जसले दोहोरो संक्रमण भोगे- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जसले दोहोरो संक्रमण भोगे

वर्षौंदेखि एचआईभी संक्रमण भोग्दै आएकाहरु कोरोनाको पनि चपेटामा परे तर हार मानेनन् । हालसम्म ३० जना एचआईभी संक्रमितमा कोरोना पुष्टि भएकामा सबै निको भएका छन् ।
फातिमा बानु

काठमाडौँ — तीन दशकदेखि एचआईभी संक्रमणसँग जुध्दै आइरहेकी ४७ वर्षीया सुनिता डंगोल (नाम परिवर्तन) लाई गत कात्तिकको एक दिन शरीर करकरी खायो । ज्वरो आउने, चिटचिट पसिना आउने, शरीर कमजोर हुने जस्ता कोरोना संक्रमण हुँदा देखिने सबैजसो लक्षण देखिए ।

उनलाई लाग्यो, ‘शरीरमा पहिल्यैदेखि भाइरस थिए, अब नयाँखाले भाइरस पनि थपिए, जीवन यति नै रहेछ ।’

परीक्षणपछि उनलाई कोरोना संक्रमण पुष्टि भयो । त्यतिबेला शारीरिक र मानसिक दुवै अवस्थाले शिथिल महसुस गरेको उनले सुनाइन् । संक्रमणको जोखिम छ भनेर थाहा हुँदाहुँदै पनि उनी सामाजिक कार्यमा खटिएकी थिइन्, महामारीबीच पनि एचआईभी संक्रमितहरूको अधिकारका लागि लागिपरेकी थिइन् । कहाँ, कोबाट संक्रमण सर्‍यो, उनलाई हेक्का पनि रहेन ।

‘शारीरिक र मानसिक छटपटीले काठमाडौंमा बस्नै मन लागेन,’ उनले भनिन्, ‘मरे पनि गाउँमै मर्छु जस्तो लाग्यो, संक्रमित भएको पाँच दिनमा छोरी लिएर गाउँ गएँ ।’ गाउँमा पनि उनी लामो समयसम्म थला परिन्, लक्षण कम हुँदै गएपछि भने उनलाई अब बाँच्छु कि भन्ने आशा जाग्यो ।

निको भइसकेपछि उनी आफूजस्तै एचआईभी र कोरोना दुवै संक्रमण भएकालाई हौसला दिन सक्रिय छिन् । ‘हाम्रो शरीरमा यसै पनि रोगसँग लड्ने क्षमता कम हुन्छ,’ उनले भनिन्, ‘त्यसैले धेरैलाई कोरोना संक्रमण थपिएपछि मरिन्छ नै भन्ने लाग्छ तर त्यस्तो हुँदैन रहेछ ।’

उनीजस्तै ३५ वर्षीया अर्की एचआईभी संक्रमित तारा महतो (नाम परिवर्तन) पनि कोरोना संक्रमणमुक्त भइन् । उनी १९ वर्षअघिदेखि एचआईभी संक्रमणसँग जुझ्दै आइरहेकी छन् । गत दसैंताका एकाएक गन्ध थाहा नपाउने, शरीर दुख्ने, थकान हुनेजस्ता लक्षण देखिएपछि उनी आत्तिइन् । परीक्षणपछि उनलाई पनि कोरोना संक्रमण पुष्टि भयो । ‘२० दिन क्वारेन्टाइनमा बसें, गम्भीर लक्षण पनि केही देखिए,’ उनले भनिन्, ‘बिस्तारै लक्षण हराउँदै गयो, डर पनि हरायो ।’ अहिले उनी संक्रमणमुक्त छिन्, उस्तै स्वस्थ र आत्मविश्वासी पनि ।

राष्ट्रिय एचआईभी महासंघकी महासचिव इन्द्रा भुसालका अनुसार अझै पनि धेरै एचआईभी संक्रमितमा कोरोना संक्रमणले ज्यानै जान्छ कि भन्ने डर यथावत् छ । रोगसँग लड्ने क्षमता कम हुनु, दीर्घ रोग लाग्दाझैं जीवनभर औषधि खानुपर्ने भएकाले उनीहरूमा त्रास रहेको उनले बताइन् । संघले समुदायमा जाने, दोहोरो संक्रमण भएकालाई परामर्श दिने, औषधि छुटेकालाई घरमै औषधि पुर्‍याउन पहल गरिरहेको छ ।

एचआईची संक्रमितले भाइरससँग लड्ने एन्टिभाइरल औषधि खाइरहने भएकाले उनीहरूमा कोरोना संक्रमणले कम असर गरेको मान्छन्, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन । ‘एन्टिभाइरल औषधि खाएकै कारण उनीहरूलाई कोरोनासँग लड्ने शक्ति मिलेको हो भन्ने कुनै वैज्ञानिक तथ्य पत्ता लागेको भने छैन,’ उनले भने, ‘यो वर्गका व्यक्तिमा कम संक्रमण हुनु, कोही गम्भीर र मृत्यु नहुने तथ्य भएको आधारमा भने यस्तो हो कि भनेर अड्कल काट्न सकिन्छ ।’

