालमा चौमको सदस्यता दिएको दाहालले बताए । सोही समूह टुटफुट र एकता प्रक्रियाबाट अगाडि बढ्दै मसाल, मशाल, एकता केन्द्र र कालान्तरमा माओवादी बन्यो । दाहाल मशालबाट पार्टीको नेतृत्वमा पुगे ।
मशालबाट माओवादी हुने चरण र माओवादीभित्र पनि अनेक टुटफुट र एकता नभएका हैनन् । तर कुँवर सधै दाहालको साथमा रहे । कुनै बेला आफै सदस्य भएर पछि त्यागेको पुष्पलाल समूहसमेत मिलेर बनेको नेकपा एमालेसँग दाहालले पार्टी एकता गरेर तीन वर्षअघि नेपाल कम्युनिस्ट पार्टी गठन गरे । यसमा पनि फुट आइसकेको छ । तर कुँवर अन्तिम समयसम्म दाहालसँगै रहे ।
खम्बसिंह कुँवरको जन्म विक्रम संवत् १९८४ सालको वैशाख १० मा लमजुङमा भएको थियो । रोजगारीका सिलसिलामा भारत पुगेर सेनामा भर्ना भए । तर त्यहाँको कम्युनिस्ट पार्टीका मान्छेसँग सम्पर्क हुन थालेपछि नेपालमा पनि यही पार्टीमा लाग्नु पर्छ भनेर उनी २०१० सालमा घर फर्के । वर्ष दिनपछि उनले पार्टी सदस्यता लिए । उनी २०१५ सालमा चितवन आए । ३१ सालमा नेकपा चौम समूहको केन्द्रीय सदस्य हुँदै पोलिटब्युरोमा चयन भए ।
खम्बसिंहको जीवनका बारेमा जानकार चितवनका लेखक डीआर पोखरेल ४६ सालमा बहुदल आएपछि विभिन्न कम्युनिस्ट घटकबीचमा एकीकरण भएर ४८ सालमा गठन भएको नेकपा एकता केन्द्रको उनी सल्लाहकार भए । पछि यो पार्टी पनि फुटेर माओवादी बनेपछि पनि उनले यही भूमिकामा रहेर भूमिगत राजनैतिक जीवन बिताएको पोखरेलले बताए । कुँवर सधैँ एकीकृत कम्युनिस्ट आन्दोलनको पक्षमा देखिन्थे ।
नेकपा अध्यक्ष दाहालले शोकलाई शक्तिमा बदल्ने उल्लेख गर्दै भने, ‘अहिले पार्टीमा जुन संकट, जुन गम्भीर धक्का जस्तो लागेको छ । यस्तो बेलामा उहाँलाई गुमाउनु झनै दु:खदायी अवस्था हो । तर हामी शोकलाई शक्तिमा बदल्ने भन्छौं । उहाँको योगदान र उत्प्रेरणालाई आत्मसात गरेर प्रतिगमनकारी र प्रतिक्रान्तिकारी विचलनविरुद्ध लड्ने तागत जुटाउँछौँ ।’
दुई छोरा र चार छोरी रहेका स्वर्गीय कुँवरको श्रीमतीको केही वर्षअघि निधन भएको थियो ।
मिर्गौला, रक्तचाप, मधुमेह जस्ता रोगहरुले पीडित कुँवरलाई हप्ता दिनअघि भरतपुरको सरकारी अस्पताल भर्ना गरेकोमा त्यहीँ उनको निधन भएको हो । स्वर्गीय कुँवरको मंगलबार नै देवघाटमा दाहसंस्कार गरिएको छ । केही दिनपछि पार्टीले भरतपुरमा श्रद्धाञ्जली सभा आयोजना गर्ने नेकपा चितवनले जनाएको छ ।
प्रकाशित : माघ १३, २०७७ १४:०९