दोहोरो संक्रमण हुँदैमा नडराउन, जनस्वास्थ्यका मापदण्ड अपनाउन उनले एचआईभी संक्रमितलाई सुझाए । स्वास्थ्य सेवा विभागको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको सन् २०१८ सम्मको तथ्यांकअनुसार नेपालमा ५४ हजारको हाराहारीमा एचआईभी संक्रमित छन् । जसमध्ये ३० जनालाई कोरोना संक्रमण पुष्टि भएको केन्द्रका जनस्वास्थ्य प्रशासक मदनकुमार श्रेष्ठले बताए ।

‘एचआईभी संक्रमितलाई कोरोना संक्रमण कम भएको जस्तो लाग्छ, तर यसबारे कुनै अध्ययन भने गरेका छैनौं,’ उनले भने, ‘महामारीका बेलामा कुनै संक्रमितको पनि औषधि नछुटोस् भनेर विभिन्न संस्थाहरूको सहयोगमा संक्रमितको घरसम्मै औषधि पुर्‍याउने व्यवस्था भने गरेका छौं ।’ उनका अनुसार नेपालमा हालसम्म एचआईभी संक्रमितको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छैन ।

प्रकाशित : माघ १३, २०७७ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्

मिर्गौला प्रत्यारोपण फेल भएपछि अस्पतालमै अलपत्र

फातिमा बानु

काठमाडौँ — प्रत्यारोपणपछि मिर्गौलाले काम गरेको भए बुद्धसिंह लामा अहिले अस्पतालबाट डिस्चार्ज भएर घरमा आराम गरिरहेका हुन्थे । तर उनी दुई सातादेखि अस्पतालमै अलपत्र परेका छन् । 

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक तथा प्रत्यारोपण शल्यचिकित्सक डा. प्रेमराज ज्ञवालीले नै प्रत्यारोपण गर्दा लापरबाही गरेका कारण मिर्गौला दिने र लिने दुवैले सास्ती झेल्नुपरेको बिरामीको आफन्तले आरोप लगाएका छन् ।

पुस २४ गते मिर्गौला प्रत्यारोपण गर्न भनेर भक्तपुरस्थित प्रत्यारोपण केन्द्रमा भर्ना भएका ३२ वर्षीय लामालाई उनकै ६० वर्षीय बुवाले मिर्गौला दान गरेका थिए । अस्पतालका निर्देशक डा. ज्ञवालीसहितको टोली उनको शल्यक्रियामा संलग्न थियो ।

‘अप्रेशन गर्न ६ घण्टाजति लाग्छ भनेर मामा र हजुरबुवालाई डाक्टरहरूले लैजानुभयो, हामी बाहिर कुरेर बसेका थियौं,’ बुद्धकी भान्जी सपना तामाङले भनिन्, ‘एकैपटक १८ घण्टापछि मात्रै स्वास्थ्यकर्मीहरूले मिर्गौला प्रत्यारोपण फेल भयो भन्न आउनुभयो ।’ प्रत्यारोपण गर्नुअघि स्वास्थ्य जाँच र विभिन्‍न परीक्षण गर्दा ‘सबै मिल्छ, प्रत्यारोपण सफल हुन्छ’ भनेर आश्वस्त बुद्धका परिवार यो सूचनाले आत्तिए । शल्यचिकित्सक भेटेर यसबारे बुझ्न खोजे । बिरामीलाई अस्पतालमै राखेर उनीहरु २० दिनदेखि यही प्रश्नको उत्तर पर्खिरहेका छन् । तर, शल्यक्रिया गर्नुअघि बिरामीका आफन्तलाई भेटेका डा. ज्ञवालीले त्यसपछि बिरामीपक्षसँग भेट्नै नचाहेको उनीहरूले बताए ।

‘मिर्गौला किन फेल भयो, अबको उपचार के हुन्छ भनेर सोध्नु थियो । हामीले धेरै पटक अस्पताल प्रशासनमा गएर अनुरोध गर्‍यौं, हारगहार पनि गर्‍यौं । तर, डाक्टरसँग भेट भएन,’ उनले भनिन्, ‘डाक्टरसाब बिदामा हुनुहुन्छ, कहिले आउनुहुन्छ थाहा छैन मात्रै भनेर फर्काए ।’

डा. ज्ञवालीले भने प्रत्यारोपणसम्बन्धी जटिलताका कारण मिर्गौला बचाउन नसकिएको बताए । ‘प्रत्यारोपण लगत्तै मिर्गौलामा रगत पास हुनुपर्छ र मिर्गौलाले युरिन बनाउन थाल्छ,’ उनले भने, ‘बुद्ध लामाको नयाँ मिर्गौलाले यस्तै काम गरिसकेको थियो । शल्यक्रिया सकिनै लाग्दा बिरामीको ब्लड प्रेसर स्वाट्टै घट्यो । औषधि दिएर उपचार पनि थाल्यौं । तर, रगत मिर्गौलाभित्रै जम्यो भोलिपल्ट शल्यक्रिया गरेर हेर्दा मिर्गौला काम नलाग्ने भइसकेको थियो ।’ बिग्रेको मिर्गौला शरीरभित्र राख्दा झनै जटिलता हुने भएकाले दोस्रो शल्यक्रिया गरेर मिर्गौला निकालिएको उनले बताए ।

बुद्ध लामाको उपचार प्रक्रियाबारे जानकार अस्पताल स्रोतका अनुसार उनको शल्यक्रिया सकेर केन्द्रबाट निस्किएका डा. ज्ञवाली १८ घण्टापछि मात्रै बिरामीको अवस्था बुझ्न अस्पताल फर्किएका थिए । प्रत्यारोपण गरिएको मिर्गौलाले १८ घण्टासम्म किन काम गरेन भनेर बीचमा नहेरिएको, बिरामीलाई वास्ता नगरिएको स्रोतको दाबी छ ।

‘बुद्ध लामाको अप्रेसन गर्दा उहाँलाई अर्को अस्पतालबाट फोन आइरहेको थियो । हतारमा अप्रेशन गरेर उहाँ अर्को अस्पतालमा जानुभयो,’ उनले भने, ‘प्रत्यारोपण गरेर नयाँ मिर्गौला राखेपछि बिरामीको पिसाब बन्नुपर्थ्यो । बिरामीको मिर्गौलाले यो प्रक्रिया थालेको पनि थियो । तर, पछि रोकियो, पिसाब भएन । उपचार प्रोटोकल अनुसार पिसाब नभएपछि तुरून्तै अर्को अप्रेशन गरेर हेर्नुपर्ने थियो यो प्रक्रिया नै ढिलो भएपछि मिर्गौला बचाउन सकिएन ।’

डा. ज्ञवालीका अनुसार लामाको शुक्रबार शल्यक्रिया गरिएको थियो । उनले ग्राण्डी अस्पतालमा काम गर्ने स्वीकार गर्दै भने, ‘हो, म अफ आवरमा ग्राण्डीमा पनि काम गर्छु । शनिबार बिदा थियो । तर, तारन्तार फोन आएका कारण बेलुका नै गएर हेरर शल्यक्रिया गरेको हुँ । प्रत्यारोपण गर्दा यस्तो जटिलता आउन सक्छ ।’

अस्पताल स्रोतका अनुसार पनि १८ घण्टापछि मात्रै आएर डा. ज्ञवालीले ‘ब्लड प्रेसर घटेकाले नयाँ किड्नीले काम गरेन’ भन्दै दोस्रो शल्यक्रिया गरी मिर्गौला निकालेका थिए । त्यो समयसम्ममा प्रत्यारोपित मिर्गौला काम नलाग्ने भैसकेको थियो ।१८ घण्टाको बीचमा शल्यक्रियामा संलग्न शल्यचिकित्सक टोलीले उपचार थालेको भए मिर्गौला बचाउन सकिने सम्भावना रहने ती स्रोतको दाबी छ । टोलीले डा. ज्ञवालीलाई पटकपटक फोन गरेर बिरामीको जटिलताबारे जानकारी गराउँदा पनि उनी समयमा नआएको स्रोतले दाबी गरेको छ ।

अस्पतालको निर्देशक समेत रहेका डा. ज्ञवाली धापासीपस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा यूरोलोजी विभागका पनि प्रमुख हुन् । स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालका प्रमुखलाई अन्य निजी अस्पतालमा चिकित्सकिय अभ्यास गर्न रोक लगाएको छ । ‘निजी अस्पतालको बिरामी हेर्न उहाँले सरकारी अस्पतालको बिरामीको उपचारमा लापरवाही गर्नुभयो,’ स्रोतले भने, ‘यस्तो अभ्यासले बुद्ध लामा जस्ता धेरै बिरामीमाथि अन्याय त हुन्छ नै, सरकारी सेवामा बिरामी विश्वास पनि घट्छ ।’

बुद्ध लामालाई मिर्गौला दान गर्नका लागि अब अन्य कोही आफन्त छैनन् । त्यसैले अब उनीसँग जीवनभर डायलसिस गरेर बस्नुको कुनै विकल्प छैन । पेशाले उनी ड्राइभर हुन् । सोही पेशा गरेर उनले परिवार चलाउँदै आएका थिए । दुई वर्षअघि दुवै मिर्गौला फेल भएपछि उनी थला परेका थिए ।

‘मेरो एउटै छोरा हो, काम गरेर खानुपर्छ भनेर मैले बुढेसकालमा आफ्नै मिर्गौला दिन खोजें तर, डाक्टरले लापरवाही गरिदिए,’ बुद्धका बुवा कृष्णबहादुर लामाले भने, ‘भएको जग्गाजमिन बेचेर उपचार गराएँ । अहिले यस्तो भयो । बुहारीले पनि छोडेर गइन्, साना बच्चाहरू छन्, हामीलाई अन्याय भयो ।’

प्रकाशित : माघ ११, २०७७ २०:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×